मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रवि किरण हमाल
२०७५ माघ २५ शुक्रबार २१:०१:००
Read Time : > 3 मिनेट
ब्लग

कुलपतिलाई चिठी : स्ववियु चुनाव रोक्नुस् !

Read Time : > 3 मिनेट
रवि किरण हमाल
२०७५ माघ २५ शुक्रबार २१:०१:००

सम्मानिय कुलपति ज्यू, न्यानो अभिवादन 

तपाईले नेतृत्व गरिरहेको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारालाई अगाडि बढाएको छ । जनताको चाहाना अब सुशासन, विकास र समृद्धिबाहेक दोस्रो छैन । लामो समय राजनीतिक आन्दोलन, क्रान्ति र संघर्ष गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने चरणमा छौँ । संविधान बनेपछि सरकारको उद्देश्य जनतालाई गरिबी, बेरोजगारी र विभेदको खाल्डोभन्दा माथि उठाएर समुन्नतिको मार्गमा दौडाउने नै देखिन्छ, र आवश्यकता पनि त्यही हो । अझ, कुनै पनि देशमा फड्को मार्न शिक्षा महत्वपूर्ण औजार बनेको हुन्छ । यदि नेतृत्वले देशका नागरिकलाई गुणस्तरीय र सर्वसुलभ शिक्षाबाट टाढा राखेर समृद्धि हासिल गर्ने लक्ष्य राख्छ भने त्यो मूर्खता मात्र हुन जान्छ ।

त्यसो त नेपालको विश्वविद्यालयहरु अहिलेकै अवस्थामा चलाउने हो भने,  देशमा समृद्धिको सपना साकार हुने अवस्था छैन । विश्वविद्यालयलाई समृद्ध नेपाल निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने कारखानाभन्दा कार्यकर्ता भर्ती गर्ने मनोवैज्ञानिक चिन्तनसँगै प्राज्ञिक संस्थाको गरिमा र जिम्मेवारी दुवैलाई हानी पुर्‍याइरहेको छ । विद्यार्थी, प्राध्यापक र कर्मचारीहरुले विश्वविद्यालयलाई राजनीतिक अखडा बनाइरहेका छन् । 

प्राज्ञिक थलोमा सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ लक्ष्यलाई कसरी साकार पार्न सकिन्छ ? त्यसका लागि आर्थिक, सामाजिक, धार्मिक र वैदेशिक रूपमा के कस्ता सुधार आवश्यक छन् भनेर गम्भीरतार्पूवक बहस छलफल हुने ठाउँमा जिन्दावाद र मूर्दावादको नाराले गुन्जनु पक्कै सुखद् पक्ष होइन् । 

कुलपति ज्यू, तपाईले नेतृत्व गरेको पार्टीले अनेरास्ववियुको आवश्यकता कति बेला महसुश गरेको थियोे ? त्यो कुन प्रयोजनका लागि स्थापना भएको थियोे ? के आज त्यही बन्द, हडताल, आगजनी र पार्टी नेतृत्वको भजन कृतन गर्ने अनेरास्ववियु समृद्ध नेपाल निर्माणको सारथि बन्न सक्छ ? गम्भीरतार्पूवक मनन् गर्नुहोस् । अनेरास्ववियु मात्र होइन सबै राजनीतिक दलहरूले बिगतमा बनाएको संघसंगठनको औचित्य बारे छलफल गर्नुपर्छ । कुनै पनि संघसंगठन साधन हुन साध्य होइनन्, निश्चित उद्देश्य प्राप्त गर्न साधनहरु बनाउने गरिन्छ । आलु काट्न बनाएको चक्कुले रुख काट्न सकिँदैन, त्यहीअनुसारको साधन आवश्यक पर्छ ।

विश्वविद्यालय र त्यसअन्तर्गतका सरकारी क्याम्पसहरु जहाँ गरीब सर्वसाधारण जनताका छोराछोरीलाई तपाईंकै भाषामा सर्वहारा वर्ग भन्नुहुन्छ, त्यहाँ स्ववियु निर्वाचनको माहोल तातिँदै गएको छ । तर, उपल्लो वर्गका छोराछोरी पढ्ने गोल्डेन गेट, सेन्ट जेभिएर जस्ता कलेजमा छैन ? यदि, स्ववियुलाई लोकतान्त्रिक अभ्यास गर्ने उत्तम माध्यम बनाउने हो भने ती उपल्लो वर्गका छोराछोरीलाई त्यसबाट बञ्चित गराउन मिल्छ र, कुलपति ज्यू ? 

