Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुनीता खनाल
२०७५ माघ २६ शनिबार ०८:५३:००
Read Time : > 3 मिनेट
साहित्य

नेपाल भाषाकी सशक्त नारी हस्ताक्षर

Read Time : > 3 मिनेट
सुनीता खनाल
२०७५ माघ २६ शनिबार ०८:५३:००

नेपाल भाषाका कविहरूमा प्रतिसरा सायमीको नाम अग्रपंक्तिमा आउँछ । उनी नेपालीमा कविता लेख्दिनन्, तर नेपाल भाषाबाट नेपालीमा अनुवाद गर्छिन् । स्कुल जीवनबाट किनारा लाग्दासम्म उनमा कवितामोह कतै थिएन । जब उनी नेपाल भाषाका वरिष्ठ कवि पूर्ण वैद्यको सम्पर्कमा पुगिन्, उनलाई जसरी पनि कविता लेख्नुपर्ने बाध्यता आइप-यो । सानो बालकलाई जस्तो ललाइ–फकाइ लेख्न सिकाउँथे वैद्य सर । जसको प्रेरणाले कतिवेला बाध्यतालाई रहरमा परिवर्तन गरिन्, प्रतिसरालाई थाहै भएन । 

मातृभाषाबाहेक अरू भाषामा लेख्न खास सौख राख्दिनन् उनी । भन्छिन्, ‘नेपालीमा लेख्ने त थुप्रै छन्, तर सबैले मातृभाषा छाड्दै आए । त्यसैले म आफू बाँचेको भाषिक युगलाई बचाइराख्न चाहन्छु ।’ नयाँ पिँढीले आफ्नो मातृभाषा बोल्नसम्म नजान्ने यो समयमा उनको दृढताले ठूलो अर्थ राख्छ । आफ्ना सन्तानलाई मातृभाषा सिकाउनुपर्ने उनको तर्कले धेरैलाई सोच्न बाध्य बनाउँछ । आफ्नो भाषामा बिम्ब निर्माण गर्न कठिन छ, तर त्यही अप्ठ्यारोसँग खेल्न उनलाई बानी परिसक्यो । उनी अहिले आफैँले रोजेको बाटोबाट बाहिर निस्किनै चाहन्नन् । 

‘काकाभाइ मानन्धर’, त्यतिवेलाको भक्तपुरमा कहलिएका कलाकार र संगीतकार थिए । उनलाई नचिन्ने प्रायः कोही थिएनन् । नाटक निर्देशन गर्थे । नाच सिकाउँथे । तिनै काकाभाइका चार छोरीमध्येकी जेठी हुन्, प्रतिसरा । भक्तपुरको धनाढ्य परिवारमा जन्मिइन् उनी । घरमा छोरा र छोरीबीच भेदभाव हुँदैनथ्यो । त्यतिवेला सानैमा स्कुल पठाउने चलन थिएन । बाजेले घरमै पढ्न सिकाए । घरको अनौपचारिक सिकाइपछि उनी सीधै कक्षा पाँचमा भर्ना भइन्, शान्ति निकुञ्जमा । उनले त्यहाँ पाँच कक्षा मात्रै पढिन् । त्यसपछि उनको बसाइँ वसन्तपुर अर्थात् मामाघरतिर स-यो । यही कारण उनले स्कुल परिवर्तन गर्नुप-यो । ६ देखि ८ कक्षासम्म पद्म हाइस्कुल दरबार स्क्वायर पढिन् । त्यहीँबाट प्रवेशिका उत्तीर्ण गरिन् ।

कलेज यात्रा रत्नराज्यबाट सुरु गरिन् प्रतिसराले । नेपाली भाषामा उनको दखल थियो । सधैँ उच्च अंक प्राप्त गर्थिन् । पढाइकै दौरान उनको विवाहको कुरा चल्यो । नातेदार एक दिदीले प्रेमविवाह गरेपछि उनको परिवारले छोरी ‘बिग्रने’ ठानेको थियो । त्यसवेलासम्म उनी प्रेममा परेकी थिइनन् । वसन्तपुरका दीपक मानन्धरसँग उनको विवाह हुने भयो । मानन्धर छिन्नलताकी बहिनीका छोरा थिए । दीपक ताहाचल दरबारमा रेखदेखको काम गर्थे । पछि दरबारमार्गस्थित एयरफ्रान्समा जनरल सेल्स एजेन्टको काम गरे । 

आइए सकेपछि उनले नेपाल भाषा पढ्ने निश्चय गरेकी थिइन् । जुनवेला उनी नेपाल भाषामा व्याचलर गर्दै थिइन्, कलेजमा हाजिरिजवाफ प्रतियोगिता चल्थ्यो । यही कारणले पनि अझ धेरै पढ्नुपथ्र्यो । खुब पढिन् । ‘नेपाल भाषा असाध्यै समृद्ध रहेछ, आफ्नै भाषाप्रतिको अनभिज्ञतालाई लिएर मलाई त्यसवेला पछुतो लागेको थियो’, उनी भन्छिन् । आफ्नो मातृभाषा समृद्ध देखेपछि उनले बिएसम्मै नेपाल भाषा पढिन् । 

