एक–अर्काका नजरमा विमल र एकनारायण

२०७५ माघ २६ शनिबार ०९:१३:०० | काठमाडाैं

लोकदोहोरी क्षेत्रमा एकनारायण भण्डारी चर्चित गीतकार एवं संगीतकार हुन् । उनले लगभग पाँच सयको हाराहारीमा लोकदोहोरी गीतको रचना तथा संगीत दिइसकेका छन् । त्यस्तै, विमलराज क्षेत्री चर्चित लोकदोहोरी गायक हुन् । ‘बल्लै भो भेट,’ ‘जापान टोकियो’लगायत चर्चित गीतहरू गाएका छन् । यी दुई सर्जक तथा गायकको १६ वर्षदेखि सहकार्य छ । यसबीचमा यी दुईले ‘सुपारी चाम्रो’जस्ता सर्वाधिक चर्चित गीत बजारमा ल्याएका छन् । भर्खरै मात्रै ‘बुट्टे रुमाल’ बोलको लोकदोहोरी बजारमा आएको छ, जुन युट्युबको ट्रेन्डिङमा परिरहेको छ ।  यी दुवै सर्जकले एक–अर्कालाई कसरी चिनेका छन् भनेर नयाँ पत्रिकाको ‘एकको नजरमा अर्को’ स्तम्भमा कुराकानी गरिएको छ । 

विमलको नजरमा एकनारायण

 एकनारायण भण्डारीलाई  चिन्नुभएको कति वर्ष भयो ? 
हाम्रो चिनजान भएको ०५९ बाट हो । भाइ बुद्धिसागरमार्फत हाम्रो परिचय भएको थियो । सर्जक, कलाकारका रूपमा नै हाम्रो चिनजान भयो । सहकार्य भएको चाहिँ ०६४ पछि मात्रै हो । ‘सुपारी चाम्रो’ गीतबाट हाम्रो सहकार्य सुरु भएको हो । त्यसयता अहिलेसम्म हाम्रो सहकार्य र सम्बन्ध थप बलियो हुँदै आएको छ । 

 उहाँलाई कस्तो व्यक्तिका रूपमा चिन्नुहुन्छ ?
साधारण व्यक्तिको हिसाबमा उहाँ खुला हृदयको मान्छे, मनमा कुनै पनि किसिमको छलकपट नभएको व्यक्ति हुनुहुन्छ भने सर्जकका रूपमा अद्भुत क्षमता भएको सर्जक हो । साहित्य, सिर्जनाको क्षेत्रमा अथाह ज्ञान भएको व्यक्ति हुनुहुन्छ । नेपाली लोकसंगीतलाई अन्तर्राष्ट्रिय बजारमा पु-याउने सोच र खुबी भएको व्यक्ति हो । 

 उहाँले लेखेका गीत गाउनुहुन्छ कि नयाँ लेख्न लगाएर गाउनुहुन्छ ?
सुरुमा उहाँले मलाई अवसर दिनुभएको हो । उहाँको शब्द÷संगीतमा ‘सुपारी चाम्रो’लगायतमा उहाँले मलाई माया गरेर गाउने अवसर दिनुभयो । पछिल्लो ‘बुट्टे रुमाल’ गीत चाहिँ मैले उहाँलाई मेरो कन्सेप्ट सुनाएर अनुरोध गरेर लेख्न लगाएको गीत हो । यही एउटाबाहेक सबै उहाँकै प्रोजेक्ट हुन् । 

