१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सोमनाथ लामिछाने/ रासस
२०७७ मङ्सिर २७ शनिबार १५:१३:००
Read Time : > 4 मिनेट
फिचर

कोभिड–१९ विरुद्धको खोप निर्माणमा तीव्र प्रतिस्पर्धा, सहज आपूर्तिको प्रतीक्षामा गरिब राष्ट्र

Read Time : > 4 मिनेट
सोमनाथ लामिछाने/ रासस
२०७७ मङ्सिर २७ शनिबार १५:१३:००

कोरोना भाइरस महामारीबाट विश्व समुदाय आक्रान्त छ । यो महामारी कसरी नियन्त्रणमा आउला वा संक्रमणलाई कसरी कम गर्न सकिएला भन्नेबारेमा आममानिसलाई सही सूचना, ज्ञान र सचेतना दिने प्रयास भए पनि त्यो अझै सार्थक हुन सकेको छैन । यही कारण संक्रमणको दर दिनानुदिन बढेको बढ्यै छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), जोन्स हप्किन्स विश्वविद्यालयजस्ता संस्थाले कोरोना संक्रमण र त्यसले पुर्‍याएको मानवीय क्षतिको विवरण दैनिक अद्यावधिक गरिरहेका छन् । सार्स प्रजातिकै नयाँ कोरोना भाइरस मानवमा देखिएको झन्डै एक वर्ष पुग्न लागेको छ र विश्वभर यस भाइरसबाट संक्रमितको संख्या शनिबारसम्म झन्डै सात करोड १४ लाख पुगिसकेको छ भने झन्डै १६ लाख व्यक्तिको भाइरस संक्रमणबाट मृत्यु भएको छ । अझै पनि विश्वभर दैनिक १२ हजारको हाराहारीमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ । 
यो भयावह अवस्था नै हो । हुन त, सन् १९२० को स्पेनिस फ्लुबाट युरोप, अमेरिकासहित विश्वभर करिब दुई करोडदेखि पाँच करोड मानिसको मृत्यु भएको थियो । इबोला, एचआइभी एड्स, सार्स, प्लेग, क्षयरोगजस्ता महामारीले पनि धेरै मानिसको ज्यान लिएकै छन् । तर, पछिल्लोपटक तीव्र गतिमा विश्वभर फैलिएको नयाँ कोरोना भाइरसले मानिसका सम्पूर्ण दैनिक व्यवहारका साथै अर्थतन्त्र नै चौपट पारिरहेको छ । 

कोरोना भाइरस महामारी नियन्त्रणका लागि साबुनपानीले नियमित हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र घुमफिर गर्दा वा भेटघाट गर्दा कम्तीमा दुई मिटरको सामाजिक दूरी कायम राख्नुपर्ने विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ । यो विधि कोरोना भाइरसको फैलिने क्षमता र प्रकृतिलाई विचार गरी सिफारिस गरिएको हो । अर्कोतर्फ, मानिसको भिडभाड रोक्न कयौँ सरकारले निकै कठोर मानिने लकडाउन पनि गरेका थिए र अझै पनि कतिपय देशमा यो क्रम जारी नै छ । चीनको वुहानमा व्यापक रूपमा कोरोना फैलिएका वेला कठोर लकडाउन, उपचार र सचेतना कार्यक्रम चलाइएको थियो । 

तर, लकडाउन, सामाजिक दूरीजस्ता उपायले मात्र कोरोना भाइरसलाई परास्त गर्न सकिने सम्भावना निकै कम देखिएको वैज्ञानिकहरूले बताएका छन् । यसका लागि प्रभावकारी उपचार आवश्यक देखिइसकेको छ । तर, उपचार त्यति सजिलो भने देखिएको छैन । विश्वभरका वैज्ञानिकहरू अहिले कोरोना भाइरस ठीक गर्न विभिन्न औषधि, खोप र थेरापीको खोज र अनुसन्धानमा तल्लीन छन् । हालसम्मका यी प्रयत्न शरीरमा कोरोना भाइरससँग लड्न सक्ने एन्टिबडी अर्थात् रोगप्रतिरोधात्मक क्षमता निर्माणमा केन्द्रित देखिएका छन् । हाइड्रोक्सिक्लोरोकिन, रेम्डेसिभर, एजिथ्रोमाइसिनजस्ता औषधिको प्रयोग एकातिर गरिएको छ भने प्लाज्मा थेरापी पनि उपयोगमा ल्याइएको छ । तर, यी दुवै विधि पूर्ण रूपमा सफल नभएको विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ । 

