मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७७ मङ्सिर २० शनिबार १२:३३:००
Read Time : > 3 मिनेट
फिचर

दाम्पत्यजीवनमाथि बज्रिएको कोरोना महामारी

Read Time : > 3 मिनेट
एजेन्सी
२०७७ मङ्सिर २० शनिबार १२:३३:००

कोरोना– १९ महामारीले लाखौँ व्यक्तिको ज्यान लिनुको साथै वर्षौँदेखि चल्दै आएका कैयौँ सुमधुर दाम्पत्यजीवन पनि टुक्र्याएको छ । कोरोना फैलिएलगत्तै जारी लकडाउनले दक्षिणदेखि पश्चिम अफ्रिकासम्मका कैयांँ दाम्पत्यजीवन टुंगिएका छन् । 

लकडाउनका वेला सबैजना घरभित्र नै बस्न बाध्य भए । २४सै घन्टा श्रीमान्–श्रीमती सँगै रहँदा गोप्य विषय सार्वजनिक भए । जसले खुसीयाली सम्बन्ध क्रमशः विभाजित हुन थाले । सुखी दाम्पत्यजीवन अन्त्य हुनुमा कोरोना महामारी दोषी साबित भयो । तर, कतिपयले यसलाई पुरानै रोग भन्न रुचाउँछन् । 

पश्चिम अफ्रिकाकी रेनीले लकडाउनकै समयमा श्रीमान्को गोप्य सम्बन्ध रहेको थाहा पाइन् । रेनीका श्रीमान्ले केही वर्षयता अर्र्कै युवतीसँग सम्बन्ध बनाएका रहेछन् । एक दिन रेनीले श्रीमान्को मोबाइल चलाउने क्रममा नाइजेरिया बस्ने एक महिलासँग चक्कर रहेको थाहा पाइन् । ‘लकडाउनको क्रममा मैले थाहा पाएँ कि मेरो श्रीमान्को प्रेमिका छ,’ रेनीले भनिन्, ‘नाइजेरियाको नम्बरबाट फोन आउने रहेछ ।’ हरेक दिन नाइजेरियाबाट फोन आउँदा घरमा ठूलै ताण्डव मच्चिने र रेनी र श्रीमान्बीच चर्को विवाद हुन थाल्यो । ‘मैले श्रीमान्सँग उनको बारेमा सोधेकी थिएँ,’ उनी भन्छिन्, ‘तर, प्रेमिकाको बारेमा केही पनि बताएनन् ।’ रेनीका श्रीमान्ले उल्टै नाइजेरिया जाने धम्की दिइरहे । त्यसपछि उनले रेनीसँग सम्बन्धविच्छेदको कुरा गर्न थाले । ‘अहिले केवल डिभोर्सको कुरा मात्रै हुन्छ, यसबाहेक अरू केही हुँदैन,’ निराश हुँदै रेनी भन्छिन्, ‘अब म श्रीमान्लाई अनुहारसमेत देखाउन चाहन्न ।’ एउटा फोन नम्बरले वर्षौँदेखिको सम्बन्ध टुटेको रेनीले बताइन् ।

‘यदि लकडाउन वा कोभिड– १९ नआएको भए, श्रीमान्सँगको सम्बन्ध राम्रो नै हुने थियो,’ उनले भनिन्, ‘लकडाउनले सबै खुलासा भयो, यसले एकातिर सम्बन्ध बिग्रियो, तर अर्कोतर्फ अँध्यारोबाट बाहिर आउने अवसर पनि दियो ।’ उनी भन्छिन्, ‘अब डिभोर्सबाहेक अरू विकल्प नै छैन ।’ लकडाउनले विवाहको सत्यतामाथिको पर्दा हटेको रेनी ठान्छिन् । सम्बन्ध सुधार्न वा डिभोर्स लिन अभिभावकलाई बोलाउने उनले बताइन् । त्यसपछि मात्र अन्तिम निर्णय हुनेछ । एउटा समस्या छ । रेनीका अभिभावक इसाई हुन् । इसाई धर्ममा सम्बन्धविच्छेद वा छुट्टिएर बसेको विश्वास नगर्ने रेनीले बताइन् । ‘मेरा आमाबुबा सम्बन्धविच्छेद वा छुट्टिएर बसेकोमा विश्वास गर्नुहुन्न, उहाँहरू मलाई श्रीमान्ले जे गरे पनि उसैसँग बस्न सल्लाह दिनहुन्छ,’ रेनीले समस्या राखिन्, ‘हो, म श्रीमान्लाई असाध्यै माया गर्छु, तर अर्कीसँग लागेपछि म के गरूँ ?’ 