गीतको मूल्य अथवा पारिश्रमिकका  विषयमा कत्तिको बार्गेनिङ हुन्छ ?
हुँदैन । हामीबीच सर्जक कलाकारको मात्रै नभएर दाजुभाइको सम्बन्ध छ । हामीबीच पैसाको भन्दा पनि भावनाको सम्बन्ध बलियो छ । त्यसैले हामीबीच दुवैलाई मर्का नपर्ने गरी लेनदेन हुन्छ । एकअर्कामा मन खिन्न बनाउने अथवा बार्गेनिङ गर्ने आवश्यकता पर्दैन । हाम्रो १६ वर्षको सम्बन्धमा अहिलेसम्म कुनै पनि विषयमा विवाद भएको याद छैन । त्यसैले हाम्रो सम्बन्धमा नराम्रो भन्ने नै केही छैन ।
 
 उहाँले लेखेका गीतमा के विशेषता पाउनुहुन्छ ?
लोकदोहोरी क्षेत्रमा क्षमतावान् व्यक्ति हुनुहुन्छ उहाँ । उहाँमा कलाकारको कलाकारिताअनुसार गीत लेख्न सक्ने क्षमता छ । अनुरोध गरिएजस्तै गीत तत्काल लेख्न सक्ने क्षमता उहाँमा छ । समुद्रको पिँधमा पुगेर मोती लिएर आउने क्षमता राख्नुहुन्छ यो क्षेत्रमा । 

 उहाँका कमजोर पक्ष पनि होलान् नि ?
मैले आजसम्म उहाँको कमजोर पक्ष भेटेको छैन । चिनजान भएको, सहकार्य भएको धेरै समय भयो । तर, उहाँमा मैले केही कमजोरी देखिनँ, भेटिनँ । स्पष्ट वक्ता हुनुहुन्छ । विशाल मन भएको व्यक्ति हुनुहुन्छ । उहाँजस्तो व्यक्ति एकदम कम भेटिन्छन्, सबै गुणले भरिएका । 

 उहाँको सिर्जनशीलतालाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 
उहाँ अग्रस्थानमै हुनुहुन्छ । उहाँका सिर्जना सबै एकसे एक छन् । मूल दुई प्रकारका हुन्छन् । एउटा बर्खामा फुट्ने र सुकेर जाने, अर्को निरन्तर सिञ्चित भइरहने । त्यसमध्ये उहाँ निरन्तर सिञ्चित हुनेमा पर्नुहुन्छ । मेरो हेराइ, बुझाइमा उहाँ एक नम्बरमा हुनुहुन्छ । 

एकनारायणको नजरमा विमल

 तपाईंहरूको चिनजान भएको कति भयो ? 
हाम्रो चिनजान भएको धेरै भयो । पुरानो सम्बन्ध हो हाम्रो । म स्याङ्जामा हुँदै उहाँका गीत सुन्थेँ, एकदम मन पथ्र्यो । काठमाडौं आएपछि उहाँसँग भेट भयो । बुद्धिसागर दाइमार्फत हाम्रो परिचय भएको हो । सहकार्यचाहिँ ‘सुपारी चाम्रो’ गीतबाट भएको हो । त्यसयता समय–समयमा सहकार्य हुँदै आएको छ ।

 विमलराज क्षेत्री कस्ता व्यक्ति हुन् ?
गायकका रूपमा एकदम साधना भएको व्यक्ति हुनुहुन्छ । लोकसंगीतमा एकदम फरक आवाज भएको र जस्तो गीत पनि सहज रूपमा गाउन सक्ने क्षमता भएको गायक हुनुहुन्छ । संगीत पढेको, गीत आफैँ लेख्नुहुन्छ, बाँसुरी, सहनाई, हार्मोनियमलगायत बाजा बजाउन सक्ने बहुप्रतिभाशाली व्यक्ति हुनुहुन्छ । साधारण व्यक्तिका रूपमा भने उहाँ आफ्नै सुरमा काम गरिरहने मिहिनेती, टिपिकल भाषाशैलीमा बोल्ने सरल व्यक्ति हुनुहुन्छ । 

