Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर २८ आइतबार ०९:२४:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सिमकोट–हिल्सा सडकखण्ड साढे ६ वर्षदेखि डेढ किलोमिटर चट्टानमै अल्झियो

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर २८ आइतबार ०९:२४:००

कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडकखण्ड साढे ६ वर्षदेखि डेढ किलोमिटर चट्टानमा अल्झिएको छ । निर्माण कम्पनीले समयमै काम पूरा नगर्दा हुम्लालाई उत्तरी नाका चीनसँग जोड्ने योजना अधुरै रहेको छ । 

सिमकोट–हिल्सा सडकखण्डअन्तर्गत नाम्खा गाउँपालिका–२ मा पर्ने च्याछरा भिरको कडा चट्टानमा ट्र्याक खोल्ने काम साढे ६ वर्षसम्म पनि पूरा हुन सकेको छैन । निर्माण कम्पनीको लापरबाहीले काम पूरा हुन नसकेको सडक भिडिजन कार्यालयले जनाएको छ । 

च्याछरा सडकखण्ड निर्माणका लागि ०७२ मा जयन्ती एडी जेभीसँग ठेक्का सम्झौता भएको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तीन करोड ६४ लाख ९५ हजार तीन सय ५६ रुपैयाँ ५९ पैसामा ठेक्का भएको हिल्सा–सिमकोट सडक आयोजना कार्यालयले जनाएको छ । लागत अनुमानभन्दा झन्डै एक करोड कममा ठेक्का लिएको निर्माण कम्पनीले साढे ६ वर्षसम्म पनि काम पूरा गर्न सकेको छैन । 

बरु निर्माण कम्पनीले पटक–पटक म्याद थप्दै आएको छ । कम्पनीले म्याद थप्दै भुक्तानी लिँदै आएको छ । अहिलेसम्म दुई करोड २१ लाख १६ हजार चार सय ८२ रुपैयाँ भुक्तानी भइसकेको आयोजनाले जनाएको छ ।

निर्माणमा ढिलाइले स्थानीय बासिन्दाले भने सास्ती खेप्नुपरिरहेको छ । हिँडेर आवातजावत गर्न पनि समस्या भएको नाम्खा गाउँपालिका–४ याल्वाङका छेपाल दोर्जी लामाले बताए । ‘चट्टान फुटाल्दा बाटो पनि बिग्रिएको छ । आवतजावत गर्नै अप्ठ्यारो हुने गरेको छ,’ लामाले भने । 

सिमकोट–हिल्सा सडक आयोजनाका निमित प्रमुख रमेशप्रसाद पाठकले यसअघि किन ढिलाइ भयो भन्ने आफूलाई थाहा नभएको बताए । तर, अहिले भने लकडाउनका कारण मेसिनरी औजारको अभाव, ढुवानीमा समस्या, इन्धनको खाँचो र कामदार अभावले ढिलाइ भएको उनले बताए । अब कामले गति लिने उनको भनाइ छ । 

दुई दशकदेखि निर्माण गरिँदै
चीनसँग जोडिने यो सडक निर्माणका लागि दुई दशकअघि नै काम सुरु भएको थियो । हिल्सादेखि सिमकोटसम्म ९५ किलोमिटर मात्रै भए पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन । 

त्यतिवेला तत्कालीन जिल्ला विकास समितिले नै काम सुरु गरेको थियो । ०५६ मा तत्कालीन जिल्ला विकास समिति, गाउँ विकास समितिहरू र विश्व खाद्य कार्यक्रममार्फत काम भएको थियो । 

त्यसपछि ०६८ मा त सिमकोट–हिल्सा सडक आयोजना सुरु भएको हो । संघीय सरकारमातहत नै आयोजना सुरु भएको एक दशक पुग्ला लाग्दा पनि सडकले गति लिन सकेको छैन । 

दुई योजनामा काम हुँदै
यो सडक निर्माणको काम दुई योजनामार्फत भइरहेको छ । एउटा योजनामा सडक निर्माण तथा सुधार र अर्को योजनामा पुल निर्माणको काम भइरहेको छ । सडक निर्माण तथा सुधारका लागि एक अर्ब ११ करोड ६२ लाख चार हजार आठ सय ७० रुपैयाँ विनियोजन गरिएकोमा एक अर्ब सात करोड ३८ लाख ५२ हजार दुई सय २९ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । 

त्यस्तै, यो सडकखण्डमा चारवटा पुल निर्माण हुने भएका छन् । यसका लागि ५५ करोड ७२ लाख ३० हजार नौ सय ५८ रुपैयाँ बजेट विनियोजन भएकोमा ३७ करोड ११ लाख ४४ हजार पाँच सय ७५ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।