लकडाउनमा परामर्श बढ्यो
लकडाउनको समयमा धेरै जोडी आफ्नो दाम्पत्य सम्बन्ध सुधार गर्न विशेषज्ञहरूको शरणमा गएको उदाहरण छन् । कतिपय जोडीले विज्ञसँगको परामर्शपछि सम्बन्ध सुधारेका छन् । कोही विज्ञसँग ‘कन्भिन्स’ नहुँदा सम्बन्धबाट टाढिएका छन् ।

विवाह र परिवार परामर्शदाताको अन्तर्राष्ट्रिय संघका अध्यक्ष डा. रेबेका पेन्डर बाउमका अनुसार लकडाउनको थालनीदेखि परिवर्तनको महसुस भएको छ । धेरै दम्पतीको सम्बन्धमा परिवर्तन आएको उनी बताउँछन् । यस्तै फ्लोरिडाका मनोचिकित्सक डा. मार्नी फेउर्मन लकडाउनको समयमा घरभित्रका श्रम विभाजन हुँदा पनि सम्बन्ध बिग्रन पुगेको मान्छिन् । ‘लकडाउनको पहिलो केही सातामै धेरै दम्पती आत्तिए, लामो समयपछि घरमा २४सै घन्टा एक स्थानमा बस्दा उनीहरूले दिक्क माने,’ मनोचिकित्सक डा. मार्नी भन्छिन्, ‘मैले सुनेको विवादको सबैभन्दा धेरै विषय घरमा श्रमको विभाजन प्रमुख कारण हो ।’ लकडाउनको समयमा बेरोजगारको तनाव र बालबच्चा पनि हेर्नुपर्दा जोडीबीच झगडा हुने गरेको मार्नीले बताइन् । ‘मानिसहरू काम गर्न खोजिरहेका छन् र बच्चाको पनि हेरचाह गर्छन्, यो दुई पक्ष ब्यालेन्स राख्न नसक्दा सम्बन्ध चिसिन पुगेकोजस्तो लाग्छ,’ उनी भन्छिन् । 

मास्क लगाउन नमान्दा १२ वर्षको सम्बन्धविच्छेद
दक्षिण ब्राजिलको फ्लोरियानामा बस्ने ४१ वर्षीय रिचार्ड र ३१ वर्षीया राफेला कारोलिनाले यसै महिना डिभोर्स लिएका छन् । दुवैले ‘लकडाउन उत्पे्ररक’ भन्दै एक–आपसमा डिभोर्स लिएका हुन् । उनीहरूले १२ वर्षको सुन्दर वैवाहिक जीवन लकडाउनकै समयमा तोड्दा दुःख मानेनन् । ‘हामीले १२ वर्ष अन्यन्तै सुन्दर रूपमा बिताएका थियौँ, जीवनका हरेक पल सँगै बिताएको याद आउनेछ,’ सामाजिक कार्यमा अग्रसर रहने राफेलाले भनिन्, ‘तर, महामारीले केही गर्न सकेन ।’ लकडाउनका वेला २४सै घन्टा दुई सन्तानलाई एक्लैले समय दिँदा दिक्क लागेको उनले बताइन् । कहिलेकाहीँ श्रीमान् रिचार्डसँग बच्चाका लागि समय माग्दासमेत नदिने गरेको उनको भनाइ छ । 

‘लकडाउनको समयमा सही कुरा र नराम्रो कुराबीच नै बढी विवाद भयो, समय–परिस्थितिअनुसार हामीले एक–आपसमा परिवर्तन गर्न सकेनौँ,’ राफेला भन्छिन् । सम्बन्धविच्छेद हुनुको पछाडि एउटा सामान्य कारण थियो । रिचार्ड कामबाट फर्केर आउँदा लुगा त्यत्तिकै फ्याँक्ने, सावर नलिने र मास्क पनि परिवर्तन नगर्ने रहेछन् । राफेला रिचार्डले कोभिड– १९ बाट सुरक्षित रहन मास्क अनिवार्य लगाउन, लुगा परिवर्तन गर्न तथा सावर लिन सुझाब दिइरहेकी हुन्थिन् । तर, रिचार्डले नसुनेभैmँ गर्थे । यही कुरा मान्न तयार नभएपछि राफेलाले १२ वर्षको सम्बन्ध एकछिनमै तोडिन् । 

