• ePaper
  • वि.सं २०७५ फाल्गुण ६ सोमबार
  • Monday, 18 February, 2019
  • Archive

उदारवादले रंगीन जयपुर

२०७५ माघ २६ शनिबार ०७:०५:०० | काठमाडाैं

  प्रवेशद्वारको दुबो
अमेरिकी गायिका माइली साइरसका लागि ‘गुलाबी रङ’ रङ मात्र कहाँ र ? विशेष अनुभूति पनि हो रे ! दिल्लीको भिडभाड, प्रदूषण र मैलाधैला छिचोल्दै ‘पिंक सिटी’ जयपुर टेक्दै थियौँ हामी पनि । साइरसले भनेझैँ गुलाबी रङको अलग अनुभूति सँगाल्न, जयपुरस्थित डिग्गी प्यालेसमा आयोजित जयपुर साहित्य उत्सव अर्थात् जेएलएफको आकर्षणले तानिँदै । धेरै वर्षदेखिको धोको पहिलोपटक मेटिँदै थियो, त्यसैले निकै उत्साहित थिएँ, म । 

यो सहरका घरहरूमा उल्लेख्य संख्यामा गुलाबी रङ नै पोतिएको देखिन्थ्यो । हरियो दुबोको स्वरूपमा जयपुर लेखिएको थियो, एउटा प्रवेशद्वारमै । तुलनात्मक रूपमा धेरै सफा र कलात्मक सहर जयपुर । साहित्य उत्सवको स्वाद चाख्न छिरेका हाम्रा लागि एक पन्थ दुई काज हुने भइगयो, दिनभर जेएलएफ त साँझ–बिहान सहरवरपरका पर्यटकीय स्थलहरू चहार्र्ने । अनि कलात्मक सहरलाई बारम्बार नजिकबाट नियाल्नु त छँदै थियो । 

आख्यान विमर्श
जेएलएफमा आख्यानका सत्रहरू उल्लेख्य थिए, अनि चर्चित विदेशी लेखकहरू पनि । आहदाफ सोएफ (इजिप्ट), वेन ओक्री (नाइजेरिया), कोल्सन ह्वाइटहेड (अमेरिका) एन्रिक एल्भारो (मेक्सिको), इयान मार्टिन (क्यानडा), जेनिफर नान्सुवुका (युगान्डा), नो भायोलेटा (जिम्बावे), पेरुमल मुरग्गन (भारत) जस्ता गहन विषयमा लेख्ने र गम्भीर बहस गर्ने लेखकहरूको उपस्थितिका सत्रहरू अत्यन्तै विचारोत्तेजक हुने भइहाले । अर्कातर्फ मार्कस जुसाक, ज्योफ्री आर्चरजस्ता चालू लेखकहरू झनै ‘क्राउडपुलर’ थिए, त्यहाँ । 

आख्यानकेन्द्रित सत्रहरूमा सुनाइएका लेखकका अनुभवहरू विचार र विस्मय दुवै हिसाबले गजबका थिए । युगान्डाकी लेखक जेनिफर न्सुवुका सीमाबारेको यो भनाइ बडो विचारणीय छ, ‘काला छौँ, हामी । त्यसैले त अनुहारमै सीमा टाँसिएको छ हाम्रो, अफ्रिकी पहिचानको सीमा । खासमा अफ्रिकी भूगोलमा देशको सीमा कोरिएको थिएन, हाम्रा पूर्वजहरू सिकार गर्दागर्दै या घाँसदाउरा गर्दागर्दै पत्तै नपाई आफ्नो देशको सीमा नाघेर छिमेकी देशमा पुगिसकेका हुन्थे । कुनै बारबन्देज थिएन ।

