१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
ज्वालामुखी लामिछाने
२०७७ मङ्सिर २३ मंगलबार १०:११:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

राष्ट्रपतिको सिंहासनमा सांस्कृतिक राजतन्त्र

Read Time : > 6 मिनेट
ज्वालामुखी लामिछाने
२०७७ मङ्सिर २३ मंगलबार १०:११:००

राजाले गर्ने सम्पूर्ण सांस्कृतिक कार्य जस्ताको तस्तै राष्ट्रपतिको बाहुलीबाट सम्पन्न गरिन्छ, राष्ट्रपतिको सिंहासनमा सांस्कृतिक राजतन्त्र जीवित छ

यो देशमा राजतन्त्र उखेलेर गणतन्त्र ल्याउन १० वर्ष सशस्त्र युद्ध गरेको पार्टी र जनआन्दोलनमा भूमिका निभाएको दल मिलेर बनेको विशाल एवं शक्तिशाली पार्टी अहिले बालुवाटारमा छिनाझपडी गरिरहेको छ । जनजीविका तथा परिवर्तनका मुद्दा उनीहरूको छलफलको एजेन्डाबाट गायब भएको त झन् उहिल्यै हो । राजतन्त्र अन्त्यका लागि भएको निर्णायक जनआन्दोलनका कमान्डर नेतृत्व (जिपी कोइराला)को पार्टी नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा पनि असफल छ । व्यवस्था परिवर्तनको गौरवपूर्ण जनआन्दोलन लडेका दुई ठूला शक्ति एक भएर प्रचण्ड बहुमतसहित सत्तासीन रहेको यसै घडीमा, जनयुद्धको जगमा उठेको भनिएको जनआन्दोलनले रछ्यानमा विसर्जन गरेको राजतन्त्रलाई पुनः बौराउन माग गर्नेहरूले सडक कब्जामा लिएका छन् । र, जनजीविकाका यावत् समस्याले किचिएर निस्सासिन विवश नेपाली जनताको आक्रोशलाई दक्षिणपन्थीहरूले औजार बनाएर व्यवस्थाकै शिरमा प्रहार गर्ने प्रयास गर्दै छन् । 

केही सहरमा राजावादीहरूले गरेको प्रदर्शन हेर्दा र निरन्तर जनसहभागिता बढ्दै गएको देख्दा सडक कब्जा पूर्णतः दिवास्वप्न हो भन्न सक्ने स्थिति पनि छैन । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राजतन्त्र भर्सेज गणतन्त्रको बहस सर्वाधिक उत्कर्षमा छ र यो ग्राफ उकालो लाग्दो छ । यो खालको विस्मयकारी तमासा रैती बन्न अनिच्छुक नेपाली जनतालाई प्रियकर पक्कै लागिरहेको छैन । 

राजतन्त्र र हिन्दू राज्य पुर्नस्थापनाको मूल एजेन्डालाई शिरमा बोकेर लडखडाउँदै हिँडिरहेको कमल थापा नेतृत्वको राप्रपा नेपालले बुढेसकालमा बैँस फर्किएको महसुस गरेको ०७० सालको दोस्रो संविधानसभाको चुनावपश्चात् समेत राजतन्त्र पुनर्बहालीका निम्ति यो स्तरको प्रदर्शन गर्न सकेको थिएन । हालको संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक विचारको सघनतालाई हेर्दा राजतन्त्रवादीका निम्ति यो भूतले खाजा खाने समय’ हुनुपर्ने हो । तर, अवस्था ठीक विपरीत छ । यो खालको असान्दर्भिक परिदृश्य देखिन थाल्नुका कारण एक नभएर अनेकौँ छन् । राजनीतिक विश्लेषक तथा बुद्धिजीवीहरूले ती कारणको मिहिन व्याख्या विश्लेषण गरिरहेकै होलान् । तर, ती विश्लेषक र बौद्धिकले खासै महत्व नदिएको, दिने सम्भावना पनि शून्यप्रायः भएको एउटा कारणबारे छोटो चर्चा गर्नु नै यो आलेखको मूल अभिप्राय हो । 

