मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टेकराज थामी काठमाडौं
२०७७ मङ्सिर २० शनिबार १८:००:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झ्यालढोका बन्द गरेर कोठा न्यानो बनाउँदा बर्सेनि दोहोरिन्छन् मृत्युका घटना

जनस्वास्थ्यविद् भन्छन्– आधुनिक घर बनाउने इन्जिनियरिङ नै गलत छ

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ मङ्सिर २० शनिबार १८:००:००

सुत्केरी श्रीमती र महिनादिनकी छोरीलाई न्यानो बनाउन काठमाडौं गोकर्णेश्वर–२ नयाँपाटी बस्दै आएका ३२ वर्षीय डोचे शेर्पाले बुधबार साँझ कोठाबाहिरै मकल बाले । धुवाँ कम भएपछि मकल कोठामै लगे । २७ वर्षीया श्रीमती तेन्जी शेर्पासँगै मिलेर छोरीलाई सेकाए । अझै न्यानो भएको महसुस नभएपछि कोठाको झ्याल ढोका बन्द गरे । विद्युतीय हिटर झिके र फुल अब्सनमा बालेर छाडे । कोठा तात्तिँदै गयो । दुवैले सँगै साँझको खाना खाए । एकछिन छोरीसँग खेले । ओछ्यान लगाए । हिटर र मकलको न्यानोसँगै दुवै मस्तसँग निदाए ।

नयाँपाटीस्थित कुवेर पण्डितको घर डेरामा लिई बस्दै आएका शेर्पा सोही घरमा किराना पसल चलाउँछन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका–८ का शेर्पा बिहान सबेरै उठ्थे, सटर खोल्थे र बिहानको व्यापारमा खटिन्थे । तर, बिहीबार बिहान अबेरसम्म उनको सटर खुलेन । टोलमा सोधीखोजी हुनथाल्यो । सोहीक्रममा घरबेटी पण्डित उनको कोठामा पुगे । ढोका खोल्न भित्रतर्फ धकेले । चुक्कुल लगाइएको ढोका खुलेन । ढकढक गरे तर पनि खुलेन । नाम काढेर ठूलो स्वरले बोलाए । नखुलेपछि पण्डितको मनमा चिसो पस्यो । छरछिमेकी डाके । सबैको उपस्थितिमा ढोका फोडे । डोचे, तेन्जी र उनीहरूकी छोरी खाटमा अचेत थिए । आत्तिएका पण्डितले तत्काल प्रहरीलाई खबर गरे । प्रहरीले तीनैजनालाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लग्यो । तर, तेन्जी र उनीकी एकमहिने छोरीलाई बचाउन सकिएन । डोचेको भने उपचारपछि होस खुल्यो ।

‘प्रहरी टोली घटनास्थल पुग्दा तीनजना बेडमा अचेत थिए । आमा र छोरीको ज्यान गइसकेको थियो । डोचे भने अचेत भेटिए । उनलाई अस्पताल पु¥यायौँ,’ महानगरीय प्रहरी वृत्त, बौद्धका डिएसपी नवीन कार्कीले भने, ‘घटनास्थल अध्ययन गर्दा विद्युतीय हिटर र मकल बालेको देखिन्छ । कोठा सानो छ । तर, पूरै बन्द छ । त्यसैले, निस्सासिएर घटना भएजस्तो देखिन्छ ।’

