Skip This
Skip This

अन्योलमा लगानीकर्ता नेप्से करिब स्थिर 

२०७५ माघ २५ शुक्रबार १०:५०:००

साताको अन्तिम कारोबार दिन नेप्से परिसूक करिब स्थिर देखिएको छ । बजार लामो समयदेखि सुस्त गतिमा रहेका कारण लगानीकर्ताहरू अन्योलमा परेका छन् । पुँजीबजार सुधार तथा विस्तारका कार्यक्रमहरू भइरहँदा पनि बजार बढ्न नसकेकाले लगानीकर्ताहरू अन्योलमा परेका हुन् । यस दिन नेप्सेमा उतारचढाव भए पनि अन्तिम समयमा सुरुवातकै बिन्दुनजिक बन्द भएको छ । बजार सुस्त हुनुको मुख्य कारण बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर रहेको एक ब्रोकरले बताए । कम्पनीहरूले प्रकाशित गरिरहेको नाफामूलक वित्तीय विवरणले यस दिनको बजार प्रभावित भएको छ । नाफामा उल्लेख्य सुधार भएका कम्पनीहरूतर्फ लगानीकर्ताहरू आकर्षित भइरहेका छन् । यद्यपि ब्याजदरका कारण सबै ओझेलमा परेको एक लगानीकर्ताले बताए ।
  बजार सारांश
बिहीबार नेप्से परिसूचक शून्य दशमलव १५ अंक घटेर १ हजार १ सय ३९ दशमलव ५७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ११ अंक बढेर २ सय ४२ दशमलव ६१ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव शून्य ५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ८ अंक बढेको छ । यस दिन १ सय ६४ कम्पनीको ६ हजार ३ सय १२ पटकको कारोबारमा २५ करोड ७६ लाख ४१ हजार ६ सय ४२ रुपैयाँबराबरको ८ लाख ८२ हजार ३ सय ७ कित्ता सेयर खरिदबिक्री भएको छ । 

 प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषणः साताको अन्तिम कारोबार दिन नेप्से ‘डोजी’ मैनबत्ती बनेको छ । यसले लगानीकर्ताहरू अन्योलमा रहेको संकेत गर्दछ ।  आरएसआईः नेप्सेको १४ दिने आरएसआई अघिल्लो कारोबार दिनको तुलनामा घटेर ३२ दशमलव ५४ स्केलमा पुगेको छ । बजार घटे पनि आरएसआई न्युट्रल जोनमा रहनुले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ७७ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्दछ । यस दिन कारोबारमा आएका १ सय ६४ कम्पनीमध्ये ५५ कम्पनीको सेयरमूल्य बढेको छ भने ७१ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३८ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिनको पिभट विश्लेषण गर्दा, आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार १ सय ३७ दशमलव ४२ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ३५ दशमलव २८ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, आइतबार बजार उकालो लागे नेप्सेले १ हजार १ सय ४१ दशमलव ४२ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ४३ दशमलव २८ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

 नेपाल इन्स्योरेन्स र सोल्टीको २ करोडभन्दा बढीको कारोबार
बिहीबार कारोबार रकमका आधारमा नेपाल इन्स्योरेन्स कम्पनी र सोल्टी होटेल अगाडि रहेको छ । यी दुवै कम्पनीको यस दिन २ करोड रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । सेयर संख्याका आधारमा यस दिन सोल्टी होटेल अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा सामुदायिक लघुवित्त वित्तीय संस्था अगाडि रहेको छ । सोल्टीको यस दिन १ लाख कित्ता सेयर किनबेच भएको छ भने सामुदायिकको १ हजार ८ सय २५ पटक सेयर कारोबार भएको छ । 
 सामुदायिकका लगानीकर्ताले करिब ९ प्रतिशत कमाए 
बजार सामान्य ओरालो लागे पनि यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले ८ दशलमव ८१ प्रतिशत कमाएका छन् । सो कम्पनीको सेयरमूल्य यस दिन ६९ रुपैयाँ बढेर ८ सय ५२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य यस दिन ८ दशमलव ६३ प्रतिशत घटेको छ । सो जलविद्युत् कम्पनीको सेयरमूल्य यस दिन १९ रुपैयाँ घटेर २ सय १ मा अन्तिम कारोबार भएको छ । 
 ६ समूहको घट्यो, ४ समूहको बढ्यो
यस दिन कारोबारमा आएका १० समूहमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी ४ समूहको परिसूचक बढेको छ । यस दिन वाणिज्य बैंक समूहको परिसूचक शून्य दशमलव २३ प्रतिशत, होटेल समूहको शून्य दशमलव १५ प्रतिशत, वित्त समूहको शून्य दशमलव १३ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव शून्य ६ प्रतिशत बढेको छ । जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ७४ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ४१ प्रतिशत, अन्य समूहको शून्य दशमलव ३५ प्रतिशत, व्यापार समूहको शून्य दशमलव २३ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव २१ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव शून्य ३ प्रतिशत घटेको छ ।