सरकार र ठूला दलको अकर्मण्यताले सिर्जना गरेको चरम दिक्दारीका कारण जनता वर्तमान व्यवस्थाकै खिलाफमा देखिन पुगेका छन् । सत्तासँगको उनीहरूको यो असन्तुष्टिलाई उनीहरू स्वतः राजतन्त्रको पक्षमा हुनु हो भन्न मिल्दैन । यो व्यवस्थाको विकल्प राजतन्त्र होइन पनि । अहिले हल हुन नसकेको एउटा मूल प्रश्न के हो भने आज सडकमा देखिएका यी जनतामा वर्तमान व्यवस्थाको विकल्प राजतन्त्र मात्रै देख्ने दृष्टिकोण निर्माण कसरी भयो ? कतिपय बुद्धिजीवीका अनुसार अगाडि अनकन्टार भीर देखेपछि पछाडि फर्कने विकल्प नै दिमागमा सबभन्दा पहिला आउँछ । अहिले देखिएको अनकन्टार भीरभन्दा पनि खतरनाक भीरहरू पार गरिएकै थियो, विगतमा । तर, त्यो विगतको स्मृति धुमिल हुँदै जाँदा अहिलेकै भीर अहिलेसम्मकै खतरनाक लाग्न थालेको छ । यसरी विगतबाट पाठ सिक्नुपर्ने वेलामा विगतमोह प्रगाढ देखिन थाल्नु झन् ठूलो समस्यामा जाकिनु हो । इतिहास अध्ययनको मूल उद्देश्य नै विगतका गल्ती नदोहोर्‍याउनु हुन्छ । 

राजा महेन्द्रले जनताको सोचलाई आफ्नो सोचसँग मिलाउन मूलतः दुई हतियारको प्रयोग गरे– शिक्षा र संस्कृति । माटोसुहाउँदो विचार निर्माण गर्ने नाममा सम्पूर्ण पाठ्यक्रमलाई राजा, राजतन्त्र, हिन्दू धर्म, नेपाली भाषा र पोसाक आदिप्रति सम्मान र प्रेमभाव जगाउने व्यूह बनाइयो । 

पञ्चायत, इतिहास र चेतना निर्माण : पञ्चायती व्यवस्थाका प्रारम्भकर्ता राजा महेन्द्र केही क्षेत्रमा दूरदर्शी देखिन्छन् । एक भाषा, एक भेषवाला राष्ट्रियताको प्रवद्र्धन गरेर मात्र पञ्चायतको उद्देश्य पूरा गर्न सकिने र पञ्चायतलाई दीर्घजीवी पनि बनाउन सकिने निष्कर्षमा पुगेका राजा महेन्द्रले जनताको चेतनालाई नै त्यही साँचोमा ढाल्नुपर्ने आवश्यकता महसुस गरे । जनताको चेतनालाई नै परिवर्तन गरी व्यवस्थासुहाउँदो साँचोमा ढाल्न नसके व्यवस्थामाथि नै खतरा आइपर्न सक्ने उनको ठम्याइ थियो । पञ्चायती व्यवस्थाकै साँचोमा ढालिएका चेतना बोकेका जनता अन्ततः व्यवस्थाकै पक्षमा लाग्छन् । किनकि, व्यवस्थाप्रतिको अभिमत चेतनाले निर्माण गर्छ भन्ने उनको स्पष्ट दृष्टिकोण देखिन्छ । 

चेतनालाई बेग्लै साँचोमा ढाल्न सजिलो हुँदैन । चेतनाले लामो विरासत बोकेको हुन्छ । यो ज्ञान भएका राजा महेन्द्रले जनताको सोचलाई आफ्नो सोचसँग मिलाउन मूलतः दुई हतियारको प्रयोग गरे– शिक्षा र संस्कृति । माटोसुहाउँदो विचार निर्माण गर्ने नाममा सम्पूर्ण पाठ्यक्रमलाई राजा, राजतन्त्र, हिन्दू धर्म, नेपाली भाषा र पोसाक आदिप्रति सम्मान र प्रेमभाव जगाउने व्यूह रचना गरियो । अझ समर्पण भाव नै जगाउन प्रयत्न गरियो । अर्थात्, सम्पूर्ण शिक्षालाई पञ्चायतीकरण गरियो । 

