मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर २३ मंगलबार १८:००:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आइसियू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने कोरोना संक्रमित सबैभन्दा बढी बागमती प्रदेशमा

Read Time : > 3 मिनेट
२०७७ मङ्सिर २३ मंगलबार १८:००:००

नेपालमा कोरोना संक्रमणबाट चार हजार एक सय सातजना गम्भीर अवस्थामा पुगेको पाइएको छ । तीमध्ये नौ सय ८९ जनालाई भेन्टिलेटरमा राखेर उपचार गराउनु परेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार ८० प्रतिशत कोरोना संक्रमित सामान्य अवस्थाका हुन्छन् । १५ प्रतिशत लक्षणसहितका बिरामी हुन्छन् भने पाँच प्रतिशत गम्भीर अवस्थामा पुग्छन् । आइसियू र भेन्टिलेटर आवश्यक पर्ने बिरामी पनि तिनै पाँच प्रतिशत हुन् ।

युरोप र अमेरिकाको तुलनामा नेपालमा सघन उपचार आवश्यक भएका संक्रमितको संख्या कम भएको सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला बताउँछन् । तर, नेपालका अस्पतालअनुसार आइसियूमा राख्ने मापदण्ड फरक भएकाले यकिन संख्या भन्न नसकिने चिकित्सकहरूको भनाइ छ ।

‘युरोपको तुलनामा नेपालमा आइसियू र भेन्टिलेटरमा पुगेका संक्रमित संख्या कम हो । घरमा बसेका र अस्पतालमा पनि आइसियू चाहिने कतिपय छुटेका हुन सक्छन्,’ डा. बाँस्तोला भन्छन्, ‘त्यसैले नेपालमा यति संख्यामा आइसियू र भेन्टिलेटरमा पुगे भनेर दाबी गर्न सक्ने अवस्था छैन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पनि अन्य मुलुकको तुलनामा आइसियू र भेन्टिलेटरमा पुग्ने कोरोना संक्रमित कम रहेको बताउँछन् । ‘मृत्युदर पनि अन्य दक्षिण एसियाली मुलुकको तुलनामा नेपालमा कम छ,’ डा. गौतम भन्छन् ।

स्वास्थ्य मन्त्रालयले हालसम्म आइसियू तथा भेन्टिलेटरमा पुग्नेहरूको तथ्यांक अद्यावधिक गरेको छैन । ‘यो संख्या यकिन गर्नु अत्यावश्यक छ, हामीले पनि गृहकार्य गरिरहेका छौँ,’ सहायक प्रवक्ता डा. समीर अधिकारी भन्छन् । चिकित्सकहरूका अनुसार आइसियूमा राख्नुपर्नेलाई नराखिएको र राख्नुनपर्नेलाई राखिएका घटना पनि भएकाले गम्भीर अवस्थाका बिरामी संख्या केही घटबढ हुन सक्छ ।

आइसियू र भेन्टिलेटरमा पुग्ने बिरामीको यो संख्या नयाँ पत्रिकाले हरेक अस्पतालसँग समन्वय गरी संकलन गरेको हो । तर, अझै केही अस्पतालले तथ्यांक दिन मानेका छैनन् । यसको एकीकृत तथ्यांक स्वास्थ्य मन्त्रालयले संकलन गरेको छैन । चिकित्सकहरूका अनुसार आइसियू नभएका कतिपय अस्पतालले रकम असुल्नका लागि अक्सिजनको मात्रै सहारामा बिरामीलाई राख्ने गरेका छन् ।

होम आइसोलेसनमा बसेका र मृत्यु भएका बिरामीलाई आइसियू र भेन्टिलेटर आवश्यक हुन सक्छ । तर, कति बिरामीले त्यो सुविधा पाएनन् भन्ने तथ्यांक पनि कुनै सरकारी निकायसँग छैन । कतिपय अस्पतालमा आइसियूमा पुगेका बिरामीको मृत्युदर धेरै देखिएको छ । पाटन अस्पताल र अन्य शिक्षण अस्पतालहरूमा आइसियूमा पुगेका कोरोना संक्रमितको मृत्युदर अन्यको तुलनामा धेरै छ । तर, ती अस्पतालमा मिर्गौला र क्यान्सरजस्ता गम्भीर रोग लागेका संक्रमितको समेत उपचार हुने भएकाले मृत्युको प्रतिशत स्वाभाविक रूपमा बढी हुन पुगेको हो ।

