मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मनोज खतिवडा
२०७५ माघ २६ शनिबार ०८:३४:००
Read Time : > 5 मिनेट
साहित्य

विकलको बहुमुखी परिचय दिने संग्रहालय

Read Time : > 5 मिनेट
मनोज खतिवडा
२०७५ माघ २६ शनिबार ०८:३४:००

उनले ठूलो रहरले घर बनाएका थिए । परालको छानो फेरेर ढलान गरिएको, अग्राखका बलिया काठ हालिएको तीनतले सानदार घर । ०३५ सालको काठमाडौं आरुबारीमा दुनियाँका लागि यो रमिता थियो । आफ्नै पसिनाको जगमा उभिएको त्यही घरमा साहित्यकार रमेश विकलले अढाई दशकभन्दा लामो समय बिताए । मृत्युपूर्व दुई वर्षअघिका केही दिन भने उनको अनुहारमा छटपटी देखिन्थ्यो । विकलको त्यो छटपटी उनका छोरा विजय चालिसे अझै सम्झिन्छन् । ‘त्यसवेला बुबाले आफ्ना पुस्तकबाट आएको रोयल्टीले छात्रवृत्ति स्थापना गर्ने र सामाजिक सेवाका लागि प्रतिष्ठान खोल्ने सोच बनाउनुभएको रहेछ’, उनी भन्छन् । 

केही समयको छलफलपछि विकलले आफ्नो ऊर्जाशील समय बिताएको घरसमेत प्रतिष्ठानलाई दिने इच्छा गरे । परिवारले सहमति जनायो । पाँचा आना जग्गामा बनेको घर उनले प्रतिष्ठानको नाममा नामसारी गरिदिए । दान गरिसकेपछि त्यही घरमा बस्नु हुँदैन भनेर विकल घर छाडेर कान्छा छोरासँग बस्न थाले । विकलको मृत्युपछि त्यही घरलाई रमेश विकल साहित्य प्रतिष्ठानले ‘रमेश विकल स्मृति संग्रहालय’का रूपमा विकास ग-यो । 

१३ पुस्तादेखि चालिसेहरूको एउटा हाँगो काठमाडौंस्थित आरुबारीमा बस्दै आएको छ । विकल त्यहीँ जन्मिए, हुर्किए र साहित्य साधनामा लागे । विकल हुर्किंदा परालको छानो भएको एकपाखे घर थियो । ०१८ सालमा मदन पुरस्कारकै इतिहासमा पहिलोपटक कथालाई पुरस्कृत गरियो, पुरस्कार प्राप्त गर्ने कथा विकलको ‘नयाँ सडकको गीतु थियो । ।पुरस्कारमा पाएको चार हजार रुपैयाँले परालेघरको छानो फेरियो । टायलको छानो हालिएको घरले ०३५ सालसम्म धान्यो । ०३५ सालमा उनले काँचो इँटा र अग्राखको काठ हालेर नयाँ घर बनाए । दुईतले ढलान घर ०७२ सालसम्म जीर्ण भइसकेको थियो । उनका सन्तानले जीर्णोद्धारको कोसिस नगरेका होइनन् । तर, विकलका सन्तानको प्रयास विफल भयो । विकलको लामो सिर्जनात्मक जीवनको साक्षी बसेको घर ०७२ सालको भूकम्पले ढालिदियो । नेपाली साहित्यको एउटा इतिहास धुलोसरि भयो । 

विकलको इतिहासलाई ज्युँदो राख्न उनका छोरा विजय चालिसेसहितको सक्रियतामा खोलिएको ‘रमेश विकल साहित्य प्रतिष्ठान’ले नयाँ घर निर्माणमा अगुवाइ ग-यो । विकल जीवित छँदै प्रतिष्ठान खोलिएको थियो । उनले पाँच आना जग्गामा बनेको आफू जन्मिएको घर र आफ्ना साहित्यिक कृतिको रोयल्टी प्रतिष्ठानलाई दिने इच्छापत्र लेखेका थिए । ०७३ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सांसदद्वय अम्बिका बस्नेत र रामेश्वर फुँयाल तथा प्रतिष्ठानले संयुक्त रूपमा ९० लाख जुटाए । त्यही रकमले नयाँ घर बन्यो । 