यही खोजको क्रममा विश्वका ठुल्ठूला औषधि निर्माता कम्पनी, विश्वविद्यालय र अनुसन्धान संस्थाहरू खोप विकासमा लागेका छन् । अमेरिकी कम्पनी मोर्डना, अमेरिकी–जर्मन साझेदारीको फाइजर–बायोएनटेक, बेलायतको अस्ट्राजेनिका–अक्सफोर्ड, रुसको स्पुतनिक भी, चीनको सिनोफार्म र क्यानसिनो तथा भारतको सिरोम फर्मास्युटिकल्स (कोभिसिल्ड) खोप निर्माणमा निकै अगाडि बढिसकेका छन् । फाइजर र मोडर्नाका खोपहरू ९५ प्रतिशतसम्म प्रभावकारी रहेको दाबी गरिएको छ । सुरुमै आफ्नो खोप सफल रहेको दाबी गर्ने रुसको स्पुतनिकका बारेमा विस्तृत जानकारीको अभाव रहेको बताइन्छ । 

हाल सर्वाधिक चर्चामा फाइजरकै खोप छ । यस खोपलाई बेलायतको औषधि प्रशासन निकायले मान्यता दिएर आमजनतालाई दिन थालिसकेको छ । पहिलो चरणमा वृद्धवृद्धा र स्वास्थ्यकर्मीलाई यो खोप दिन थालिएको छ । फाइजरको खोपलाई मान्यता दिने बेलायत पहिलो देश हो । यो खोपलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)ले चाँडै अनुमति दिने विश्वास गरिएको छ । बिहीबार मात्र एफडिएमा आबद्ध अमेरिकी विज्ञहरूको समूहले फाइजरको खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरिसकेको छ । साधारणतया, विज्ञको सिफारिस भएपछि एफडिएले खोप अनुमति दिने प्रचलन छ । अमेरिकामा कोरोनाको दोस्रो लहर सुरु भएसँगै दैनिक संक्रमित र मृत्यु हुनेको संख्या तीव्र गतिमा बढेकाले पनि खोपको अपरिहार्यता बढेको हो । अमेरिकामा तीन दिनको अवधिमा नौ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु हुनेको संख्या तीन लाख दुई हजार नाघेको छ भने संक्रमितको संख्या पनि झन्डै एक करोड ६३ लाख भइसकेको छ । 

यस्तै, कहालीलाग्दो अवस्था ब्राजिल, भारत, मेक्सिको, युरोपेली मुलुकहरूसमेतका अन्य मुलुकमा पनि छ । यही परिस्थितिलाई विचार गरी निकै प्रभावकारी मानिएको फाइजरका खोप भित्र्याउन क्यानडा, बहराइन, साउदी अरेबिया र मेक्सिकोले सहमति दिइसकेका छन् । मेक्सिकोमा यही डिसेम्बरको तेस्रो साताबाट खोप लगाउन सुरु गरिने मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले घोषणा गरिसक्नु भएको छ । मेक्सिकोले फाइजरका साथै चीनको क्यानसिनो खोप करिब तीन करोड ५० लाख डोज खरिद गरेको छ । युरोपेली युनियनको औषधि प्रशासन निकायले पनि फाइजरसहित अन्य खोपका बारेमा विचार–विमर्श गरिरहेको बिबिसीले जनाएको छ । 

भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड नामको खोप विकास गरेर अन्तिम क्लिनिकल परीक्षण भइरहेको जनाएको छ । भारत सरकारको अनुमति पाएसँगै यस कम्पनीले करिब ४० करोड डोज खोप भारत सरकारलाई उपलब्ध गराउने सेरमका प्रमुख कार्यकारी अदर पुनावालाले बताएका छन् ।