गम्भीर अवस्थाका ४१२ बिरामी आइसियू र भेन्टिलेटरमा
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर चार सय १२ जना कोरोना संक्रमित सघन उपचारमा छन् । तीमध्ये तीन सय ५४ जना आइसियू र ५८ जना भेन्टिलेटरमा उपचाररत छन् । आइसियू र भेन्टिलेटरमा उपचार हुने संख्या बागमती प्रदेशमा बढी छ । उक्त प्रदेशमा एक सय ३८ आइसियू र ३८ जना भेन्टिलेटरमा छन् ।

यस्तै, गण्डकी प्रदेशमा आइसियूमा ९७ र भेन्टिलेटरमा आठजना छन् । लुम्बिनीमा ५६ आइसियू र दुईजना भेन्टिलेटरमा छन् । प्रदेश–१ मा ३८ जना आइसियू र ६ जना भेन्टिलेटरमा छन् । प्रदेश–२ मा नौजना आइसियू र दुईजना भेन्टिलेटरमा छन् । कर्णाली प्रदेशमा नौजना आइसियूमा छन् । र, सुदूरपश्चिम प्रदेशमा सातजना आइसियू र दुईजना भेन्टिलेटरमा छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार आठ हजार ४७ जना सक्रिय संक्रमित घरमै उपचाररत छन् । मंगलबार देशभर आठ हजार नौ सय ४७ वटा नमूना परीक्षण गर्दा एक हजार तीन सय ८२ जना संक्रमित थपिएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुने संख्या एक हजार ६ सय ३७ पुगेको छ । मंगलबारसम्ममा कुल संक्रमित दुई लाख ४३ हजार तीन सय ७७ जना पुगेका छन् ।

कोभिड चिकित्सक डा. सन्तकुमार दास भन्छन्– समयमा अस्पताल नजाँदा मृत्यु बढ्यो
हाल कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गए पनि मृत्यु संख्या कम भएको छैन । पछिल्लो समय संक्रमित घटे पनि दैनिक मृत्यु केही सातायता बढ्दो क्रममा देखिन्छ ।

अन्य प्रदेशभन्दा उपत्यकामा मृत्यु संख्या बढ्दो छ । यस्तै, आइसियूमा पुग्नेहरू पनि बढी छन् । अन्य देशको अनुपातमा नेपालमा आइसियू÷भेन्टिलेटरमा पुग्ने र मृत्यु हुने संख्या न्यून छ ।

अहिले अस्पतालहरूमा कोरोनाका लक्षणविहीनभन्दा पनि लक्षणसहितका संक्रमित देखिएका छन् । अस्पतालहरूमा आउने कोरोना संक्रमित विगतमा सुरुमै आएका कारण मृत्युदर रोक्न सकिएको थियो । तर, हाल अन्तिम अवस्थामा मात्रै अस्पताल आउने क्रम बढ्दो छ । यसले पनि मृत्यु संख्या बढाएको छ । आइसियू चाहिने अवस्थामा मात्र अस्पताल पुग्दा बचाउन नसकिएका घटना छन् । आइसियू र भेन्टिलेटरमा पुगेका संक्रमितको मृत्युदर निकै बढी छ ।

नेपालमा फैलिएको कोरोनाको प्रजातिबारे अझै यकिन भएको छैन । काठमाडौंमा धेरै ज्येष्ठ नागरिक र दीर्घरोगी भएकाले स्वाभाविक रूपमा यहाँ मृत्यु बढी हुन पुगेको हो । अस्पतालबाहेक घरमा भएको मृत्युको यकिन जानकारी छ्रैन ।

कोरोना परीक्षण गर्दा पजिटिभ देखियो भने अस्पताल बस्नुपर्दा ठूलो रकम खर्च हुने डरले मानिसहरू परीक्षण नगरी घरमा बसेका छन् । गत बुधबार मात्रै मैले चारजना बिरामी हेरेँ, उनीहरू गम्भीर अवस्थामा अस्पताल आएका थिए । घरमा ठीक हुन्छ भनेर बसेका रहेछन् । सबैलाई आइसियूमा भर्ना गर्नुप¥यो ।

बिरामीहरू भ्रामक सूचनाको भर परेर होम नर्सिङ केयरको सुविधा लिएर घरमा इन्जेक्सन लगाई बस्ने गरेको पाइएको छ । एक सय फरेनहाइटभन्दा बढी ज्वरो निरन्तर आएमा, ९२ भन्दा कम अक्सिजन लेभल भएमा र सास फेर्न कठिन भएमा संक्रमित तत्काल अस्पताल आउनुपर्छ ।

दैनिक संक्रमण घटे पनि घरमा इन्जेक्सन लगाउने, अक्सिजन दिने गलत सूचनाका कारण मृत्युदर बढेको हो ।