पश्चिमा उपनिवेशकको प्रवेशसँगै हामीबीच विभाजनका सीमा कोरिए ।’ अमेरिकी लेखक कोल्सन ह्वाइटहेड यस संस्करणका ‘बिगफिस’ थिए । कालाहरूको दासगाथामा आधारित उनको पछिल्लो उपन्यास ‘दी अन्डरग्राउन्ड रेलरोड’माथि बहस चल्दै थियो । ह्वाइटहेडसँग वार्ता गर्ने अंग्रेजीभाषी भारतीय लेखक कनिष्क थरुरको प्रश्नको ओज नपुगेको सजिलै बुझिन्थ्यो । उनी कर्मकाण्डी प्रश्नहरूमा अल्झिरहँदा हास्य पात्रजस्ता देखिए, लेखक र दर्शकका नजरमा । विषयवस्तुलाई न्याय दिन सकिएन भने अंग्रेजीले मात्र कहाँ थाम्दो रहेछ र हैसियत ? 
    
 जयपुर र सेलेब्रिटी सत्संग
राजनीति र लेखनसँग जोडिएका सत्रहरू पनि भरिभराउ थिए । लेखक तथा राजनीतिज्ञ शशी थरुरलाई भिडले चर्को आवाजले अनुमोदन ग¥यो, जब उनी बहसको पोयो फुकाउँदै बोले, ‘म राज्यमन्त्री थिएँ, कुनै वेला । अहिले भूतपूर्व भएँ । अहिले सांसद छु, कुनै दिन भूतपूर्व सांसद पनि हुनेछु । तर, लेखक परिचय सधैँ रहनेछ, कहिल्यै भूतपूर्व लेखक भनिनेछैन मलाई ।’ लेखन दुनियाँको मजा नै यही हो । साँच्चै ‘नो रिटायर्डमेन्ट’ । 

बलिउड त जयपुरमा प्रवेश हुने नै भयो । तर, यसपटक पूरै काव्यिक लयमा थियो बलिउड–गुल्जार, मेघना गुल्जार, जावेद अख्तर, सवाना आजमीहरूको फरक आयामले । जीवनबोधको गहिराइ थियो गुल्जारका बाबु–छोरीको सत्र । साथमा रहेका आफ्ना केटाकेटीतिर पुलुक्क हेर्थे, घरीघरी केही अभिभावकहरू । गुल्जारप्रति समर्पित किताब ‘बिकज ही इज’ बाट डेकार्टियन शैलीमा कवितासमेत सुनाइन् मेघनाले ‘बाबा हुनुहुन्छ र मेरो अस्तित्व छ ।’ 

कैफी आजमीलाई सम्झँदै शवानाले विगत उप्काइन्, ‘कैफी आजमीलगायत भारतका प्रगतिशील लेखकहरू कम्युनमा बस्थे र सामूहिक जीवन बिताउँथे ।’ विभाजनपूर्वको भारतको ताज्जुबलाग्दो सामाजिक तस्बिर थियो, त्यो । आज त्यही भारतका प्रगतिशीलहरूको प्रगतिशील हस्तक्षेप कहाँ छ ? जेएलएफसँग जुधाएर नजिकै समानान्तर साहित्य उत्सव (पिएलएफ) गर्दैमा प्रगतिशील भइने हो भने अलग कुरा ।  

 सलबलाएका सीमान्तकृत समाज
नसुनिएका आवाज र किनारामा परेका मुद्दाको ‘टोकन’ प्रतिनिधित्व गर्न पनि जानेकै छ, जयपुरले । २४ वर्षको उमेरमा जेलमै पढ्न–लेख्न सिकेका बंगाली लेखक मनोरञ्जन व्यापारी गत वर्ष जेएलएफका आकर्षण थिए । यसपटक पनि भोक, विभेद र प्रतिरोधका कथा सुनाउन निम्त्याइएका थिए, उनी । अनूदित उपन्यास ‘देअर इज गनपाउडर इन द एयर’ सँगै उनका पाठकहरू बढ्दै छन् । मनोरन्जन’दा भन्दै थिए, ‘समाजमा सैतान र शोषकहरूकै रजगज छ, अहिले पनि । खासमा तिनीहरूलाई बाँच्ने कुनै अधिकार छैन । गोली ठोकेर सिध्याइदिन मन लाग्छ, तर सक्दिनँ । त्यसैले त लेख्छु, तिनीहरूको मुखुन्डो उतार्न ।’ गत वर्ष चर्चामा रहेको उनको आत्मकथा ‘इतिवृत्ति चाण्डाल जीवन’ कै प्रसंग बारम्बार दोहो-याइरहँदा भने मनोरञ्जन’दालाई पुनरावृत्तिको रोगले गाँज्न थालेजस्तो लाग्थ्यो । 

