मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मनीष खड्का रुकुम (पश्चिम)
२०७७ मङ्सिर २० शनिबार ०९:११:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रुकुम पश्चिमका ३० हजार घरधुरी कृषकले सहुलियत कृषि ऋण पाउने

Read Time : > 1 मिनेट
मनीष खड्का, रुकुम (पश्चिम)
२०७७ मङ्सिर २० शनिबार ०९:११:००

रुकुम पश्चिमका कृषकहरूले विभिन्न बैंकबाट सहुलियत ब्याजदरमा ऋण पाउने भएका छन् । जिल्लाका ६ वटै स्थानीय तहहरूले विभिन्न बैंकहरूसँग सहुलियत ऋणका लागि सम्झौता गरेका हुन् । चौरजहारी नगरपालिकाले राष्ट्रिय वाणिज्य बैंक, मुसिकोट र आठबिसकोट नगरपालिकाले ग्लोबल आइएमई बैंक, बाँफिकोट र त्रिवेणी गाउँपालिकाले लक्ष्मी बैंक तथा सानीभेरी गाउँपालिकाले सन्राइन बैंकसँग सम्झौता गरेका छन् । 

पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को पहलमा ६ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले बैंकहरूसँग सम्झौता गरेका हुन् । बैंकहरूले नेपाल सरकार सहुलियत कर्जा प्रवाहसम्बन्धी कार्यविधि २०७७ अनुसार ५ देखि १० प्रतिशत ब्याजदरमा ऋण दिने स्थानीय तहहरूले बताएका छन् । कृषि नै समृद्धिको आधार भएकाले लगानी बढाउन यस्तो कदम लिइएको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए । उनले भने, ‘सहुलियतमा ऋण लगानी गर्न बैंकहरू तयार भएका छन्, यसले जिल्लावासीको आर्थिक स्थितिमा सुधार आउने विश्वास लिएका छौँ ।’  

एक समूहलाई १० लाखसम्म ऋण 
सहुलियत ऋणका लागि ५–५ जनाको सहकार्य समूह गठन गरिनेछ । उक्त समूहलाई बढीमा १० लाखसम्म ऋण उपलब्ध हुने आठबिसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले बताए । समूहको निर्णयअनुसार उक्त ऋण सदस्यहरूले व्यक्तिगत रूपमा खर्च गर्न पाउनेछन् । एक व्यक्तिले २ लाखसम्म ऋण लिन पाउने नगर प्रमुख केसीले बताए । यसरी प्राप्त हुने ऋण उत्पादनमूलक कृषिमा लगानी हुनेछ ।

यो ऋण जिल्लाका सबै ३० हजार घरधुरीलाई नै उपलब्ध गराउने स्थानीय तहका प्रमुखहरूले बताएका छन् । स्थानीय तहले कृषकलाई ऋणका लागि सहयोग गर्नुका साथै कृषकले उत्पादन गरेका उपजको बजारीकरण, मल, बिउ तथा उपकरणमा समेत सहयोग गर्ने जनाएका छन् । ऋण असुलीमा समेत स्थानीय तहले बैंकलाई सघाउनेछन् ।  

कृषि क्रान्तिको कदम : शर्मा
कृषि क्रान्तिका लागि यो कदम चालिएको प्रतिनिधिसभा सदस्य ‘प्रभाकर’ शर्माले बताए । ‘यो ठूलो जोखिम हो, हामीलाई थाहा छ, तर सुनौलो भविष्यका लागि जोखिम मोलेका छौँ, हामी सफल पनि हुनेछौँ,’ उनले भने । मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले परम्परागत कृषिलाई अब आधुनिक र व्यावसायिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।