Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : मध्यपहाडी लोकमार्ग बागलुङ घोडाबाँधे खण्ड । 
२०७७ मङ्सिर २२ सोमबार १६:४९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मध्यपहाडी लोकमार्गको बाग्लुङ–घोडाबाँधेखण्ड दैनिक ६ घन्टा बन्द हुने 

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर २२ सोमबार १६:४९:००

राष्ट्रिय गौरवको आयोजना  मध्यपहाडी पुष्पलाल लोकमार्गको बाग्लुङ–घोडाबाँधेखण्ड मंसिर २५ देखि दैनिक ६ घन्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाग्लुङमा बसेको सर्वपक्षीय भेलाले लोकमार्गको बाग्लुङ–घोडाबाँधेखण्डअन्तर्गत बाग्लुङ नगरपालिका– ३ बोक्सेखाल्टा र काठेखोला गाउँपालिका– १ खहरे क्षेत्रको पहरो कटान गर्न करिब तीन हप्ता (२५ मंसिर - १५ पुससम्म) दैनिक ६ घन्टा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेको हो ।

लोकमार्गको जिल्ला सदरमुकाम क्षेत्रमा रहेको २५ किलाेमिटर सडक कालेपत्रेका लागि ठेक्का सम्झौता भएको पाँच वर्षसम्म पनि सम्पन्न हुन सकेको थिएन ।

उक्त सडक निर्माणको काम यथाशीघ्र सम्पन्न गर्नका निम्ति आइतबार जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय भेला सम्पन्न भएको थियो । 

भेलापछि निर्माण कम्पनीले काम सुरु गर्ने भएपछि केही समयका लागि दैनिक ६ घन्टा सवारी सञ्चालन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालका अनुसार मंसिर २५ गतेदेखि पुस १५ गतेसम्म बिहान ७ देखि ९ बजेसम्म र दिनको ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर पहरो कटान गर्ने निर्णय भएको छ । 

बाग्लुङ बजार–अक्षेतेखण्ड सडक विस्तार तथा स्तरोन्नति गर्न दुई ठाउँमा पहरो कटान गर्नुपर्ने र सवारी सञ्चालन भइरहँदा काम गर्न कठिन भएको हुँदा सहजताका लागि सवारी सञ्चालन केही समय रोक्न आयोजना कार्यालयले प्रशासनलाई आग्रह गरे पनि उक्त निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए । 

लोकमार्गको विकल्पमा बाग्लुङ बजारदेखि मध्यपहाडी लोकमार्ग हुँदै पश्चिमतर्फ चल्ने साना सवारीसाधन बाग्लुङ बजार– गहँते हुँदै खहरे र खहरेदेखि पाला हुँदै अक्षेते सडकलाई प्रयोग गर्न सकिनेछ । वैकल्पिक सडक मार्ग सञ्चालन गर्न आयोजना कार्यालयले बाग्लुङ नगरपालिका र काठोखोला गाउँपालिकासँग समन्वय गर्नेछ । 

पहरो कटान गर्ने क्षेत्रको नजिकमा बाग्लुङ सदरमुकाममा वितरण भएको खानेपानीको पाइप रहेको हुँदा पानी वितरण सुचारु राख्न आयोजना कार्यालयले बाग्लुङ नगर खानेपानी उपभोक्ता समितिसँग समन्वय गर्ने निर्णय भएको पौड्यालले बताए । 

उक्त क्षेत्रमा सवारी प्रवेश बिन्दुहरू बाग्लुङ बजार, खहरे खोला र अक्षेते बजारमा सवारी प्रवेश निषेधको समय तालिकासहितको सूचना बोर्ड राख्ने र स्थानीय सुरक्षा निकाय, निर्माण व्यवसायी र स्थानीय तहको आपसी समन्वयमा सुरक्षा व्यवस्था मिलाउनेछन् ।

पटक–पटक निर्माणको म्याद थप गरे पनि अधुरै रहेको लोकमार्ग निर्माणको कार्य आगामी जेठसम्म सक्ने आइतबार निर्माण व्यवसायीले प्रतिबद्धता जाहेर गरेका छन् ।

उक्त सडक दुई निर्माण कम्पनी खहरे खण्ड सिद्धिशाही प्रकाश जेभी र बिहुँ खण्डकोे सडक एपी इलाइट सूर्य कन्स्ट्रक्सन जेभीले सडक निर्माणको जिम्मेवारी लिएका छन् । 

ट्रयाक खोलेको २० वर्ष बितिसक्दासमेत कालोपत्रे हुँन नसक्दा मध्यपहाडी लोकमार्ग बिजोक अवस्थामा पुग्दा यहाँका जनप्रतिनिधि, प्रशासन तथा नेताहरूले चर्काे आलोचनासमेत खेप्दै आएका छन् ।

लोकमार्ग कालोपत्रे हुन नसक्नुका विषयमा सर्वत्र चासो र चिन्ताको विषय बनेपछि लोकमार्ग आयोजनाले कालोपत्रे गर्नका लागि आवश्यक पहल थालेको हो । आइतबार निर्माण व्यवसायीको प्रत्येक्ष उपस्थितिमा भेलामा उपस्थितले प्रतिबद्धतासमेत गराएका छन् । 

निर्माण व्यवसायीले ०७८ जेठ महिनाभित्र सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । 

उनीहरूले आफ्ना समस्याजस्तै खानेपानीको पाइप, कच्चा पदार्थ उत्खननमा सहजता र सवारी आगमनमा रोकलगायतका कार्यमा सहजीकरण भएमा जेठभित्रै कालोपत्रे गर्ने बाग्लुङका जनप्रतिनिधि, राजनीतिक दल तथा सरोकारवाला निकायसँग प्रतिबद्धता जनाएका हुन् ।