नयाँ घर बनिसकेपछि पनि रमेश विकलको नाममा राज्यका विभिन्न निकायको सहयोग कायमै रह्यो । बाहिरी रङरोगनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुनः ३० लाख रुपैयाँ सहयोग ग-यो । त्यसले आन्तरिक सजावट र पुस्तकालयको काम सम्पन्न भयो । गोकर्णेश्वर नगरपालिकाले दिएको ५ लाख ५२ हजार र प्रतिष्ठानको ८३ हजार रुपैयाँमा कम्पाउन्ड वालमा ग्रिल लगाउने, प्लास्टर र पानीट्यांकी निर्माणको काम गरिएको विकलका छोरा विजय चालिसेले जानकारी दिए । 

संग्रहालयमा खुल्छन् विकलका नयाँ परिचय
रमेश विकल आख्यानकारका रूपमा ख्यातिप्राप्त छन् । तर, संग्रहालयको रिसेप्सनबाटै उनका अरू परिचय खुल्न थाल्छन् । विकल कुशल चित्रकार पनि थिए । संग्रहालयका आठवटै कोठामा उनले जीवनका विभिन्न कालखण्डमा कोरेका ५५ वटा चित्र सजाइएको छ । उनका बाँकी चित्र पनि रहेको छोरा विजय चालिसे बताउँछन् । 

परिवारका सदस्य, प्रकृति र आफूले संगत गरेका व्यक्तिलाई विकलले चित्रमा उतारेका छन् । घाँटीमा रुद्राक्षको माला लगाएर रामनामी ओढेका आफ्ना हजुरबुबाको चित्र बनाएका छन् । उनका बुबा, हजुरबुबा र श्रीमतीका एकभन्दा बढी चित्र संग्रहालयमा देखिन्छन् । विकलले बनाएको उनकी श्रीमतीको चित्र हेर्दा अनुहारमा उमेरका भिन्न–भिन्न कालखण्ड देखिन्छ ।

हामीलाई विकलका एकपछि अर्को चित्र चिनाइरहेका विजय चालिसे एउटा चित्रमा केहीबेर रोकिन्छन् । ‘यो अविरल बग्दछ इन्द्रावतीको पात्र शोभिते हो’, उनी भन्छन् । विकल समाजबाट टिपेका आफ्ना आख्यानका पात्रलाई समेत चित्रमा उतार्थे । ‘उहाँका आख्यानका धेरै पात्र चित्रमा छन्, कुन पात्र कुन आख्यानको सबै त म भन्न सक्दिनँ, तर उहाँ आफूले निर्माण गरेका पात्रलाई चित्रमा उतार्नुहुन्थ्यो’, चालिसे भन्छन् । 

विकलको प्रकृति मोह पनि चित्रमा देखिन्छ । उनले जंगलका एकान्त बाटा, खोला र चौताराका चित्र बनाएका छन् । सांस्कृतिक परिधानमा सजिएका महिलाका चित्र पनि संग्रहालयमा प्रशस्तै छन् । विख्यात वैज्ञानिक अल्वर्ट आइन्स्टाइन, पूर्वअमेरिकी राष्ट्रपति अब्राहम लिंकनलाई समेत उनले चित्रमा उतारेका छन् । चाबेलमा माटाका भाँडा बेच्ने पसलेसँग विकलको दोस्ती थियो । एउटा चित्र विकलले तिनै पसलेको बनाएका छन् । साहित्य सिर्जनाका क्रममा लेखकले सामना गरिरहने दिक्दारी र सकसको समयमा विकलले चित्र कोर्ने गरेको चालिसे बताउँछन् । ०७० फागुनमा विकल साहित्य प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले विकलका चित्रलाई ‘हिँडन ट्यालेन्ट’ नाम दिएर सात दिनसम्म ललितकलामा प्रदर्शन गरेका थिए । 

पुस्तकालय र प्रशासनिक प्रयोजनका लागि प्रयोग हुने कोठालाई छाड्ने हो भने भवनको दोस्रो तलाका दुईवटा कोठालाई खास संग्रहालय भन्न सकिन्छ । तिनै दुई कोठामा विकलको नितान्त व्यक्तिगत जीवनका अज्ञात पाटा खुल्छन् ।  दुई वर्षको उमेरमै आमाको देहान्त भए पनि सम्भ्रान्त परिवारमा जन्मिएका विकल हजुरआमाको लाडप्यारमा हुर्किएका थिए ।

