मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर २४ बुधबार ०६:१५:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

सम्पादकीय : सगरमाथाको नयाँ उचाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर २४ बुधबार ०६:१५:००

सगरमाथाको उचाइ ८ हजार ८४८.८६ मिटर रहेको नेपाल र चीनले मंगलबार संयुक्त रूपमा घोषणा गरेका छन् । यसअघि सन् १९५४ मा भारतीय सर्वे विभागले सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर रहेको घोषणा गरेको थियो । त्यसभन्दा एक सय वर्षपहिले नै यो चुचुरोलाई संसारको सबैभन्दा अग्लो चुचुरो मानेर ब्रिटिस सर्वेयरले पहिचान गरेका थिए, जसका नाममा चुचुरोको नाम माउन्ट एभरेस्ट राखिएको थियो । त्यतिवेला कुनै नेपालीले यसको उचाइ मापन गर्न पाएको भए यसको नाम पनि अलग रहन सक्थ्यो । सगरमाथा पनि धेरैपछि राखिएको नाम हो । यसको नेपालतिरको रैथाने नामचाहिँ चोमोलोङमा रहेको छ । दक्षिणी मोहडा नेपालतिर र उत्तरी मोहडा चीनतिर पर्ने दुई देशीय सीमाबिन्दु पनि रहेको सगरमाथाको यसपटकको उचाइ मापन नेपाल र चीनले अलग–अलग रूपमा गरेका थिए । 

नेपालले सगरमाथाको उचाइ पहिलोपटक आफ्नै जनशक्ति र प्रविधिका आधारमा नापेको हो । संयोग नै भन्नुपर्छ नेपाली पक्ष र चिनियाँ पक्षले अलग–अलग गरेको मापनको परिणाम एउटै आयो ।

०७३ सालको भूकम्पले सगरमाथाको उचाइ घटबढ भएको हुन सक्ने भन्दै प्रश्न उठेपछि नेपाल सरकारले नापी विभागलाई सगरमाथाको उचाइ मापन गर्न निर्देशन दिएको थियो । ०७४ सालमा नापी विभागले यसको मापन सुरु गरेर यसको उचाइ पत्ता लगाएको हो । नेपालले सगरमाथाको उचाइ पहिलोपटक आफ्नै जनशक्ति र प्रविधिका आधारमा नापेको हो । संयोग नै भन्नुपर्छ नेपाली पक्ष र चिनियाँ पक्षले अलग–अलग गरेको मापनको परिणाम एउटै आयो । दुवै देशले संयुक्त रूपमा यसको उचाइ घोषणा गरेपछि यो नै आधिकारिक उचाइ मानिनेछ । पाँचदेखि ६ करोड वर्षअघि युरेसियन प्लेट र भारतीय प्लेटको घर्षणबाट उठेको सागरबाट हिमालय पर्वत शृंखला बनेको हो भन्ने भूगर्भविदको मत छ । यी दुई प्लेटको घर्षण अहिले पनि जारी रहेकाले सगरमाथाको उचाइ हरेक वर्ष ०.२५ सेन्टिमिटरका दरले बढिरहेको बताइन्छ । 

यसरी हेर्दा हरेक सय वर्षमा यसको उचाइ आधा मिटरले बढ्ने गर्छ । यसैले यसको वास्तविक उचाइ मापन ५० देखि सय वर्षमा गरिरहनु र त्यसको प्रमाणित उचाइबारे जानकारी राख्दै जानु स्वाभाविक विषय हो । नेपालले यसपालि आफ्नै स्रोतसाधनमा यसको मापन गरेर आफ्नो नापीसम्बन्धी क्षमता बढाएको सन्देश विश्वलाई दिएको छ । सगरमाथको उचाइका सम्बन्धमा चीन र नेपालबीच यसअघि विवाद थियो । चीनले चुचुरोको भू–सतहलाई आधार मानेर उचाइ घोषणा गर्न खोजेको थियो । नेपालले हिउँसहितको उचाइलाई आधार मान्नुपर्ने बताउँदै आएको थियो । अहिलेको उचाइ हिउँसहितको हो । जलवायु परिवर्तनको असरले हिँउको उचाइ घट्न थाल्यो भनेचाहिँ यसको अहिलेको उचाइमा कमी आउन सक्छ । 

सगरमाथाको उचाइसम्बन्धी नयाँ जानकारीले सगरमाथाको परिचय बदल्नेचाहिँ होइन । संसारको सबैभन्दा अग्लो चुचुरोका रूपमा यसको पहिचान रहने नै भयो । तर, यो घोषणाले दुईवटा काम भने गर्नेछ । पहिलो यसले नेपाल र चीनबीच पर्वतीय क्षेत्रको प्रकृति संरक्षणमा सहकार्य गर्न बाटो खोलेको छ । अर्को आधुनिक भू–सतह मापनमा नेपालको क्षमता विस्तारित भएको र यसले देशका अरू हिमाली चुचुराको उचाइ मापन गर्नेसमेतका काम स्वतन्त्र रूपमा गर्न सक्ने आत्मबल बढाइदिएको छ । अग्लिएको सगरमाथाको उचाइका लागि सबैलाई बधाई । साथै यस काममा खटिएका नेपाली टोलीका सबै सदस्यलाई पनि बधाई तथा धन्यवाद ।