मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
महताब आलम
२०७७ मङ्सिर २३ मंगलबार ०६:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रौतहटको राजपुर बमकाण्ड : पूर्वमन्त्री अफताब आलमका  भाइ महताब पक्राउ

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर २३ मंगलबार ०६:००:००

संविधानसभा निर्वाचनअघि बम विस्फोटमा घाइते भएकालाई इँटाभट्टामा जिउँदैै जलाएकोसम्बन्धी मुद्दामा पूर्वमन्त्री मोहम्मद अफताब आलमका भाइ महताब आलम पक्राउ परेका छन् । 

उनलाई आइतबार राति रौतहटको मौदीमाई नगरपालिका–७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए । २७ चैत, ०६४ मा रौतहटको राजपुरमा भएको बम विस्फोटको घटनामा महताब फरारको सूचीमा थिए । घटनाका मुख्य योजनाकार मानिएका पूर्वमन्त्री एव कांग्रेस सांसद आलम पुर्पक्षका लागि नख्खु कारागारमा छन् । 

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २७ चैत ०६४ मा राजपुरस्थित शेख इद्रिसको गोठघरमा बम विस्फोट भएको थियो । स्थानीय बासिन्दाका अनुसार बम बनाउने क्रममा विस्फोट भएको थियो । विस्फोटमा घाइते भएकालाई इँटाभट्टामा हालेर जलाएको आरोप लागेको थियो । त्यसैमध्येका एक यमुनामाई गाउँपालिकाको सरुअठाका श्रीनारायण सिंहले आफ्ना छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई इँटाभट्टामा हालेर जलाएको भन्दै जाहेरी दिएका थिए । 

उनको जाहेरीको आधारमा प्रहरीले २६ असोज ०७६ मा तत्कालीन सांसद एवं पूर्वमन्त्री आलमलाई पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालतले २९ कात्तिकमा पुर्पक्षका लागि जेल चलान गरेको थियो । अहिले उनलाई रौतहट कारागारबाट काठमाडौंको नख्खु कारागार सारिएको छ । त्यही मुद्दामा उनका भाइ महताब पक्राउ परेका हुन् । 

राजपुर बमकाण्डमा संलग्न व्यक्तिहरूविरुद्ध १९ कात्तिकदेखि जिल्ला अदालत, रौतटहमा साक्षीको बकपत्र गराउन थालिएको थियो । अहिलेसम्म वादी र प्रतिवादी गरी १८ जनाको बकपत्र भएको छ भने २० जनाको बाँकी रहेको जिल्ला अदालतका श्रेस्तेदार सुशील यादवले बताए ।