गरिबीसँग लड्दै ‘स्कलर’ बनेका रहेछन्, शिवराज बेचैन । दलित हुनुका कारण उनले भोग्नुपरेका पीडाहरू शिक्षित समाजको सचेतनालाई हल्लाउन सक्ने बलिया प्रतिप्रश्न थिए । मनोरञ्जन’दासँगैको सत्रमा दक्षिण भारतनिवासी मुस्लिम महिला सल्मालाई जब माइक थमाइयो, उनी पोखिइन्, ‘म यहाँ आएको मेरा परिवारजनलाई नै थाहा छैन । खबर गरेको भए उनीहरूबाटै रोकावट हुन्थ्यो । त्यसैले सुटुक्कै हिँडेकी । फर्केपछि जे होला, व्यहोरौँला ।’ 

नाइजेरियाली लेखक चिमामान्डा अदिचीको भनाइ पैँचो लिएर भन्न मन लाग्छ, ‘कथाहरूको महत्व छ । अरू धेरै कथाहरूको महत्व छ ।’ सर्वत्र छन् कथाहरू । मनोरञ्जन’दा, शिवराज बेचैन अनि सल्मालाई सुनिरहँदा अब सवाल्र्टन आफ्ना कथा भन्न आफैँ जुर्मुराएझैँ लाग्छ, अरूको बैसाखीविनै गायत्री स्पिभाकलाई ‘क्यान सवाल्र्टन स्पिक ?’ को सटीक उत्तर फर्काएजसो गरी । सीमान्तकृत कथाहरूका सत्रमा स्थानीय भाषामै बोलेका थिए, लेखकहरू । बरु अनुवादकहरूले श्रोता र लेखकबीच सारथिको काम गरे । 

 समाजका असहज कथाहरू 
एसिड आक्रमणबाट जलेकी, तर बाँच्न सफल रेस्मा कुरेसीको ‘मेक लभ नट स्कार्स’ विमोचन भयो, जयपुरमा यसपटक । क्षतविक्षत अनुहारका बाबजुद मोडलिङमै लागेकी छन्, कुरेसी । सुन्दरीको प्रचलित बिम्बमाथि प्रहार गर्दै उनी भन्ने गर्छिन्, ‘ग्ल्यामरको दुनियाँलाई मोडलिङमार्फत म नयाँ सन्देश दिन चाहन्छु । बाहिरी सुन्दरता मात्रै सबै होइन । हाम्रो समग्र चिन्तनमा नै परिवर्तन आवश्यक छ अब ।’ क्यान्सरबाट मुक्त मनीषा कोइरालाको ‘हिल्ड’ पनि प्रतिकूलताबीच विचलित हुनेहरूलाई उत्साह जगाउने आधार बनेको हुनुपर्छ, पक्कै पनि । 

जर्मेन ग्रिरद्वारा लिखित ‘फिमेल युनक’ तेस्रोलिंगीबारे छ । आफ्नै किताबमार्फत अलग लैंगिक पहिचान र पीडाबारे उनी बोलिरहेकी थिइन् । मेरो मस्तिष्कमा भने एक महिनापहिले काठमाडौंमा ‘भूमिका’ विमोचन गर्दाका दृश्य सलबलाउँदै थिए । हामै्र पिंकी हुन् वा भूमिका वा रुबिना, भारतीय विद्या हुन् या सेनेगेली सरिफ–पुरुष र महिलाबीचको ‘वाइनरी’ परिचयमा नअटाएकाहरूलाई हिजडा, छक्का भनी खिसीटिउरी गर्ने क्रम कायमै छ अझै, यौनशोषणसमेत गर्दै । फरक परिचयलाई आत्मसात् गर्दै मानव बन्न यस्तै विषय र बहसले सघाउनेछन्, हामीलाई क्रमशः ।    