शरीर न्यानो बनाउँदा गत वर्ष जसले ज्यान गुमाए
काठमाडौं कीर्तिपुर–८ सुन्दरबस्ती डेरा गरी बस्ने धादिङ नौबिसे–९ रूपाकोटका ४५ वर्षीय नवराज रञ्जितकारले ३० मंसिर ०७६ मा दुई महिनाकी सुत्केरी श्रीमतीलाई न्यानो बनाउन कोठाभित्र कोइला बाले । बाहिरबाट चिसो नआओस् भनेर झ्यालढोका पनि थुने । त्यसपछि श्रीमान–श्रीमती दुवै मिलेर काखे बालकलाई सेकाए । कोइलाको राप ननिभ्दै खाना खाए र सुते । कोइलाको न्यानोले छिट्टै निदाएका नवराज एकैचोटि भोलिपल्ट बिहान मात्रै ब्युँझे । ब्युँझिँदा उनको टाउको दुखिरहेको थियो । आँखा पनि धमिलो–धमिलो भएको थियो । सकिनसकी उठे । श्रीमती शर्मिलालाई पनि उठाउन खोजे । तर, उनी उठिनन् । छोरा रमेशलाई पनि झकझक्याए, उनी पनि चलमलाएनन् । अघिल्लो रात बालेर छाडेको कोइलाका कारण कोठामा अक्सिजन कमी भएर दुवै आमाछोराको मृत्यु भइसकेको थियो ।

ललितपुर सातदोबाटोस्थित सुरिवा गल्र्स होस्टेलमा बस्ने पर्सा जगन्नाथपुर–४ की १९ वर्षीया जेनेथ चौहान नुहाउन १९ पुस ०७६ मा बाथरुम छिरिन् । तातोपानीका लागि ग्यास–गिजर अन गरिन् । बाथरुमको झ्याल, ढोका बन्द गरिन् । तातोपानीले बाथटब भरिन् र त्यही पानीमा नुहाउन थालिन् । ११ बजे बाथरुम छिरेकी उनी निकैबेरसम्म बाहिर ननिस्केपछि खोजी भयो । होस्टेल वार्डेनसहित उनका सहपाठी बाथरुमको ढोका ढकढक्याउन थाले । तर, खुल्दै खुलेन । अन्ततः बाथरुमको झ्याल फोडियो । उनी बाथरुमभित्र लडिरहेकी थिइन् । उपचारका लागि तत्काल अस्पताल पु¥याइयो । तर, बचाउन सकिएन ।

०७६ पुस दोस्रो साता भक्तपुर दधिकोटकी ६७ वर्षीया रेणुकाकुमारी बाँस्तोला जाडो भगाउन कोठामा आगो ताप्दै थिइन् । सोहीक्रममा उनको फरियामा आगो सल्कियो । निभाउन खोज्दा झनै दन्कियो । नजिकै रहेका ३५ वर्षीय छोरा राजेन्द्रले हातको पन्जाले आगो निभाउन खोजे । बल्लतल्ल आगो नियन्त्रणमा आयो । त्यतिवेलासम्म रेणुको आधा शरीर जलिसकेको थियो । कीर्तिपुरस्थित अस्पतालमा उपचारपछि रेणुको ज्यान मुस्किलले बच्यो ।

आठ भारतीय पर्यटकको एकै चिहान
७ माघ ०७६ मा शरीर न्यानो बनाउन खोज्दा आठजना भारतीय पर्यटकको एकै चिहान भयो । भारत केरलाबाट नेपाल भ्रमणमा आएका उनीहरू मकवानपुर दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बास बसेका थिए । अत्यधिक जाडो भएपछि उनीहरूले कोठा न्यानो बनाउन रिसोर्टका कर्मचारीसँग आग्रह गरे । कर्मचारीले कोठामा हिटर बाले । र, झ्याल, ढोका बन्द गरेर गए । तर, सोही हिटर आठजना भारतीय पर्यटकका लागि ज्यान गुमाउने कारण बनिदियो ।

१५ जनाको समूहमा आएकामध्ये ३९ वर्षीय प्रवीणकृष्ण नायर, उनकी ३४ वर्षीया श्रीमती सरजया, छोरीहरू ६ वर्षीया अर्चा र चार वर्षीया भद्र तथा छोरा अभिनव, ३९ वर्षीय रञ्जित कुमार, उनकी ३१ वर्षीया श्रीमती इन्दु र दुई वर्षीय छोरा वैस्नभको सुतेकै कोठामा मृत्यु भएको थियो ।