चीनको सिनोफार्मले विकास गरेको सिनोभ्याकले ८६ प्रतिशतसम्म प्रभावकारी काम गरेको युनाइटेड अरब इमिरेट्स (युएई) को स्वास्थ्य मन्त्रालयले जनाएको छ । युएईमा सिनोभ्याकको क्लिनिकल परीक्षण गत जुलाईबाट गरिएको र तथ्यांक विश्लेषणका आधारमा खोप ८६ प्रतिशत असरदार देखिएको युएईको भनाइ छ । सिनोफार्मको सिनोभ्याक खोप आमसर्वसाधारणलाई लगाउन इन्डोनेसिया पुगिसकेको छ । जनवरीसम्ममा अरु १८ लाख डोज इन्डोनेसिया पुग्ने इन्डोनेसिया सरकारले जनाएको छ । 

यस्तै टर्की, ब्राजिल र चिलीमा पनि चिनियाँ खोप पठाइएको छ । चीनमा हाल चारवटा कम्पनीले विकास गरेका पाँच किसिमका खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण चलिरहेको छ । सिनोफार्मका अध्यक्ष लिउ जिङझेनले दर्जनौँ मुलुकले सिनोफार्मका खोप खरिद गर्न अनुरोध गरिरहेको जानकारी दिएको सिएनएनले जनाएको छ । यस कम्पनीमा सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब डोज उत्पादन गर्ने क्षमता रहेको अध्यक्ष जिङझेनले बताए । 

फाइजर र मोर्डनाको तुलनामा सबैजसो चिनियाँ खोप कम चिसोमा राख्न सकिने र त्यसलाई धेरैजसो विकासशील मुलुकहरूमा सहजै आपूर्ति र वितरण गर्न सकिने बताइएको छ । फाइजर (माइनस ७५ डिग्री) र मोर्डना (माइनस २० डिग्री) को हाराहारीमा राख्नुपर्ने हुन्छ । तर, चिनियाँ खोपहरू, भारतको कोभिसिल्ड र अस्ट्राजेनिका–अक्सफोर्डका खोपहरू २ देखि ५ डिग्री सेल्सियसको हाराहारीमा भन्डारण गर्न सकिनेछ । 

कोरोना भाइरस महामारीसँग जुध्न हाल निर्माणको अन्तिम चरणमा रहेका खोप विश्वभरका मुलुकमा सहज र समानुपातिक रूपमा वितरण हुनुपर्ने जिकिर विश्वका नेता र अभियन्ताहरुले गरिरहेका छन् । बिबिसीका अनुसार अस्ट्राजेनिका–अक्सफोर्ड खोपको मूल्य प्रतिडोज ४ डलर, मोर्डनाको ३३ डलर, फाइजर–बायोएनटेकको २० डलर, स्पुतनिकको १० डलर तथा सिनोभ्याकको ३० डलर पर्नेछ । यी खोप २ डोज लगाउनुपर्ने विश्व स्वास्थ्य संगठनले   जनाएको छ ।

संगठनको अगुवाइमा कोभिड–१९ भ्याक्सिनको विश्वव्यापी पहुँच (कोभाक्स) स्थापना पनि भएको छ, जसले कोरोनाविरुद्धको खोपलाई विश्वका सबै धनी, गरिब मुलुकमा सहज र सस्तो मूल्यमा उपलब्ध गराउन तथा गरिब राष्ट्रलाई मद्दत गर्न पहल गर्नेछ । तर, विश्वका अति गरिब र कोभिड–१९ का कारण अर्थतन्त्रमा निरन्तर संकट व्यहोर्दै आएका मुलुकहरूले यी महँगा खोपमा कहिले र कसरी सहज र समानुपातिक पहुँच हासिल गर्लान् अहिल्यै केही बताउन सकिने अवस्था छैन ।
(अन्तर्राष्ट्रिय समाचारमा आधारित)