मास्टर्स पढ्न बाँकी नै थियो । एक छोरा र एक छोरीकी आमा बनिन् उनी । सन्तानको जिम्मेवारीसमेत थपियो । छोराछोरी हुर्काउने क्रममा करिब १४ वर्ष पढाइ छोड्नुप-यो उनले । जब छोरो आठ कक्षामा पुग्यो, छुटेको पढाइ पूरा गर्न मन लाग्यो उनलाई । पाटन क्याम्पसमा मास्टर्समा भर्ना भइन् । मास्टर्समा पनि उनले नेपाल भाषा छाडिनन् । ‘साथीहरू सबैले मैलेभन्दा धेरै पढेको देखेर मलाई आफ्नो जीवनमा केही न केही नपुगेझैँ भइरह्यो’, त्यसवेलाको सम्झना सुनाउँछिन् उनी । पढेरै छाड्ने दृढता मनमनै दोहो-याइन् । छोरो स्कुल पढाउँदै आफूले मास्टर्स सकिन् । ‘पढाइलाई उमेरले असर गर्छ’ भन्नेहरूका निम्ति उनको साहस आफैँमा गतिलो जवाफ हो । 

जागिरयात्राको सुरुमा उनले किन्डर गार्डेनमा बच्चाहरू पढाइन् । भिक्षुहरूले खोलेको स्कूल थियो त्यो । त्यसपछि उनले नेपाल एयरलायन्सतर्फ फड्को हानिन् । टिकेटिङको काम गर्दै उपनिर्देशकसम्म बन्न सफल भइन् । त्यहीँ साहित्यकार गीता केशरी निर्देशकसम्म भएकी थिइन् । ३७ वर्ष लामो जागिरयात्रामा कहिल्यै काममा अप्ठ्यारो नपरेको अनुभव छ प्रतिसराको । 

त्यतिवेला ‘हसना’ भन्ने साहित्यिक पत्रिका थियो, जुन साँखुबाट प्रकाशित हुन्थ्यो । त्यही पत्रिकामा ०३० सालमा एउटा कविता प्रकाशन भयो उनको । त्यसपछि नै औपचारिक रूपमा उनी साहित्यमा आइपुगिन् । ‘जि छकू नालिस भोँ’ (म एउटा फिरादपत्र), ‘तिकी नँगु मि’ (तप्किएका आगोका थोपाहरू), ‘रँग दुने प्रतिसरा’ (रंगभित्र प्रतिसरा), ‘प्रेसर कुकरया चिल्लाय्’ (प्रेसरकुकरको चित्कार) गरी नेपाल भाषामा चार कविता प्रकाशित छन् उनका । बगर फाउन्डेसनका नकुल सिलवालले नेपालीमा पनि पढ्न पाउनुप-यो भनेर अनुरोध गरेपछि उनी, मञ्जुल, पूर्ण वैद्यहरू मिलेर कविता अनुवाद गरे । त्यसपछि ‘पाइलाहरूमै सडक’ भनेर नेपाली भाषामा कवितासंग्रह निकालिन् 

गीत लेख्नु उनको अर्को खुबी हो । नेपाल भाषाका चर्चित गीतहरू उनैका छन् । निशा देसार, जुजुकाजी रञ्जितलगायतले उनका गीतमा स्वर दिएका छन् । यात्राका दौरान बिम्ब खोज्छिन् उनी । लेखनका निम्ति उनले रात रोजेकी छिन् । सबै सुतिसकेपछि उनको लेखन सुरु हुन्छ । पतिलाई साहित्यमा रुचि छैन । तर, उनको रुचिमा अवरोध पनि गर्दैनन् । 
उनका बाबु खुब पिउँथे । कलाकारितामा लागेका, संगत त्यस्तै हुन्थ्यो । ०५३ मा बिते । प्रतिसरा आफ्ना बाबुलाई विश्वविद्यालय मान्थिन् । बुबाको सम्झनामा ‘लुमन्ती’ नामक संस्मरण निकालिन् । बुबा बितेकोे दश वर्षपछि आमा पनि बितिन् । उमेर नपुगी बुबाआमा गुमाउनुपर्दाको गहिरो पीडाबोध छ उनलाई । 

यतिवेला उनी आफ्ना गद्यलेखको संग्रह निकाल्ने तयारीमा छन् । त्यसमा उनको कलेजकी मिल्ने साथी चिनिमाया तुलाधरको कथा हुनेछ । ती साथीले आफ्नो जीवनको अन्तिम समयमा आँखा दान गरेकी थिइन् । तुलाधरको असामयिक निधनमा टुटेकी प्रतिसराले उनैको सम्झनामा कृति निकाल्ने सोचिन् र लेखिन् । गद्य कृति नेपाल भाषामै लेखिएको हुनेछ । ‘लिफ’ अर्थात् ‘फर्केर हेर्दा’ नाम राखिएको उक्त कृति प्रेसमा गइसकेको छ । 

उनलाई पिएचडी पढ्न खुब मन थियो । सबै समय जागिर, परिवार, सन्तान र लेखाइले लियो । पिएचडी गर्न नसकेकोमा मनमा खिन्नता छ । सीतापाइलास्थित आफ्नै घरमा छोरा–बुहारी, नाति–नातिनी र श्रीमान्सँग रिटायर्ड जीवन बिताइरहेकी प्रतिसरा जीवनको ६३औँ यात्रामा हिँडिरहेकी छिन् ।उनले महेन्द्र विद्या भूषण, राष्ट्रिय प्रतिभा पुरस्कार, दीपा जनमत पुरस्कार, नेपाल प्रज्ञा मातृभाषा पुरस्कार, विश्व नारी नेपाली साहित्य पदक, गोपालप्रसाद रिमाल सम्मान, नवनारी सम्मानलगायत थुप्रै पुरस्कार पाइसकेकी छिन् । सम्मान र पुरस्कारले आफ्नो लेखनमा हौसला मिलेको बताउँछिन् उनी ।