 सहकार्य कसरी गर्नुहुन्छ ? 
उहाँ मभन्दा सिनियर हुनुहुन्छ । गाउँमा हुँदै उहाँको ‘बल्लै भो भेट’ गीत सुनेको हुँ । उहाँ चर्चित भइसकेपछि म यो क्षेत्रमा आएको थिएँ । म काठमाडौं आएपछि चिनजान भयो । एउटै क्षेत्रमा भएकाले उहाँसँग काम गर्ने चाहना थियो । ०६४ मा मात्रै सँगै काम गर्ने अवसर मिल्यो । मेरो शब्द÷संगीतमा उहाँले गीत गाउनुभयो । अर्थात्, मेरो लगानीमा । त्यसपछि हामीले गरेका सहकार्य मेरो लगानीमा काम भए । उहाँ गायकका रूपमा । पछिल्लो ‘बुट्टे रुमाल’ गीतचाहिँ उहाँको लगानीमा मैले लेखेको हुँ, पारिश्रमिक लिएरै । 

 गीत तथा पारिश्रमिकका  विषयमा कत्तिको बार्गेनिङ हुन्छ ?
अहिलेसम्म भएको छैन । अहिलेसम्म निरन्तर सहकार्य भइरहेको छ । पारिश्रमिक अथवा गीतको मूल्यमा बार्गेनिङ भएको छैन । उहाँले मैले गीत गाएबापत यत्ति चाहिन्छ भन्नुहुन्न । मैले पनि मेरो गीतको मूल्य यत्ति हो भनेको छैन । मैले उहाँलाई गीत गाउन लगाउँदा अन्यत्र उहाँले लिने पारिश्रमिक बुझेर दिन्छु । आर्थिक विषयमा म एकदम पारदर्शी छु । उहाँले पनि त्यही गर्नुभयो होला सायद । 

 उहाँको आवाजमा के विशेषता पाउनुहुन्छ ?
लोकदोहोरी क्षेत्रमा फरक आवाज भएको गायक हुनुहुन्छ । त्यो नै एउटा मुख्य विशेषता हो । त्यस्तै, उहाँ जस्तो गीत पनि गाउन सक्नुहुन्छ । हाई रेन्ज, लो रेन्ज सबैखाले गीत सहज रूपमा र संगीतकारले चाहेजस्तो मेलोडी दिन सक्ने सदाबहार गायक हो । कुनै पनि गीतको रेकर्डिङमा उहाँबाट यस्तो धुन निकाल्न सकिन्न कि भन्ने लागेको छैन । साधना गरिरहने युनिभर्सल गायक हुनुहुन्छ । 

 उहाँका कमजोर पक्ष छन् ?
छैन । उहाँ एकदम सहज एवं सरल व्यक्ति हुनुहुन्छ । मानवीय कमजोरी होलान् । त्यस्ता निजी कमजोरी चिन्न सक्ने गरी हरसमय सँगै पनि भइँदैन । आ–आफ्नै काममा व्यस्त भइन्छ । तर, यति लामो सहकार्यमा मलाई असर गर्ने खालको उहाँको कमजोरी भेटेको छैन । 

 उहाँको सिर्जनशीलताको  कसरी मूल्यांकन गर्नुहुन्छ ? 
मेरो मूल्यांकनमा उहाँ आजभन्दा केही वर्षअघिसम्म टप टेनभित्र हुनुहुन्थ्यो भन्ने लाग्छ । तर, यो ‘बुट्टे रुमाल’ आइसकेपछि अहिले उहाँ टप फाइभभित्र पर्नुहुन्छ भन्ने लाग्छ । किनभने, एउटै गीतले पनि निकै फरक पार्छ । त्यसमा पनि उहाँ ८–१० वर्षपछिको ‘कमब्याक’ हो । तर, एकदम राम्रो कमब्याक भएको छ । अहिलेको अवस्थामा उहाँ टप फाइभभित्र पर्नुहुन्छ, मेरो मूल्यांकनमा । 

 

 

 

 

प्रतिकृया दिनुहोस