जयपुरमा नेपाल 
मञ्जुश्री थापा जेएलएफका तीन सत्रमा देखिइएकी थिइन् । अनुवाद र आख्यान सत्रमा त उनी ठीकै थिइन्, तर दक्षिण ‘एसियाः पर्खाल र पुलहरू’ सत्रमा उनको अभिव्यक्ति कमजोर थियो । विविध नेपाली आयाम आएन, उनको अभिव्यक्तिमा । बलिउड कलाकार र नयाँ किताबमार्फत क्यान्सर ‘सर्भाइभर’का रूपमा मनीषा कोइरालाको जेएलएफमा उपस्थितिलाई नेपाली चेलीको झाँगिएको ग्लोबल परिचय भनी मख्ख पर्न सकिएला । 

अर्कातिर डिग्गी प्यालेसभन्दा केही परको रवीन्द्र मञ्चमा समानान्तर साहित्य उत्सव (पिएलएफ) का सत्रहरूमा पनि नेपाली प्रतिनिधिहरू थिए । तर, भारत–नेपाल सम्बन्धको सत्रलाई सुनिरहँदा हाम्रा विषयहरू सशक्त राखेको पाइएन । आवेग ज्यादा र तथ्य कम भएको प्रस्ट देखिन्थ्यो, तयारी पर्याप्त थिएन । डिग्गी प्यालेस होस् या रवीन्द्र मञ्च, सीमापारिका यस्ता उत्सवमा नेपाली समाज, लेखन, सिनेमा र अरू कलाका आयामबारे जमेर चर्चा गर्ने जुझारु प्रतिनिधित्व हुन भने बाँकी नै देखिन्छ । 

जेएलएफ र सामाजिक आयाम ‘संसारकै सबैभन्दा विशाल साहित्यिक महोत्सव’ यही ट्यागलाइन गुन्जिन्थ्यो जेएलएफमा । जात्रा नै हो, किताबप्रेमीहरूका लागि जयपुर  भारतीयहरूको पठन संस्कृति पनि लोभलाग्दो । युवा–युवतीहरूको सक्रिय उपस्थिति । पाकाहरूको पनि उस्तै परिष्कृत अध्ययन र चिन्तनको पाटो । उत्सवमा ६० देखि ८० उमेर समूहका पनि बाक्लै थिए । यो साहित्य उत्सवको रौनक आमजनजीवनमा समेत देखिन्थ्यो । उत्सवका सहभागीहरूसँग दैनिक ठोक्किनेहरूमा सहरका व्यापारी र सवारीचालकहरू प्रमुख थिए । केही दिनदेखि किताब मेलाको तालिकाअनुरूप उनीहरूको दैनिकी ढालेको हुनुपर्छ । ‘भर्खरै एउटा सत्रमा सहभागी भएर फर्केको म पनि,’ एक व्यापारी सुनाउँदै थिए हामीलाई साँझपख । अर्का एक अटोरिक्सा चालक भन्दै थिए, ‘भोलि बिदाको दिन त मेरी छोरीलाई पनि पठाउनुप-यो, तपाईंहरू गएको ठाउँमा । केही त देख्छे, सिक्छे ।’ 