तैपनि उनको जीवनलाई प्रिय आफन्तसँगको लगातार वियोग र जीवनका अप्रिय घटनाले नराम्ररी प्रभावित गरेको थियो । कलिलैमा मातृ वियोगको सामना गरेका उनले पाँच वर्षको उमेरमा हजुरआमालाई समेत गुमाउनुप-यो । उनी २० वर्ष पुग्दासम्म हजुरबुबा र जेठी आमालाई गुमाइसकेका थिए भने बुबाको सरकारी जागिर खोसिएको थियो । केही वर्षमै उनका बुबाको समेत मृत्यु भएको थियो । सिलसिलेबार रूपमा सहनुपरेको यिनै कष्ठले उनको बालमनोविज्ञानलाई विक्षिप्त बनायो । त्यही सन्तापमा उनले आफूलाई व्यथित महसुस गरेर नामपछाडि ‘विकल’ लेख्न थाले । 

००६ सालमा शारदा पत्रिकामा ‘गरिब’ शीर्षकको कथा छापिएपछि उनको साहित्यिक जीवन सुरु भएको थियो । श्यामप्रसादजस्ता स्रष्टाको संगतले उनी प्रगतिशील साहित्यतर्फ ढल्किएका थिए । प्रगतिशीलता, यथार्थवाद र मनोवैज्ञानिक प्रवृत्तिको त्रिवेणीमा भेटिन्छन् विकलका साहित्यिक रचना । ०११ सालमा उनले कम्युनिस्ट पार्टीको सदस्यतासमेत लिएका थिए । कम्युनिस्ट पार्टीको सदस्य लिएको समय वरपर विकल विद्रोही युवकका रूपमा गाउँटोलमा परिचित थिए । सामाजिक आन्दोलनमा सहभागी हुने र समाजले तल्लो भनेको जातसँगको हिमचिमले उनको कट्टर हिन्दू परिवारसँग मतभेद बढेको थियो । ०११ सालमा कम्युनिस्ट पार्टीले आयोजना गरेको जुलुसमा सहभागी हुँदा पक्राउ परेका उनले छोटो समय नख्खुमा जेलजीवनसमेत बिताएका थिए । 

व्यक्तिगत जीवनमा उनका धेरै सौख थिए । चित्रकारितामा जस्तै संगीतमा उनको विशेष मोह थियो । घरमा बुबा हार्मोनियम र तबला बजाउँथे । विकल रातिसम्म बाँसुरी बजाउँदै घर फर्किने उनका छोरा चालिसे सम्झिन्छन् । ‘बुबाको घरमा बोलाउने नाम रामबाबु थियो । राति अबेर बाँसुरीको स्वर सुनेपछि रामबाबु आयो भनेर गाउँलेले थाहा पाउँथे रे, बूढापाका रामबाबुले गज्जब बाँसुरी बजाउँथे भनेर पछिसम्म चर्चा गर्थेे’, उनी सम्झन्छन् । 

विकलका प्रिय बाजाचाहिँ बाँसुरी र भ्वायलिन थिए । उनले बजाउने सितारबाहेक बाँसुरी, भ्वायलिन, हार्मोनियम र तबला संग्रहालयमा सुरक्षित छन् ।  विसं १९९७ सालमा विवाह हुँदा विकलको उमेर जम्माजम्मी १२ वर्ष थियो । विवाहमा उनकी श्रीमतीले शृंगारका सामान हालेर ल्याएको सानो ट्यांका संग्रहालयमा अझै सुरक्षित छ । उनले प्रयोग गरेका सुटकेश, ब्रिफकेस पनि संग्रहालयमा सजिएका छन् । 

चित्र बनाउन उनले प्रयोग गरेको क्यानभास, रङले लत्पतिएर पनि सुकिसकेका ब्रस जतनले राखिएको छ । ०१८ सालमा मदन पुरस्कार पाउँदा प्राप्त गरेको चाँदीको प्रमाणपत्र, सिर्जना आर्ट ग्यालरीका प्रकाश श्रेष्ठले बनाएको विकलको डमी, महेन्द्र–प्रज्ञा पुरस्कारको प्रमाणपत्रले संग्रहालयलाई जीवन्त राखेका छन् । त्यही तलाको अर्को कोठाले विकलको याद ताजा बनाउँछ, जहाँ विकलले सुत्ने गरेको खाट र प्रयोग गरेको तन्ना मात्रै छैनन्, जीवनका आखिरी दिनमा उनले प्रयोग गरेका औषधिसमेत सुरक्षित राखिएको छ ।