देशको इतिहासका पाठहरूमा शाह वंशीय राजालाई देवत्वकरण गर्दै राष्ट्रनिर्माता चित्रण गरियो । अन्य वंशका विभिन्न कालखण्डमा अस्तित्वमा रहेका राजालाई दानवीकरण गर्नुमा कुनै कसर छोडिएन । फलतः इतिहास शाह वंशको प्रशस्तिगानको ठेलीमा रूपान्तरित गरियो, जो आजपर्यन्त नेपाली मन मष्तिष्कमा घर गरेर बसेको छ । नेपाली विषयको नामै महेन्द्रमाला राखियो । कुनै कमजोरी नभएका, तिलस्मी, जनतालाई असीम माया मात्र गर्ने, यो देशका निर्माता र पालनहार केवल राजा हुन् भन्ने भाव पञ्चायती शिक्षाको मूल भाव थियो । गोर्खा राज्य विस्तारलाई अति गौरवीकरण गरेर राजा पृथ्वीनारायण शाहको देवत्वकरण गरियो । राजतन्त्रात्मक व्यवस्थाबाहेक अरू व्यवस्थाबारे सोच्नै नसक्ने गरी विद्यार्थीको चेतना निर्माण गर्न महेन्द्रमाला शिक्षा मूलभूत रूपमा सफल भयो । 

अर्कोतिर, राष्ट्रिय भाषा नेपाली, राष्ट्रिय पोसाक दौरा–सुरुवाल, राष्ट्रिय जनावर गाई, राष्ट्रिय चरा डाँफे भन्दै राष्ट्रिय हुन नसकेका भाषा, पोसाक, जनावर आदिलाई अराष्ट्रिय व्यवहार गर्न थालियो । परिणामस्वरूप राष्ट्रवादको नाममा खस नेपालीभाषी हिन्दू धर्मभीरु जनतामा आफूहरू मात्रै सच्चा नेपाली रहेको अनुभूति हुन पुग्यो । शिक्षाको माध्यम भाषा र सरकारी कामकाजको भाषासमेत अनिवार्य रूपमा नेपाली बनाइएपछि नेपाली भाषाइतर मातृभाषी समस्यामा पर्न थाले र तिनले बलजफ्ती नेपाली भाषाप्रति प्रेम जगाउनुपर्ने भयो । पञ्चायती परिभाषाको राष्ट्रवादी नबनी सामान्य जनजीवनसमेत असहज हुने भएपछि सबैले आफूलाई सोहीअनुरूप परिवर्तन गरे वा गर्ने कोसिस गरे । राज्यले बल प्रयोगबाटै जनताको जीवनशैली पञ्चायती बनाइदियो । 

यसरी शिक्षा र संस्कृतिलाई प्रयोग गरेर आममानिसको दृष्टिकोणलाई नै पञ्चायतीकरण गर्नमा महेन्द्र सफल देखिए । हजारौँ वर्षको विरासत बोकेका जनजातीय चेतनासमेत ३० वर्षे पञ्चायती भट्टीमा सग्लो रहन सकेनन्, फेरिए । राजसंस्थालाई राष्ट्रिय एकताको प्रतीक बनाइयो । 