 उत्सवभित्रको अर्को उत्सव 
‘टिमवर्क’ भन्ने संस्थाको हालीमुहाली थियो, व्यवस्थापनमा । किताबको स्टल पनि एउटै मात्र, उही टिमवर्कले राखेको । प्रायः उपस्थित लेखकहरूका किताब नै थिए त्यहाँ । किताबमा एक पैसा पनि छुट थिएन । नगद कारोबार नहुने, चिया खानुपरे पनि डिजिटल कारोबार गर्नुपर्ने । एक स्टलका सञ्चालक भन्दै थिए, ‘प्रविधिले दुनियाँ कहाँ पुगिसक्यो ? चिया बेच्दा कार्डमार्फत कारोबार हुने दिन पनि आए । कहिल्यै नसोचेको ।’   

‘क्रस ड्रेसिङ’ र अनौठा पहिरन, शृंगार र हाउभाउले पनि मनग्गे ध्यान तान्थ्यो जयपुर उत्सवमा । अर्कातर्फ स्वतस्फूर्त पेन्टिङ, कविता वाचन अनि सन्ध्या संगीत । हरेक दिनको मध्याह्नमा किताब विमोचन गरिन्थे, हलैपिच्छे । फोटोसुटकै लागि मात्र धाउने स्थानीय पनि देखिन्थे त्यहाँ । पश्चिमा र भारतीयहरूको अन्तरसांस्कृतिक जोडी उल्लेख्य देखिन्थे– बहुुुसांस्कृतिकवादको सतही झलक । 

हरेक दिन राम्रो मिडिया कभरेज थियो कार्यक्रमको । दैनिक भास्कर, आउटलुक, पत्रिका (राजस्थान) जस्ता ठूला मिडिया हाउसको सहकार्य जो छ । सत्रैपिच्छेका समाचार सबैतिर पुग्ने नै भयो । टिमवक्र्सका केही पाटा अद्भुत थिए, एकदमै अनुकरणीय । किताब प्रकाशन, प्रवद्र्घन र साहित्य उत्सवमा लाग्दै गरेका नेपाली साथीहरूलाई राम्रै ‘लर्निङ कर्भ’ भएको हुनुपर्छ, जेएलएफ ।   

जयपुर साहित्य मेलामा निःशुल्क र घरीघरी पाइने भनेको जारको पिउने पानी र कार्यक्रम विवरण मात्र थिए, अरू सबै खर्चिला । गेटबाहिर राजस्थानी पगडी बेच्न मरिहत्ते गर्दै थिए केही युवाहरू । चिच्चाई चिच्चाई व्यापार प्रवद्र्घन गर्दै थिए, ‘जाड्ताहु मै’ खालको ‘हेभी एक्सेन्ट’मा ।  

 युट्युबमा मैजारो 
पाँच दिनसम्म ६ वटा हलहरूमा समानान्तर सत्रहरू चलिरहे । मन पर्दा सत्रहरू पनि कति छुटे । केही विस्मात छैन, युट्युबमा हेरौँला बिस्तारै । सामेल भएका सत्रबारे पनि धेरै चर्चा गर्न सकिएन, फेरि–फेरि कतै भेटघाट गरौँला । कुल्लड चाय अर्थात् माटाका भाँडामा दिइने चिया । अदुवाको बाक्लो रस हालेर निकै बेर उमालेर पिइने चिया । कुल्लड चाय र हिंगको कचौरीबाट नवागन्तुकलाई स्वागत गर्ने चलन रहेको बताउँदै थिए एकजना सर्दारजी । सादा थाली, पन्जाबीजस्ता थालीका परिकार उपलब्ध हुने नै भए जताततै । दूधको ‘रवडी’ पनि निकै रुचाइने । राजस्थानी खानाबारे त कुनै सत्र थिएन, यद्यपि यहाँको लोकसंस्कृति र संगीतलाई भने औपचारिक छलफलमा ल्याइएको थियो ।

