मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा बिक्रीका लागि धान लिएर आएका ट्र्याक्टर । तस्बिर : नयाँ पत्रिका
२०७७ मङ्सिर २८ आइतबार ०९:१९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

समर्थन मूल्यमा धान बिक्री  गर्न कृषकलाई मुस्किल

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर २८ आइतबार ०९:१९:००

सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान बिक्री गर्न कृषकलाई मुस्किल परेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेपालगन्जले टोकन प्रणालीमार्फत धान खरिद गर्ने नियम बनाएपछि धान बिक्री गर्न कृषकले कम्तीमा एक साता समय पर्खिनुपर्ने भएको छ ।

टोकन लिन मात्र कम्तीमा चार दिन धाउनुपर्ने बाध्यता भएको नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुरका कृषक सुरेशकुमार यादवले बताए । ‘चार दिनपछि टोकन पाएँ । ट्याक्टरको धान खाद्य कम्पनीको गोदामसम्म लैजान अझै कति दिन पर्खिनुपर्ने हो थाहा छैन,’ धान बिक्रीका लागि कम्पनीको कार्यालयअगाडि पुगेका यादवले भने ।

जानकी गाउँपालिका–२ वनकटवाका सहदेवसिंह सरदारले पनि लामो लाइनमा बसेर धान बिक्री गर्ने टोकन पाए । त्यसलगत्तै उनले ट्याक्टरमा धान लोड गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको नेपालगन्ज कार्यालयमा ल्याए । तर, सहजै गोदाममा पुर्‍याउन पाएनन् । पालो नआएकाले उनको ट्याक्टर फेरि लामो लाइनमा राख्नुपर्‍यो । ‘पहिले टोकन पाउन मुस्किल । पाएपछि ट्याक्टर गोदामसम्म पुर्‍याउन थप मुस्किल छ,’ उनले भने ।

समर्थन मूल्यमा धान बिक्री गर्न धेरै कसरत गर्नुपर्ने भएपछि डुडुवा–५ कम्दीका कमलेशकुमार मिश्रले सस्तोमा स्थानीय व्यापारीलाई बेचिरहेका छन् । उनले समर्थन मूल्यभन्दा सात सय कम अर्थात् प्रतिक्विन्टल दुई हजार ५० रुपैयाँमा धान बिक्री गरे । ‘टोकनका लागि एक हप्ता कुर्नुपर्ने, अनि पालो पाउन फेरि थप एक हप्ता कुर्नुभन्दा सस्तोमा धान बिक्री गर्नै ठीक लाग्यो,’ उनले भने ।

डुडुवा गाउँपालिका–४ उचे मसाहाका नियाज अहमद अन्सारीले पनि सस्तो मूल्यमा स्थानीय व्यापारीलाई धान जिम्मा लगाए । टोकनका लागि ६–७ दिन लाइनमा बस्नुभन्दा स्थानीय व्यापारीलाई सस्तोमा धान बिक्री गरेको उनले बताए । ‘धान पनि १०–१२ क्विन्टल मात्र थियो । टोकन लिन लामो लाइनमा बस्नुपर्ने झन्झट देखेर सस्तोमा बिक्री गर्न उचित लाग्यो,’ उनले भने ।

खाद्य कम्पनीको नेपालगन्जका प्रमुख निर्मल थापा भने कृषकको सजिलोका लागि टोकन प्रणाली लागू गरेको दाबी गर्छन् । जो पहिले आउँछ, उसैले पालो पाओस् भनेर टोकन प्रणाली लागू गरेको उनको भनाइ छ । ढिलो गरी पालो आउँदा पनि कृषकलाई सजिलो भएको उनको दाबी छ । ‘टोकन लिएका कृषक आफ्नो पालोमा आउँछन् । पालो नआएका कृषक आनन्दसँग आफ्नो घरमा बस्छन्,’ उनले भने ।

व्यापारीले धानको मूल्य घटाए
बाँकेका व्यापारीले फेरि धानको मूल्य घटाएका छन् । प्रतिक्विन्टल दुई हजार दुई सय रुपैयाँमा मोटो धान खरिद गर्दैै आएका कृषकले दुई हजार रुपैयाँमा धान बिक्री गर्न थालेको महेश गल्ला भण्डारका प्रोप्राइटर महेश साहुले बताए । ‘माथि’बाट धानको मूल्य घटेर आएकाले आफूहरूले पनि घटाएको उनको दाबी छ । उनका अनुसार मूल्य घटेपछि कृषकले धान बिक्री कम गरेको उनको भनाइ छ ।