बहुदलीय शासन व्यवस्थापछि : नेपालमा पञ्चायतविरोधी आन्दोलन पूर्ण रूपमा राजाविरोधी या राजतन्त्रविरोधी आन्दोलन बन्न सकेन । सांस्कृतिक रूपमा प्रायः नेतृत्व तह नै पञ्चायती भाष्यको वकालत गर्थे । राजनीतिक विचारमा मात्र पञ्चायतसँग उनीहरूको असहमति रह्यो (तिनीहरूबाट वेलावेलामा व्यक्त हुने संकीर्ण राष्ट्रवादी सोच त्यसकै परिणाम हो) । तिनै नेताको नेतृत्वमा बहुदलीय शासन व्यवस्था पुनस्र्थापित भएपछि शिक्षा र संस्कृतिमा आमसुधार सम्भव थिएन र भएन पनि । शिक्षामा झन्डै ०५५/५६ सालसम्म पञ्चायती कोर्समा अल्पविराम पनि परिवर्तन गरिएन । राष्ट्रिय एकताको प्रतीक, राष्ट्रिय चिह्न, राष्ट्रिय भाषालगायतका भाष्यलाई झन् उत्कर्षमा पुर्‍याइयो । अर्थात्, झन्डै एक दशकसम्म बहुदलीय शासन व्यवस्थामा पनि त्यही शिक्षाका माध्यमबाट पञ्चायती दृष्टिकोणको पृष्ठपोषण भइरह्यो । त्यसपछि पाठ्यपुस्तक थोरै परिवर्तन त गरिए, तर तिनको मूल आत्मामा उही राजतन्त्रात्मक भूत नै विराजमान छ । सांस्कृतिक भाष्य र क्रियाकलाप बदल्नुपर्ने कुनै जरुरत पनि भएन । राजसंस्था आफूले चाहेको बखत कार्यकारी बन्न सक्ने गरी संवैधानिक रूपमा कायम थियो । ‘हिन्दू अधिराज्य नेपाल’ले निरन्तरता पाएकै थियो । जनजातीय चेतना किनाराकृत नै थिए । आदिवासी जनजाति, दलित, मधेसी, महिलालगायतका मुद्दा बौद्धिक विलासका विषयसमेत बन्न भ्याएका थिएनन् । 

राजतन्त्रको आलोचनात्मक औपचारिक अध्ययनबाट वञ्चित लाखौँ नयाँ पुस्ता आज पनि राजतन्त्रलाई दोषमुक्त तिलस्मी शासन व्यवस्थाकै रूपमा देख्न विवश छ । नेपाललाई औपचारिक शिक्षाले अहिले पनि पृथ्वीनारायण शाहको एकल देनका रूपमा बुझ्न बाध्य बनाउँछ । 
 

गणतन्त्रपछि : राजतन्त्रमाथि अस्थायी मोहभंग भएको अवस्था थियो । ०६२/६३ को जनान्दोलनताका राजनीतिक नेतृत्वको मूल हिस्सा पनि राजतन्त्रप्रतिको मोहभंग भएकै स्थितिमा देखिन्थ्यो, अपवादलाई छाडेर । १० वर्षे जनयुद्धले पिँधमा पुर्‍याइएका जनताको चेतनालाई गणतान्त्रिक बनाउन अद्वितीय योगदान गरेकै हो । बहुदलीय कालखण्डमा पनि किनाराकृतको मुद्दालाई मूलधारको बहसमा स्थापित गर्न केही साना कम्युनिस्ट घटक संसद्भित्र प्रयत्नरत थिए, तर सफलता भने जनयुद्धपछि मात्रै प्राप्त भयो । आन्दोलन सफल भयो । देशमा गणतन्त्रको घोषणा गरियो । 

यति हुँदाहुँदै पनि महेन्द्रमा जत्तिको दूरदर्शिता पनि पछिका राजनीतिक नेतृत्वमा देखिएन । जनताको दृष्टिकोणलाई गणतान्त्रिक साँचोमा ढाल्नुपर्ने अति महत्वपूर्ण कार्यभारलाई यसरी बेवास्ता गरियो कि एक दशकभन्दा बढीको यो अवधिमा एकपटक पनि यो मुद्दा सुनिएको छैन । माथि नै भनिसकियो, व्यवस्थाअनुकूलको चेतना व्यवस्थाको हितका निम्ति अपरिहार्य हुन्छ । जबकि, गणतन्त्रमा पनि शिक्षाको नाममा विद्यार्थीलाई राजाको प्रशस्तिगान गाउन लगाइरहियो । कक्षाभित्र पस्नेबित्तिकै कक्षागत गीतका माध्यमबाट पञ्चायतको गन्ध ह्वास्सै आउने चेतनाको ग्लोरिफाई गर्नु आमविद्यार्थीको दैनिकी बनिरहेकै छ । पाठ्यक्रम परिवर्तन त गरिएको छ, तर पञ्चायती भाष्यको संस्कृति र राष्ट्रवादको मूल आत्मालाई सफलतापूर्वक नयाँ पाठ्यक्रममा प्रत्यारोपण गराइएको नांगो आँखाले नै देख्न सकिन्छ । यो गणतान्त्रिक कालखण्डमा समेत राजतन्त्रप्रति मोह जगाउने शिक्षाको निरन्तरता जारी छ । 

