१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रानी–जमरा सिँचाइ आयोजना
जीवन बस्नेत काठमाडौं
२०७७ मङ्सिर २० शनिबार ०९:२८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रानी–जमराबाहेक सबै गौरवका सिँचाइ आयोजनाको वित्तीय प्रगति ४३ प्रतिशतभन्दा न्यून

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७७ मङ्सिर २० शनिबार ०९:२८:००

राष्ट्रिय गौरवका ५ वटा सिँचाइ आयोजनामध्ये पहिलो चौमासिकमा रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको वित्तीय प्रगति राम्रो देखिएको छ । यस आयोजनालाई पहिलो चौमासिकमा छुट्याएको २७ करोड ९२ लाख रुपैयाँमध्ये २६ करोड २२ लाख रुपैयाँ खर्च भएको छ । यो ९३ दशमलव ९३ प्रतिशत हो । भौतिक प्रगति भने ६१ प्रतिशत रहेको छ । 

रानी–जमराबाहेक अन्य आयोजनाको प्रगति भने ४३ प्रतिशतभन्दा न्यून रहेको छ । सिक्टा सिँचाइ आयोजनाको प्रगति ४२ प्रतिशत छ भने बबई सिँचाइको प्रगति ३८ प्रतिशत मात्र छ । सिक्टामा पहिलो चौमासिकका लागि २८ करोड १२ लाखमध्ये ११ करोड ९५ लाख र बबईमा २२ करोड ८४ लाखमध्ये ८ करोड ७३ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै, भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति २८ प्रतिशत छ । यस आयोजनालाई ८२ करोड १४ लाखमध्ये २२ करोड ९४ लाख रुपैयाँ खर्च भएको हो । सबैभन्दा कम सुनकोसी–मरिन डाइभर्सन आयोजनाको प्रगति ४ प्रतिशत मात्र छ । चौमासिकका लागि छुट्याएको १८ करोड ७२ लाखमध्ये ७९ लाख मात्र खर्च भएको छ ।  

ऊर्जा मन्त्रालयको चौमासिक प्रगति ६८%
चालू आर्थिक वर्षको पहिलो चार महिनामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समष्टिगत वित्तीय प्रगति ६८ दशमलव ७३ प्रतिशत र भौतिक प्रगति ७६ दशमलव ७४ भएको छ । आर्थिक वर्ष ०७७/७८ का लागि कुल बजेट ९९ अर्ब २९ करोड ४८ लाखमध्ये पहिलो चौमासिकका लागि २० अर्ब ४२ करोड २६ लाख विनियोजन गरिएको थियो । जसमा १४ अर्ब ३ करोड ७४ लाख रुपैयाँ खर्च भएको चौमासिक प्रगति प्रतिवेदनले देखाएको छ । यो कुल चौमासिक बजेटको ६८ दशमलव ७३ प्रतिशत हो ।

मन्त्रालयमा चालु आर्थिक वर्षको पहिलो चौमासिक प्रगतिको समिक्षा बैठक

त्यस्तै, ऊर्जातर्फका ४० मध्ये ११ आयोजनाको प्रगति ८० देखि १ सय प्रतिशतसम्म देखिएको छ । यस्तै, १२ वटा आयोजनाको प्रगति ५० देखि ८० प्रतशितसम्म छ भने ५० प्रतिशत वा सोभन्दा कम प्रगति भएका आयोजनाको संख्या १७ छ । यस्तै, कुल ३३ आयोजना रहेका सिँचाइतर्फका १९ आयोजनाको प्रगति ८० देखि १ सय प्रतशित छ । ५० देखि ८० प्रतिशतसम्म प्रगति भएका आयोजनाको संख्या ७ छ । यस्तै, ७ वटा आयोजनाको प्रगति भने ५० प्रतिशतभन्दा कम छ । 

आगामी चौमासिकमा अहिलेको भन्दा राम्रो प्रगति आवश्यक : मन्त्री पुन
चौमासिक प्रगति समीक्षामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोभिड–१९ महामारीको समयमा भएको प्रगतिलाई सन्तोषजनक भनेका छन् । उनले प्रथम चौमासिकमा देखिएको कमजोरी आगामी चौमासिकमा नदोहोरिने गरी काम गर्न मातहतका सबैलाई निर्देशन दिए । ‘कोरोना महामारीको संवेदनशील अवस्थामा समेत ७८ प्रतिशत वित्तीय र झन्डै ७८ प्रतिशत नै भौतिक प्रगति हुनु खुसीको कुरा हो,’ मन्त्री पुनले भने । आगामी दिनहरू सबै मिलेर योभन्दा राम्रो प्रगति देखिने गरी काम गर्नुपर्नेमा जोड दिए । 

मन्त्री पुनले विकास निर्माणका काम गर्दा भरसक स्थानीय र प्रभावितलाई लाभ मिल्ने गरी काम गर्न निर्देशन दिए । मुआब्जा वितरणअगावै ठेक्काको सूचना निकाल्ने, शिलान्यास गरिहाल्ने र कोठाभित्रै बसेर आयोजना बनाउने काम अब बन्द हुनुपर्ने उनको भनाइ छ । मन्त्री पुनले विकास आयोजनाको काममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र प्रभावित जनताका कुरा अधिकतम सुन्ने र समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिए । तर, समस्याप्रति गम्भीर भएर समाधान दिँदादिँदै नियतवश अवरोध भए बल प्रयोग गरेरै भए पनि काम अगाडि बढाउनुपर्ने बताए । विकासका काममा अवरोध भए समयमै आफूलाई खबर गर्न आग्रह गर्दै मन्त्री पुनले भने, ‘कोसँग कुरा गरेर समस्या समाधान गर्नुपर्ने हो, म आफैँ गएर समाधान गर्छु ।’