मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/सिन्ह्वा
२०७७ मङ्सिर २२ सोमबार १४:०६:००
Read Time : > 1 मिनेट
विश्व

चिनियाँ खोप निर्माता सिनोभ्याक बायोटेकलाई ५० करोड डलर सरकारी अनुदान

Read Time : > 1 मिनेट
रासस/सिन्ह्वा
२०७७ मङ्सिर २२ सोमबार १४:०६:००

चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोना भाइरसविरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झन्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ । सरकारी विवरणअनुसार चीनले कोरोना भाइरसलाई नियन्त्रणमा लिइसकेको छ । हाल देशभर जम्मा दुई सय ८१ जना मात्र सक्रिय संक्रमित छन् । 

तर, चीनले खोप निर्माण गरी विश्वलाई नै सार्वजनिक वस्तुको रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । कोरोना भाइरस फैलाएको दोषबाट मुक्त हुन पनि चीनले खोपमा लगानी बढाएको विश्वास गरिएको छ । 

हङकङमा मेडिकल अनुसन्धान फर्मका रूपमा सूचीकृत सिनो बायोफर्मास्युटिकल लिमिटेडद्वारा सोमबार जारी विज्ञप्तिमा कोरोनाभ्याकको विकास र उत्पादनका लागि कम्पनीले ५१ करोड ५० लाख लगानी गर्ने घोषणा गरेको छ । सिनोभ्याकको यो सर्वाधिक उच्चस्तरको खोप हो । 

चीनकै अग्रणी खोप निर्माता सिनोभ्याकले कोरोनाभ्याकको विकास, क्षमता विस्तार र उत्पादनका लागि चीन सरकारबाट प्राप्त हुने रकम खर्च गरिने जनाएको छ । 
सिनोभ्याकले यसै वर्षको अन्त्यसम्ममा ६० करोड डोज कोरोनाभ्याक उत्पादन गर्न सक्षम हुने जनाएको छ । सम्झौताबमोजिम सिनो बायोफर्मास्युटिकलले सिनोभ्याकमा १५ प्रतिशत सेयर प्राप्त गर्नेछ । 

चिनियाँ खोपलाई व्यापक वितरणका लागि नियामक निकायबाट अनुमति प्राप्त गर्न बाँकी रहे पनि चीन सरकारले आपतकालीन प्रयोगका लागि यो खोपलाई स्वीकृति प्रदान गरिसकेको छ । जुलाई यता मात्र ठूलो संख्याका सरकारी कर्मचारीदेखि विदेशी विद्यार्थीले यो खोप लगाइसकेका छन् । 

कोरोनाभ्याक खोप ब्राजिलसमेतका धेरै देशमा परीक्षण भइरहेको छ । गत नोभेम्बरमा खोप दिएका एक व्यक्तिमा स्वास्थ्य समस्या उत्पन्न भएपछि केही कठिनाइ व्यहोरेको सिनोभ्याकले तेस्रो तथा अन्तिम चरणको खोप परीक्षण पुनः सुरु गरिसकेको छ । 

सिनोभ्याकका प्रमुख कार्यकारी यिन वाइदोङले एसिया र दक्षिण अमेरिकी मुलुकमा जारी क्लिनिकल परीक्षण अन्तिम चरणमा प्रवेश गरेको बताएका छन् । कम्पनीले यसअघि आफ्ना सबै कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूले खोप लगाइसकेको जनाएको थियो । 

चीनको अर्को भ्याक्सिन निर्माता सिनोफार्मले गत नोभेम्बरमा करिब १० लाख मानिसले खोप परीक्षणमा सहभागिता जनाएको बताएको थियो । 

गत साता खोप स्वीकृत गर्ने पश्चिमा मुलुकमा बेलायत पहिलो राष्ट्र भइसकेको छ ।