राजाले गर्ने गरेका सम्पूर्ण सांस्कृतिक कार्य जस्ताको तस्तै राष्ट्रपतिको बाहुलीबाट सम्पन्न गरिन्छ । पात्र फेरियो, प्रवृत्ति फेरिएको छैन । राष्ट्रपतिको सिंहासनमा सांस्कृतिक राजतन्त्र जीवित छ । कम्युनिस्ट राजनीतिको भट्टीबाट राष्ट्रपतिको कुर्सीमा पुग्नुभएकी सम्माननीय राष्ट्रपतिले भीमेश्वरको महाप्रसाद ग्रहण गर्दै गरेको भद्दा दृश्यले गणतन्त्रलाई कुरीकुरी गरेको दृश्य हाम्रा लागि गौरवबोध छ । राजतन्त्रात्मक संस्कृतिलाई एक इन्च फेरबदल नगर्नु गणतन्त्रको उपहास हो भन्ने चेत शासकलाई छैन । आजका शासक नयाँ राजा भएका छन् । महाराजा संस्कृति विस्तारित भएर गाउँगाउँमा पुगेको अवस्थामा राजतन्त्र पुनस्र्थापनाको आन्दोलनले सडक कब्जा अनौठो किन मान्नु ?

पञ्चायतकालमा महेन्द्रले आमजनतामा जस्तो चेतना निर्माणको सपना देखेका थिए, त्यो आज पूरा भएजस्तो देखिनु गणतन्त्रको दशकको सबभन्दा ठूलो असफलता हो । नयाँ पुस्ता पनि पुरानै चेतनाको साँचोमा ढल्न पुग्यो । गणतान्त्रिक चेतना निर्माणको आवश्यकता नै महसुस गरिएन । फलतः पुरानै साँचोमा नयाँ पुस्ताको चेतना अड्किन पुगेको छ । 

निष्कर्ष : राजतन्त्रको आलोचनात्मक औपचारिक अध्ययनबाट वञ्चित लाखौँ नयाँ पुस्ता आज पनि राजतन्त्रलाई दोषमुक्त तिलस्मी शासन व्यवस्थाकै रूपमा देख्न विवश छ । नेपाललाई औपचारिक शिक्षाले अहिले पनि पृथ्वीनारायण शाहको एकल देनका रूपमा बुझ्न बाध्य बनाउँछ । अनि शाह वंशप्रति हाल देखिएको रुझान अस्वाभाविक कसरी मान्न सकिन्छ ? राजतन्त्र तथा हिन्दू राज्यअनुकूल संस्कृतिको उदेकलाग्दो निरन्तरतामा आमजनताभित्र राजामोह जाग्नु कुनै गाह्रो नहुने नै भयो । आमचेतनालाई गणतान्त्रिक मूल्य मान्यताअनुकूलको बनाउन सिन्को नभाँच्ने अनि राजावादी बढे भनेर कोकोहोलो मच्चाउनु चाहिँ बाख्राको खोरको ढोका निर्माण नगरी स्याललाई सरापेर बस्नु जस्तै हो । 

राजतन्त्रात्मक चेतको यो जरालाई राम्रोसँग पहिचान गर्नसमेत गणतन्त्रका सूत्रधारलाई कठिन भइरहेको देख्दा सत्तासँगको बौद्धिक दरिद्रता छर्लंग भएको छ । वर्तमान सरकारको अकर्मण्य उल्टो यात्रालाई नियाल्दा राजतन्त्रात्मक चेत अझै बलियो हुने देखिन्छ । प्रज्ञा प्रतिष्ठानको उल्टो यात्रा कम पीडादायक छैन । वर्तमान सत्ताबल प्रयोग गरेरै भर्खर अंकुरण हुन खोज्दै गरेको गणतान्त्रिक चेतमा डोजर लगाएर त्यहीमाथि समृद्धिको जग बसाउने सपना देख्दै छ । यतिचाहिँ भनौँ, नवअंकुरित गणतान्त्रिक चेत त्यति कमजोरचाहिँ छैन ।