मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ मङ्सिर २९ सोमबार १३:३१:००
Read Time : > 1 मिनेट
फिचर

चीनका पाइलट र एयर होस्टेसहरूले उडान अवधिभर डाइपर लगाउनुपर्ने

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर २९ सोमबार १३:३१:००

कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण एक वर्षयता उडान क्षेत्र निकै प्रभावित बनेको छ । यद्यपि, हवाई सेवा प्रदायक कम्पनीहरूले आफ्ना ग्राहकलाई भाइरस संक्रमणबाट जोगाउँदै सुरक्षित उडान गराउन प्रयास गरिरहेका छन् । 

यसै उद्देश्यका लागि वायुसेवा कम्पनीहरूले विभिन्न प्रकारका नियम ल्याएका छन् । त्यसमध्ये चीनको उड्डयन प्राधिकरणले आफूअन्तर्गतका एयरलाइन्स कम्पनीहरूका लागि जारी गरेको नियम केही फरक र अनौठो देखिएको छ । उसको नियममा पाइलटदेखि एयर होस्टेससम्मले उडान अवधिभर डाइपर लगाउनुपर्नेछ । यसबाट आफ्ना कर्मचारीले ट्वाइलेटको प्रयोग गर्न नपर्ने र त्यसबाट भाइरस संक्रमणको जोखिम पनि कम हुने जनाएको छ ।

चीनको नागरिक उड्यन प्रशासन (सिएएसी)ले जारी गरेको यो नियम आफूअन्तर्गतको सबै एयरलाइन्समा लागू हुने जनाइएको छ । सिएएसीले गत २५ नोभेम्बरमै यो नियम जारी गरेको हो ।

सिएएसीले आफ्ना कर्मचारी र सेवाग्राही सबैलाई भाइरस संक्रमणबाट सुरक्षित राख्ने उद्देश्यले यो निर्देशिका जारी गरेको हो । यसलाई सिएएसीले महामारी रोकथाम र नियन्त्रणका लागि जारी गरेको प्राविधिक निर्देशिका, छैटौँ संस्करण भनिएको छ ।

सिएएसीले उक्त निर्देशिकामा आफ्ना कर्मचारी र सेवाग्राही सबैले पालना गर्नुपर्ने नियम समावेश गरेको छ । निर्देशिकाको पिपिई शीर्षकअन्तर्गत भनिएको छ, ‘भाइरस संक्रमणको धेरै जोखिम रहेका देशहरूबाट भ्रमण गर्दा क्याबिन क्र्यु र सेवाग्राहीहरूले दुई तहको मेडिकल मास्क लगाउनुपर्नेछ । चस्मा, प्रयोग गरेपछि फाल्न मिल्ने टोपी, पन्जा, कपडा र जुत्ता छोप्ने कभर लगाउनुपर्नेछ ।’

त्यसको दोस्रो लाइनमा भनिएको छ, ‘क्याबिन क्र्यु सदस्यहरूले डाइपर प्रयोग गर्नुपर्नेछ, जसले गर्दा उनीहरूले ट्वाइलेट प्रयोग गर्नुपर्ने छैन र त्यसले संक्रमण सम्भावना घटाउनेछ ।’ यस्ता नियम र निर्देशिका अचम्मलाग्दा देखिए पनि हवाई यात्रा र त्यसमा प्रयोग हुने ट्वाइलेटबाट भाइरस संक्रमण फैलने जोखिम उच्च देखिएको छ ।

गत अगस्टमा इटालीबाट दक्षिण अफ्रिकाका लागि हवाई यात्रा गरेकी एकजना महिलामा एयरलाइन्सको ट्वाइलेटबाटै संक्रमण फैलिएको पाइएको थियो । ती महिलाले यात्रा अवधिभर ट्वाइलेटमा मात्रै मास्क नलगाएको र त्यहीँबाट संक्रमण फैलिएको जनाइएको थियो ।