Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर २८ आइतबार १४:२२:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

मेयर शाक्यको सञ्चारमाध्यमप्रति दुःखेसो : नकारात्मक हेडलाइनका कारण धेरै गाली खानुपऱ्याे

Read Time : > 2 मिनेट
२०७७ मङ्सिर २८ आइतबार १४:२२:००

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मिडियामा आउने नकारात्मक सन्देश दिने किसिमका हेडलाइनका कारण धेरै गाली खानुपरेको गुनासो गरेका छन् । 

‘मिडिया धेरै हुनु त राम्रो कुरा हो, महानगरबारे समाचार आइरहनु पनि ठीकै हो, तर पाठकले हेडलाइन मात्रै पढ्ने र प्रतिक्रिया जनाउने गर्दा समस्या हुँदो रहेछ,’ उनले भने । 

महानगरको २६औँ स्थापना दिवसको सम्मुखमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग दुःखेसो गर्दै मेयर शाक्यले भने, ‘कतिपय राम्रा समाचारका नकारात्मक सन्देश दिने हेडलाइनका कारण कमेन्टमा धेरै खाली खाइरहेका छौँ ।’ 

उनले सकारात्मक समाचारमा समेत पाठकको ध्यान तान्न मिडियाले राख्ने हेडलाइनका कारण समस्या हुने गरेको भन्दै सकारात्मक हेडलाइन राख्न सञ्चारकर्मीलाई सुझाए । 

मेयर शाक्यले काठमाडौं महानगर देशकै राजधानी सहर भएको र धेरै काम संघीय सरकारका मन्त्रालयसँग जोडिने भएकाले योजना बनाए पनि समयमा सञ्चालन गर्न मुस्किल परिरहेको बताए । 

‘महानगरभित्र सडक नबन्दा जनताले हामीलाई गाली गर्छन्, तर सडक बनाउने निकाय सडक विभाग छ, मन्त्रालय छ,’ उनले भने, ‘विद्युत्, खानेपानी, ढल, सम्पदा पुनर्निर्माण र अन्य काममा पनि उस्तै अवस्था छ ।’ 

उनले विकसित देशहरूमा महानगरअन्तर्गत नै सबै निकाय हुने र एकीकृत विकासका लागि सहज हुने गरेको देखेको सुनाए । 

मेयर शाक्यले काठमाडौंलाई रातमा पनि उज्यालो बनाउन सबै सडकमा हाइमास बत्ती जडान गर्ने कार्यक्रम ल्याएको जानकारी दिए । 

‘थुप्रै चुनौतीका बाबजुद संघ र प्रदेश सरकारसँग समन्वय गरेर काठमाडाैंलाई ‘सुन्दर र आधुनिक सांस्कृतिक सहर’ बनाउन लागेका छौँ,’ उनले भने । 

०५२ मंसिर २९ गते गठन भएको काठमाडौं महानगरपालिकाले सोमबार २६औँ स्थापना दिवस मनाउँदै छ । 
दिवसको सन्दर्भमा पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले महानगरले ‘मिर्गौला बचाऊ अभियान’ सञ्चालन गर्न लागेको जानकारी दिए । 

‘महानगरले सामुदायिक र सरकारी अस्पतालसँगको सहकार्यमा मिर्गौलामा समस्या भएकाहरूका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने, अक्सिजन प्लान्ट राख्ने, कोभिड–१९ को महामारीका वेला स्वास्थ्य सामग्रीसँगै पिसिआर मेसिन हस्तान्तरण गर्नेलगायतका काम गर्दै आएको छ,’ उनले भने, ‘समयमै सावधानी अपनाउन सके लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने र लामो समयसम्म पीडा खप्न बाध्य मिर्गाैलाको सम्भावित जोखिम र रोगबाट बच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न ‘मिर्गाैला बचाऊ अभियान’ सञ्चालन गर्दै छौँ ।’ 

मेयर शाक्यले दक्ष चिकित्सकको टोलीसहित ३२ वटै वडामा पुगी उक्त अभियान सञ्चालन गर्ने पनि बताए । 

महानगर दिवसकै अवसर पारेर महानगरवासीको अभिमत लिन ‘अभिमत संकलन बुथ’ सञ्चालन गरेको र महानगरको कामप्रति जनताको अभिमतका आधारमा थप योजना निर्माण गर्नसमेत सहज हुने बताए । 

‘पूर्वाधार विकास, हरियाली प्रवर्द्धन, सम्पदा निर्माण–पुनर्निर्माण, सेवा प्रवाहलगायतमा महानगरपालिकाले गरिरहेका विविध कार्यक्रम र आगामी दिनमा चाल्नुपर्ने सकारात्मक कदमका लागि महानगरवासीको अभिमत लिन ‘अभिमत संकलन बुथ’ राखेका छौँ,’ उनले भने,  ‘तीन दिनसम्म सञ्चालन हुने ती बुथबाट करिब ४० हजारको अभिमत संकलन हुने अपेक्षा छ, सबैलाई सिर्जनात्मक सल्लाह सुझाबका लागि आग्रह गर्दछु ।’ 

महानगरले सहरका तीस स्थानमा बुथ राखेर महानगरवासीहरूको सुझाब लिइरहेको छ । ‘अहिले विश्व नै कोरोनाको कहरमा छ । नेपाल र त्यसमा पनि संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिका पनि कोरोना कहरका कारण आक्रान्त छ । कोरोना रोकथाम र नियन्त्रणका विभिन्न प्रयास भइरहेको अवस्थामा विगतका वर्षहरूमा जसरी यसपटक महानगर दिवस धुमधामका साथ बनाउने अवस्था रहेन,’ उनले भने, ‘सकेसम्म स्वस्थ्य मापदण्डको पालना गर्दै र सीमित कार्यक्रमका साथ यसपटक महानगर दिवस मनाउने तयारी भएको जानकारी गराउन चाहन्छु ।’

महानगरले स्थापना दिवसका सन्दर्भमा ज्यापू समुदायका परम्परागत ६३ गुठी, खड्गी समुदायका ६० गुठी, गुँला बाजाका २३ वटा समूहका बाजा गुरु, इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे प्याखं, हल्चोक आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः परम्परागत बाजाका गुरुहरूलाई गरिने सम्मानलाई निरन्तरता दिने भएको छ । 

सम्मानित हुने सबैलाई जनही ३० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्ने मेयर शाक्यले जानकारी दिए । 

यस्तै, काठमाडौंका पहिलो जननिर्वाचित सभापति स्व. जनकमान श्रेष्ठका नाममा यो वर्ष दुईजना जनप्रतिनिधि र दुईजना कर्मचारीलाई ‘जनकमान श्रेष्ठ सुशासन पुरस्कार, पाँचजना प्रतिनिधि र पाँच कर्मचारीलाई स्थानीय सेवा गौरव पदक र दशजना सञ्चारकर्मीलाई ‘सुशासन पत्रकारिता पुरस्कार’ प्रदान गर्ने महानगरले जनाएको छ ।