१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २२ सोमबार ०९:५३:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘वीररूपा’ नाटकमा महिला हिंसाको चित्रण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २२ सोमबार ०९:५३:००

महिला हिंसाविरुद्धको १६ दिने राष्ट्रिय अभियानको सिलसिलामा महिला, शान्ति र सुरक्षाका सवालमा केन्द्रित नाटक ‘वीररूपा’ भर्चुअल माध्यममार्फत देखाइएको छ । नेपालका ६५ भन्दा बढी जिल्ला र विदेशबाट चार सयभन्दा बढी दर्शकको प्रत्यक्ष सहभागिता थियो । फेसबुक लाइभमार्फत पनि हजारौँले नाटक हेरेको आयोजकले जनाएको छ । 

नाटकले समाजमा व्याप्त महिला हिंसाका घटनालाई विभिन्न चार पात्रको जीवन भोगाइमार्फत प्रस्तुत गरेको छ । नाटकमा महिला हिंसा अन्त्य गर्न तथा लैंगिक समानता कायम गर्न नीतिगत सुधार भए पनि कार्यान्वयनको पक्ष कमजोर रहेको यथार्थता प्रस्तुत गरिएको छ । नाटक निर्देशक राजन खतिवडाले नाटक महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा सरोकारवालालाई थप संवेदनशील बनाउने र यसैका माध्यमबाट महिला अधिकारको वकालत गर्ने उद्देश्यबाट प्रेरित भएको जानकारी दिए ।

नाटकमा मण्डला थिएटरका १२ जना कलाकारको अभिनय थियो । अनलाइनमार्फत प्रदर्शन गरिएको नाटक हेरिसकेपछि प्रतिनिधिसभा सदस्य गगन थापाले नाटक यथार्थ घटनामा आधारित भएको धारणा राखे । लैंगिक समानताका लागि पछिल्लो समय केही आशालाग्दा प्रयास सुरु भएको उल्लेख गर्दै नेता थापाले यस्ता कार्यक्रम नीति निर्मातालाई खबरदारीका लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।

नाटकमा रक्षा एक बाबुविहीन छोरीको भूमिकामा छिन् । उनी विभिन्न कार्यालयमा कामको सिलसिलामा पुग्छिन्, तर सेवा भने सहज रूपमा प्राप्त गर्न सक्दिनन् । नेपालको संविधानले आमाको नामबाट कानुनी कागजातलगायत महिला अधिकारसँग सम्बन्धित कैयौँ सवालको संवैधानिक ग्यारेन्टी गरे पनि व्यवहारतः यसको कार्यान्वयन फितलो रहेको यथार्थता यो पात्रले प्रस्तुत गरेको छ ।

रक्षाको जस्तै कथा छ रूपाको पनि । उनका बाबुआमा छैनन् । उनी हजुरआमाको संरक्षणमा हुर्किरहेकी छिन् । बाबुको खोजी गर्ने उनको अठोट निराशामा परिणत भएपछि अब आफैँ सक्षम बनी समाज सुधारको अभियानमा लाग्ने अठोट गर्छिन् । यो पात्रले महिला आफैँ सशक्त भए मात्रै महिला अधिकारका सवालमा गुणत्मक फड्को मार्न सकिने यथार्थता प्रस्तुत गरेको छ । 

महिलामाथि कार्यस्थलमा हुने हिंसा पनि उत्तिकै संवेदनशील विषय हो । हत्तपत्त बाहिर नआउने यस्ता अपराध भित्रभित्रै व्याप्त भएको हुन सक्ने विश्लेषण गरिन्छ । नाटकमा आशा नामकी पात्रले यही यथार्थता देखाएकी छिन् । नाटकमा आशा जागिरको सिलसिलामा विभिन्न कार्यालयमा गएको, तर प्रत्येक कार्यालयमा हिंसाको सामना गर्न बाध्य पारिएपछि आफैँ समाज सुधारको अभियानमा होमिने अठोट गरेको सन्दर्भलाई जोडिएको छ । 

त्यसैगरी, नाटकमा विजया नामक पात्रको कथाले पनि हाम्रै समाजको यथार्थता बोकेको छ । उनी श्रीमान्सँगको सल्लाह र समझदारीमै जागिरमा जान्छिन् । बिस्तारै उनीमाथि श्रीमान् र समाजले शंका गर्न थालेपछि सुरु भएको मनमुटाव उत्कर्षमा पुग्छ र श्रीमान्ले आवेगमा श्रीमतीमाथि तेजाव आक्रमण गर्छन् ।