बर्सेनि दोहोरिन्छन् घटना
प्रहरीका अनुसार प्रत्येक वर्ष जाडोयाममा शरीर न्यानो बनाउने क्रममा सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन् । प्रहरीको तथ्यांक केलाउँदा यस्ता घटना काठमाडौं उपत्यकाभित्र मात्रै कम्तीमा तीनवटा हुने र त्यसमा परी पाँचजनाभन्दा बढीले ज्यान गुमाउने गरेको देखिन्छ ।

न्यानोको उचित व्यवस्थापन नहुँदा अनाहकमा ज्यान गुमाउनुपरेका धेरै उदाहरण रहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौर बताउँछन् । ‘सबैले जाडोमा न्यानो खोज्छन् । तर, त्यही न्यानोका कारण हरेक जाडोयाममा कसै न कसैले ज्यान गुमाउने गरेका छन्,’ एसपी राठौर भन्छन्, ‘यस्ता घटनाबाट जोगिन सकिन्छ । त्यसका लागि कोठामा हिटर वा मकल बालेर छाड्नुभएन । न्यानो भएपछि यस्ता उपकरण बन्द गर्नुपर्छ । र, उपकरण बालेपछि कोठा पूर्ण रूपमा बन्द गर्नुभएन । भेन्टिलेसन ठीक भए–नभएको जाँच गर्नुपर्छ । आगो बालेर सुत्दा पहिलो त आगलागी हुने सम्भावना रहन्छ । अर्को निस्सासिएर मृत्यु हुने जोखिम पनि उत्तिकै हुन्छ ।’

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्– ‘आधुनिक घर बनाउने इन्जिनियरिङमै त्रुटि’
 
शरीर न्यानो बनाउने क्रममा जलेर र निस्सारिए मृत्यु हुने संख्या हरेक वर्ष दुई सयभन्दा बढी हुन्छ । तीमध्ये अधिकांश घटनाको जानकारी प्रहरी कार्यालयसम्म पुग्दैन । सहरी क्षेत्रका घटना मात्र प्रहरीमा पुग्ने हुन् । यस्ता घटना हरेक जाडोयाममा दोहोरिनुका केही खास कारण छन् ।

तीमध्ये पहिलो हो, आधुनिक घर निर्माणमा गलत इन्जिनियरिङ । गाउँघरका पुराना घरका चारैतिर टुँडाल हुन्थे, जसलाई ‘पिजन होल’ पनि भनिन्छ । त्यहाँबाट सजिलै हावा आउजाउ हुन्थ्यो । त्यसैले रातभर आगो बाल्दा पनि मान्छेलाई केही हुँदैनथ्यो । तर, आधुनिक घरमा त्यस्ता ‘होल’ कतै हुँदैन । त्यसैले हावा आउजाउ हुनै पाउँदैन । त्यसैले आगो वा हिटर बाल्दा कोठाको अक्सिजन चाँडै सकिन्छ । कोठामा कार्बनमोनो–अक्साइडको मात्रा ज्यादा हुन्छ । र, कोठाभित्र भएका मानिस बेहोस हुन्छन् । त्यसैले घर बनाउने त्रुटिपूर्ण इन्जिनियरङिलाई सच्याउन सरकारले नयाँ मापदण्ड ल्याउनु आवश्यक छ ।

दोस्रो हो, सचेतनाको कमी । हरेक वर्ष जाडोयाममा निस्सासिएर नागरिकको मृत्यु भइरहेको छ । तर, सचेतनाका लागि न गृह मन्त्रालयले कुनै कार्यक्रम गरेको देखिन्छ, न त स्वास्थ मन्त्रालयले नै । घटना हरेक वर्ष दोहोरिने भएकाले रेडियो, टेलिभिजन, पत्रिपत्रिका र अनलाइन मात्र नभई विद्यालय र समुदायस्तरमा समेत सचेतनाका कार्यक्रम पु¥याउनुपर्छ । तर, यस्ता कार्यक्रम हुन नसक्नु दुःखद पक्ष हो ।