४३ प्रतिशत जोडी नजिक
गत अप्रिलमा बेलायतको एक संस्थाले वैवाहिक सम्बन्धका विषयमा गरेको सर्वेक्षणको तथ्यांक सार्वजनिक गरेको छ । रिपोर्टअनुसार लकडाउनमा वैवाहिक जोडी र प्रेमिकाबीचको सम्बन्ध सुधार नभएको उल्लेख छ । लकडाउनको तीन महिनाको अवधिमा उनीहरूले एक–आपसमा ठूलो दबाब महसुस गरेको उल्लेख छ । अझ पुरुषको तुलनामा महिलाले बढी चासो राखेको देखिएको छ । ‘लकडाउनको समयमा महिलाले पुरुषमाथि रिपोर्टिङ र शंका गर्ने बढी नै देखियो,’ बेलायती संस्था च्यारिटीको रिपोर्टमा भनिएको छ, ‘लकडाउनले सम्बन्ध विस्तार वा ब्रेक गर्ने भन्ने देखिएको छ ।’ 

अर्को रिपोर्टमा जुलाई महिनासम्म आठ प्रतिशत जोडीले सम्बन्धविच्छेद गरेका थिए । त्यति नै वेला ४३ प्रतिशत जोडीले लकडाउनको समयमा नजिक हुने अवसर पाएको उल्लेख गरेका छन् । बेलायतकी मनोचिकित्सक डा. फेम्यानले लकडाउन अवधिमा अचम्मले वर्षाँैदेखिको गहिरो सम्बन्ध पनि टुटेको बताइन् । ‘महामारीले सबैका लागि तनाव उत्पन्न गरेको छ,’ डा. फेम्यानले भनिन्, ‘तर कैयौँ दम्पती पहिले–पहिले भन्दा अझै बलियो पनि भएका छन्, उनीहरूलाई नै थाहा थियो तनावको समयमा कसरी स्रोतको रूपमा प्रयोग गर्ने ।’ 

एसियामा पनि प्रभाव
लकडाउनमा बेलायत र अमेरिकामा सम्बन्धविच्छेद गर्न वकिलहरूले धेरै रिपोर्ट गरेका छन् । सन् २०१८ को तुलनामा यो वर्ष डिभोर्स लिनेको संख्या ७० प्रतिशतले वृद्धि भएको छ । कोरोना भाइरस फैलिरहँदा ल्याटिन अमेरिका र अफ्रिकामा मात्र होइन, एसियाकै विकसित राष्ट्रसमेत नराम्रोसँग प्रभावित भएका छन् । लकडाउनको पहिलो चरणमा त्यस्ता एसियन राष्ट्रमा सम्बन्धविच्छेदका धेरै केस दर्ता भएको एजेन्सीहरूले जनाएका छन् । साउदी अरेबिया, इन्डोनेसिया, दक्षिण कोरिया तथा चीनका विभिन्न सहरमा सम्बन्धविच्छेदका कैयौँ मुद्दा दर्ता भएका छन् ।

भर्जिनिया विश्वविद्यालयका सामाजिक शास्त्रका प्राध्यापक ब्राड सिल्कोक्सले विश्वव्यापी रूपमै सम्बन्धविच्छेद लहर चलेको बताएका छन् । ‘हामीसँग प्राप्त डाटाअनुसार अमेरिकाका पाँच सहरमा यसको प्रभाव धेरै देखियो, यसैगरी एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका केही सहर पनि प्रभावित भएका छन्,’ प्राध्यापक ब्राडले भने, ‘लकडाउनमा आधिकारिक रूपमै डिभोर्स लिएका जोडीको जीवन पछि राम्रो पनि भएको पाएँ, कोहीको झनै नराम्रो भएको सुनेँ ।’ प्राध्यापक ब्राड सन् २०२१ मा यस किसिमको समस्या नआउने ठान्छन् । ‘अर्को वर्षसम्म कोरोनाको भ्याक्सिन सबैले प्राप्त गर्नेछन्, त्यसवेला अहिलेको जस्तो सम्बन्धविच्छेदको समस्या नआउन सक्छ, सबै नर्मल जीवनमा फर्कनेछन्,’ उनले भने ।