मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २८ आइतबार ०६:१६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

५६ प्रतिशतले घट्यो सेयर कारोबार : वाणिज्य बैंक, लघुवित्त र निर्जीवन बिमा कम्पनीमा मात्रै ५४ प्रतिशत लगानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २८ आइतबार ०६:१६:००

गत साता सेयर कारोबार रकम अघिल्लो साताभन्दा ५६ प्रतिशतले घटेर १८ अर्ब रुपैयाँमा सीमित भएको छ । दैनिक औसत ८ अर्ब रुपैयाँ नाघेको सेयर बजारमा गत साता कारोबारसमेत ३० प्रतिशतले कमी आएको छ । गत साता बजारमा दैनिक औसत ५ अर्ब ६९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

कारोबार संख्यामा समेत २८ प्रतिशतले कमी आएको छ । अघिल्लो साता ३ लाख ५७ हजारपटकसम्म सेयर किनबेच भएकोमा गत साता घटेर २ लाख ५६ हजारपटक कारोबार भएको हो । सातामा सेयर बजार परिसूचक भने ९१ अंक अर्थात् ४ दशमलव ४ प्रतिशतले घटेको छ ।

सातामा जलविद्युत् समूहबाहेक सबै समूहगत परिसूचक घटेका छन् । जलविद्युत् समूह भने ४२ अंकले बढेको हो । साताभर भएको कारोबार रकमका आधारमा वाणिज्य बैंक, लघुवित्त र निर्जीवन बिमा कम्पनीमा मात्रै लगानीकर्ताले ५४ प्रतिशत लगानी गरेका छन् । यी समूहमा भने सातागत आधारमा ४ देखि ५ प्रतिशतसम्म गिरावट आएको छ । 

नारायणी डेभलपमेन्ट बैंकको मात्रै सातामा ४८ प्रतिशतले मूल्य बढेको छ । २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको कम्पनीको मूल्य अन्तिम दिन ४ सय ३८ पुगेको छ । समस्याग्रस्त अवस्थाबाट तंग्रिनै बाँकी रहेको कम्पनीको १०–१० कित्ताका दरमा मूल्य बढाइएको छ । साताभरमा कम्पनीको ८ हजार ९ सय १० कित्ताको सेयर किनबेच हुँदा पछिल्लो ४ दिनमा जम्मा ५ सय २० कित्ता सेयर कारोबार भएको हो । सान्जेन जलविद्युत्, रुसुवागढी जलविद्युत् कम्पनीहरूको मूल्य पनि ११ प्रतिशतका दरमा वृद्धि भएको छ । 

बजारको प्राविधिक विश्लेषण

बजारको प्राविधिक विश्लेषणले भने केही समय सेयर बजार करेक्सनमै रहन सक्ने सम्भावना देखाएको छ । नेप्सेको मैनबत्ती चित्रले अन्तिम दिन माथिल्लो धागो लामो र सानो शरीरको मैनबत्ती आकृति बनाएको छ । यसले लगानीकर्ता बजारको दिशालाई लिएर अन्योलमा रहेको संकेत गर्छ । बजार माथि जानुपर्छ भन्ने पक्ष बलियो देखिए पनि अन्त्यमा त्यो सम्भव हुन नसकेको यसले देखाउँछ । 

नेप्सेको ७ दिने र २१ दिने मुभिङ एभरेज रेखा भने दूरीसहित अगाडि बढिरहेका छन् । ७ दिने रेखा माथि रहेकाले बजार बुलिस प्रवृत्तिमै छ । तर, केही सानोतिनो करेक्सनको सम्भावना बाँकी राख्दै नेप्सेको रेखाभन्दा माथि रहेर ७ दिने मुभिङ एभरेजले प्रतिरोध दिइरहेको छ ।  नेप्सेको १४ दिने आरएसआई सूचक ६६ स्केलमा छ । यसले बजार माग र आपूर्तिको सन्तुलित अवस्थामा आइपुगेको देखाउँछ ।