निजी कलेजहरुमा अध्ययन गरिरहेका विद्यार्थीलाई समस्या नपर्ने तर सरकारी क्याम्पसमा विद्यार्थीहरुका समस्यालाई उठाउने स्ववियुको परिकल्पना किन गरिँदैछ ? यसले हाम्रो सरकार र यसअन्तर्गत संस्थाको दयनीय अवस्था प्रष्ट पार्छ ।

अहिले विद्यार्थी राजनीति भनेको स्ववियुमा हुने भ्रष्टाचार, गुन्डागर्दी कसरी गर्न सकिन्छ भनेर सिक्ने पाठशाला बनेको छ । स्ववियु चुनाव लड्न भर्ना भएका कथित विद्यार्थी नेताहरू र उनीहरुलाई जिताउन भर्ना भएका भाइ, भतिजादेखि हजुरबुवासम्मले साच्चिकै देशमा विधि र पद्धतिअनुसार चल्ने सक्षम नेता उत्पादन गर्न सक्छन ? तर, क्याम्पसहरुमा स्ववियु पदाधिकारीहरु पारदर्शिता र विधिको शासन स्थापित गर्न सदैव अग्रसर भएर लाग्नुपर्ने, विद्यार्थीका समस्यालाई समाधान गर्न पहल गर्नु पर्नेमा  क्याम्पसमा हुने गतिविधिबाट कमिसनका लागि लुछाचुडी गर्ने परम्परा बसेको छ ।

कयाैँ साथीहरू बिहानदेखि बेलुकासम्म युनियनका माथिल्लो पदमा रहेका पात्रहरूको आदेशमा आफ्नो अमूल्य समय बर्बाद गरिरहेका छन् । उनीहरुलाई भनिएको हुन्छ, हामी पनि यसै गरी यहाँसम्म आइपुगेका हौँ, तिमीहरु नेता बन्ने भए यसै गर नत्र नेता बनिँदैन । गाउँघरबाट घिउ, कोदो, मकै, भेडा बाख्रा बेचेर जम्मा गरेको पैसा बोकेर आमाबुवाको सपना पूरा गर्ने अभिलाषासहित क्याम्पस आएपुगेका विद्यार्थीहरु फोहोरी राजनीतिमा अभ्यस्त हँुदा नेपाली समाज अगाडि बढ्न सकिरहेको छैन । त्यसैले स्ववियु निर्वाचन जसरी पनि गर्नुपर्छ भन्ने सोच बोक्नु भएको छ भने, प्रधानमन्त्री ज्यू ! तपाई फोहोरी र विकृत विद्यार्थी राजनीतिलाई संस्थागत गर्दै हुनुहुन्छ ।

कुलपति ज्यू तपाईले शक्तिशाली सरकारको नेतृत्व गरिरहनु भएको छ । पुरानै तरिकाले स्ववियु निर्वाचन गर्न सक्ने हैसियत शक्तिशाली सरकारले राख्छ कि राख्दैन ? किनभने सरकारको नेतृत्व गरेको विद्यार्थी संगठनले स्ववियु चुनाव हार्ने क्याम्पसमा अने बखेडा झिकेर स्वयं सरकारले नै निर्वाचन रोक्ने कुचेस्टा गरेको धेरै पटक देखेका छौँ ।

स्वयं विश्वविद्यालयका जिम्मेवार पात्रहरु आफू अनुकुल स्ववियु ल्याउन जस्तो सुकै मूल्य चुकाउने गर्छन् । यसको रहस्य स्ववियुलाई काबुमा राखी क्याम्पसको नाममा आएको पैसा मिलिजुली खाने हो । यस्ता गलत राजनीतिक अभ्यासले लोकतान्त्रिक मूल्य र मान्यतालाई चुनौती दिइरहेको छ ।

कुलपति ज्यू, हामीले स्ववियु निर्वाचन नगरौँ भनेको होइन । तर, यसको रुपान्तरण अपरिहार्य छ । विद्यार्थी राजनीति भनेको राजनीतिक प्रक्रिया सिक्ने अवसर हो । यसको मतलब आफूले गर्ने राजनीतिको वाद, शास्त्र, सिद्धान्तका साथै आफ्ना प्रतिस्पर्धीका वाद, शास्त्र र सिद्धान्तको अध्ययन गर्ने र बौद्धिक क्षमता बढाउने समर्थकको आधार फराकिलो बनाउने सीप सिक्ने हो । हामीले मानवीय, आर्थिक, सामाजिक र भौतिक विकास र समृद्धि हासिल गर्न आवश्यक पर्ने राजनीतिक अभियानलाई सफल बनाउने खालको स्ववियुको मोडेल तयार पार्न राष्ट्रिय बहसको छलफल गरौँ । 

सरकारले सबै सरोकारवाला निकायलाई त्यसको अवधारणा तयार पार्न कार्यदल गठन गरेर अगाडि बढ्ने हिम्मत कुलपतिले गर्नैपर्छ । त्यसैले अहिले घोषणा गरिएको स्ववियु निर्वाचन तत्काल रोकेर विद्यार्थी राजनीतिलाई सुशासन र सदाचारयुक्त बनाउनेतर्फ कदम चाल्न सकेमा एउटा नयाँ अध्यायको सुरुवात हुनेछ ।