विकलका निजी प्रयोगका सामानलाई सम्भव भएसम्म जोगाएर राखेको छोरा चालिसे बताउँछन् । उनले टेक्ने लट्ठी, दाह्री काट्ने मेसिन र पावरदार चस्मा विकलको याद बोकेर संग्रहालयमा सुरक्षित रहेका छन् । विकल ‘चेन स्मोकर’ थिए । विजय बुबालाई चिलिम भर्दाभर्दै आफूले समेत तान्न सिकेका सम्झना सुनाउँछन् । संग्रहालयमा धूम्रपान गर्ने विकलको आदतलाई सम्झाउन तमाखु, चिलिम र नली राखिएको छ । उनले प्रयोग गरेका क्यामरा, घडी, चरेशको थाल र तामाको अम्खोरा पनि संग्रहालयमा भएका छन् । 

पुस्तकालय कक्षमा विकलका सिर्जना र पुराना साहित्यिक पत्रिका राखिएको छ । पुस्तकालयलाई अझै व्यवस्थित गरेर हराइसकेका उनका पुस्तक उपलब्ध गराउने योजना रहेको विजय चालिसे बताउँछन् । विभिन्न अध्येताबाट केही पुस्तक खोजी गरेर उनले फोटोकपी गरेका छन् । चाँडै नै उपलब्ध भएसम्म विकलका सम्पूर्ण पुस्तकलाई पुस्तकालयमा राख्ने उनले बताए । ‘धेरै शोधार्थीहरू विकलका पुराना पुस्तक खोज्दै आउनुहुन्छ । केही पुराना पुस्तक त बजारमा कहीँ पाइँदैनन्, मैले हराइसकेका पुस्तक जुटाउने प्रयास गरिरहेको छु ।

विकलको प्रकृति मोह पनि चित्रमा देखिन्छ । उनले जंगलका एकान्त बाटा, खोला र चौताराका चित्र बनाएका छन् । सांस्कृतिक परिधानमा सजिएका महिलाका चित्र पनि संग्रहालयमा प्रशस्तै छन् । विख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइन, पूर्वअमेरिकी राष्ट्रपति अब्राहम लिंकनलाई समेत उनले चित्रमा उतारेका छन् ।

केही समयमै पुस्तकालयमा विकलका दुर्लभ रचना उपलब्ध हुनेछन्’, उनी भन्छन् । चाँडै नै उनका पुराना रचना प्रिन्ट गरेर बजार लैजाने व्यवस्था गर्ने प्रतिष्ठानको योजना छ । 
विकलका १० कथासंग्रह, पाँचवटा उपन्यास, चारवटा नाटक तथा एकांकीसंग्रह, सातवटा निबन्धसंग्रह, दुई बाल÷किशोर उपन्यास, तीनवटा बाल नाटक तथा एकांकीसंग्रह प्रकाशित छन् भने केही संग्रह प्रकाशनको तयारीमा छन् । 

अढाईतले संग्रहालयको माथिल्लो तलामा विकलले टेलिभिजन र अन्य कार्यक्रममा दिएका भिडियो अन्तर्वार्ता प्रोजेक्टरमार्फत देखाउने व्यवस्था गर्ने गरेको चालिसे बताउँछन् । 
विकलको ११औँ स्मृति दिवसका अवसरमा गत पुसमा संग्रहालय उद्घाटन भएको थियो । संग्रहालय उद्घाटन भर्खरै भएकाले पनि होला, हामी पुग्दा सुनसान थियो संग्रहालय । चालिसे केही हुल विद्यालयका विद्यार्थीबाहेक अहिले त्यति धेरै दर्शक नआएको बताउँछन् । विकलका कथा विद्यालय र कलेजमा पढ्नुपर्छ । ‘संग्रहालय भर्खरै खुलेको हो, अहिले केही विद्यालयले विद्यार्थी लिएर आएका छन् । दर्शकको संख्यामा वृद्धि हुँदै गएको छ’, उनी भन्छन् । 

तस्बिर : अमुल थापा / नयाँ पत्रिका