मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
माधव घिमिरे ‘अटल’
२०७५ माघ २६ शनिबार ०८:१२:००
Read Time : < 1 मिनेट
साहित्य

पृथक परिदृश्य

कविता

Read Time : < 1 मिनेट
माधव घिमिरे ‘अटल’
२०७५ माघ २६ शनिबार ०८:१२:००

कदाचित् ठडियो भने भीमसेन धरहरा
छर्लंग देखिनेछन् विद्रुप तमासा स्मार्ट महानगरका 
र, शासकीय छलछामका घिनलाग्दा दृश्यहरू ।

घाम डुब्ने दिशातिर देखिनेछ–
चन्द्रागिरिको अग्लो चुली
जसलाई हरदम नियाल्ने गर्थे 
कारागारका चिसा छिँडीबाट 
जनताका राता कवि कृष्ण सेन इच्छुक ।

टलक्क टल्केको देखिनेछ–
शासकले कोरेका काव्यिक हरफका शिलालेख
र, विद्युतीय घिर्लिङको छायामुनि देखिनेछ
भालेश्वर महादेवले कहिल्यै मुक्ति दिन नसकेका
दीनहीन जनजातिका मसिना बुकुरा ।

क्षितिज उधिनेर घाम जन्मिने दिशातिर 
नजर डुलाउँदा देखिनेछ–
उतिवेलै लेनिन र माक्र्स बाजेका तस्बिर गायब
कम्युनिस्ट पार्टीको मुख्यालय,
शिवपुरी डाँडाको गजघट्टे टाकुरो 
र, त्यसको सियाँलमा देखिनेछ–
दरबारले रैती बनाएका मासिन्याहरूको बबुरो बस्ती ।

उत्तरतिर जब दौडाइनेछ दृष्टि 
तब देखिनेछ–
विद्रोहको तातो रापले सेकेर नागार्जुन मिल्किएका
र, गुमेको राजकाजमा -याल काढ्दै गरेका 
पूर्वराजनको भद्दा चमकदमक ।

दक्षिणतिर घुर्मैलो क्षितिजमुनि देखिनेछ–
बालकोटको डाँडामा अवस्थित 
तुक्का र किस्साले पोतिएको 
छोटे राजनको ढोंगी महल ।

किन्तु,
टड्कारो देखिनेछैन कुनै कोणबाट–
गोरेले सिमाना कटाउन बिर्सेका 
पहेँलो धातुका अजंगका लाप्सा
सिन्डिकेट सुचारु गरेकोमा 
तालुकदार मन्त्रीलाई प्राप्त गुप्त नजराना 
सदरमा सञ्चालित नग्न व्यभिचारका पाशविक दृश्यहरू
र, काया बेच्न विवश नगरवधूका घायल तनहरू ।

बिलकुल देखिनेछैन, शासकीय लेन्सबाट
भग्न सभ्यताको वीभत्स तस्बिर
खेलमैदान बनेको शुष्क रानीपोखरी
र, गौचरनको भुइँ नछुँदै भुँडीतिर छिरेका 
विशालतम् विमानका फाटेका हर ।
 
देखिनेछैन धरहराबाट–
तुन्न छुटेका असत्य दिलदार मनहरू
निराश बनी लर्खराएको भावी भोटब्यांक 
र, सिंहदरबार पु‍-याउने अविचल सोपान ।