अन्तिम दिन फर्कनै हतार थियो हामीलाई, त्यसैले समापनपूर्वको सत्र हापियो । युट्युबमा पछि हेर्दा विचार प्रवाहभन्दा पनि बलमिच्याइँझैँ लाग्यो । ‘उदारवादीले बहस र विमर्शको घाँटी निमोठेकै हुन् त’ भन्ने विषयमा छलफल रहेछ । गौरी लंकेशको हत्या, गाईको मासुमाथिको प्रतिबन्ध आदि विषयमा समेत चर्चा–परिचर्चा भए, तर टुंगोविना नै ।  कैफी आजमीकालीन प्रगतिशीलताको अवसान भएको भारतमा असहिष्णुता बढ्दो छ, दिनानुदिन । कन्हैया कुमार, आनन्द तेल्तुम्डेजस्ता प्रतिरोधी आवाजहरूलाई निरन्तर सताइँदै छ । डिग्गी प्यालेसमा विविध स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय धेरै सवालहरू त समावेश गरिए, तर समापनी सत्रझैँ छिरलिएर रहे । 

भनिएला, स्वतन्त्रता र समानताका खिचडीकर्मी ‘लिबरल’हरूबाट योभन्दा अपेक्षा गर्न सकिन्न । अरुन्धती रोय त जेएलएफजस्ता साहित्यिक महोत्सवहरूलाई सीधै सुन्दरी प्रतियोगितासँग तुलना गर्छिन् । अनि यस्ता कार्यक्रमलाई सघाउने व्यापारिक घरानाहरूको धज्जी उडाउँछिन् । तर पनि जेएलएफ किन रोकिन्थ्यो र ? डिग्गी प्यालेसमा पुग्ने लेखकहरूको सूची लामो अनि लोभलाग्दो छ हरेक वर्ष । जेएलएफलाई पुँजीवादीहरूको सम्मेलन, अंग्रेजीबाजहरूको ‘टकाथोन’ पनि भनौँला । तर, अंग्रेजी कहाँ छैन र अहिले ? अनि घागडान लेखकहरूका विचार सुन्ने यो दुर्लभ अवसरको आनन्द जहाँतहीँ र जहिले पनि कहाँ मिल्छ र ! 

उत्सवमा अरब विद्रोहको झिल्को
भौगोलिक उपनिवेश हटे पनि पश्चिमाको सांस्कृतिक उपनिवेशबाट संसार गाँजिएकै छ अद्यापि । युरोप र अमेरिकी पाठ्यसामग्रीले हाम्रा विश्वविद्यालयमा ज्ञान छरिरहेछन् । बिस्तारै ल्याटिन अमेरिका, एसिया र अफ्रिकी जगत् पढ्ने–पढाउने क्रम बढ्दै छ । तर, अरब जगत्बारे भने झन्डै अनभिज्ञ छ हाम्रो दुनियाँ । सायद अरबी किताबहरूको अनुवादकर्म कम भएको कारण पनि हुन सक्छ । जयपुरको ‘अरब सत्र’ त्यसकारण पनि गहिरो रुचिले सुनेँ, मैले । इजिप्टकी लेखक आहदाफ सुएफ, ओमार ह्यामिल्टन अनि यास्मिन रसिदीले इजिप्टको सन् २०११ को ताहरिर स्क्वायरको आन्दोलनदेखि अरब जनजीवन, साहित्य र प्रतिरोधसँगै प्यालेस्टाइन पीडा सुनाउँदै थिए । 

हरेक वर्ष आयोजना हुने प्यालेस्टाइन साहित्य उत्सवको गाथा अलग रहेछ । जीवन र मरणबीच यात्रा गर्दा रहेछन्, समर्पित लेखकहरू प्यालेस्टाइनभूमि पुग्न–इजरायली कडा सुरक्षा, निगरानी र अपमानसमेत झेल्दै । दश वर्ष नाघिसक्यो यो निरन्तरताको । यसबीच इजरायलले प्यालेस्टाइन भूमिमाथि अरू अतिक्रमण बढाइरहेको छ । प्यालेस्टाइन भूमिको अस्तित्व संकटमा परिरहेको छ । यस्तो निराशाबीच पनि आशाको चिरागपुञ्ज प्रज्वलित गर्ने अहदाफहरूको योगदान वन्दनीय छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस