मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पर्साको टिभिएस कम्पनीले उत्पादन गरेका तीनपांग्रे अटो रिक्सा
नवीन अर्याल काठमाडौं
२०७७ मङ्सिर २० शनिबार ०९:४५:००
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्वदेशमै उत्पादित तीनपांग्रे नेपाली सडकमा

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७७ मङ्सिर २० शनिबार ०९:४५:००

तीनपांग्रे विद्युतीय अटो रिक्सा उत्पादन गर्न स्वदेशी तथा विदेशी लगानीका एक दर्जन कम्पनीले स्वीकृति, ७६ करोड भन्दा बढी लगानी प्रतिबद्धता 

छोटो दूरीको यात्रा गर्न उपयुक्त सवारी तीनपांग्रे अटो रिक्सा नेपालमै एसेम्बल्ड हुन थालेको छ । बजाज र टिभिएस कम्पनीले पेट्रोलबाट चल्ने तीनपांग्रे अटो उत्पादन सुरु गरेका हुन् । हुलास मोटर्स, टेर्रा मोटर्सलगायतले चीनबाट विद्युतीय रिक्साका पार्टपुर्जा ल्याएर नेपालमा एसेम्बल्ड गर्दै आइरहेका छन् । त्यस्तै, बजाज र टिभिएस कम्पनीले पेट्रोलबाट चल्ने मोटरसाइकलको एसेम्बल्ड प्लान्टबाट तीनपांग्रे उत्पादन थालेका हुन् । पछिल्लो समय पहाडी जिल्लाहरूमा पनि पेट्रोलबाट चल्ने पावरफुल तीनपांग्रे रिक्साको माग बढ्न थालेपछि व्यवसायीहरू स्वदेशमै उत्पादन गर्न कस्सिएका हुन् ।  

व्यावसायिक घराना गोल्छा समूहअन्तर्गतको हुलास अटोक्राफ्टले नवलपरासीबाट बजाजको अटो रिक्सा एसेम्बल्ड गरिरहेको छ । गोल्छा परिवारले स्वदेशमै दुईपांग्रे र तीनपांग्रे सवारीसाधन एसेम्बल्ड गर्न थालेको दुई वर्ष भइसक्यो । करिब १ अर्ब लगानी भएको प्लान्टमा बजाजका दुईवटा मोडलहरू प्यासेन्जर टेम्पो र कार्गो टेम्पो रहेका छन् । सानो व्यवसायलाई प्रवद्र्धन गर्न कार्गो टेम्पोले राम्रै सहयोग गरिरहेको समूहका निर्देशक अभिमन्यू गोल्छाले बताए । 

त्यस्तै, चर्चित व्यावसायिक घराना शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्सले टिभिएस ब्रान्डको तीनपांग्रे अटो रिक्सा स्वदेशमै एसेम्बल्ड सुरु गरिसकेको छ । पर्सामा करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको टिभिएसको एसेम्बल्ड प्लान्टमा वार्षिक १० हजार टेम्पो उत्पादन गर्न सकिने समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले बताए । करिब १ अर्ब लगानी रहेको प्लान्टबाट टिभिएसका मोटरसाइकल र स्कुटर पनि एसेम्बल्ड हुन्छन् । एक समय मुस्ताङ म्याक्स ब्रान्डमा गाडी उत्पादन गरेको गोल्छा परिवारकै हुलास मोटर्स प्रालिले अहिले अटो रिक्सा उत्पादन थालेको हो । कम्पनीका प्रबन्ध निर्देशक सुरेन्द्र गोल्छाले भने, ‘हामीले हुलास ब्रान्डमै विद्युतीय रिक्सा उत्पादन सुरु गरिसकेका छौँ ।’ यसबीचमा विद्युतीय कार उत्पादन गर्ने तयारी गरे पनि सरकारको अस्थिर नीतिका कारण ‘पर्ख र हेर’को अवस्थामा रहेको उनको भनाइ छ । 

दर्जनौँ ब्रान्डका अटो रिक्सा

नेपालका सडकमा दर्जनौँ ब्रान्डका अटो रिक्सा कुद्न गरेका छन् । एमभी दुगड ग्रुपका प्रबन्ध निर्देशक विवेक दुगडका अनुसार पेट्रोलियममा बजाज, पियाजिओ, टिभिएस र अतुल ब्रान्ड नेपालमा बिक्री भइरहेका छन् । नेपालमा अतुल ब्रान्डको टेम्पो विशाल ग्रुप र पियाजिओ ब्रान्डको टेम्पो एमभी दुगड ग्रुपले बिक्री गर्दै आइरहेका छन् । उनी भन्छन्, ‘चीनबाट विद्युतीय रिक्साका पार्टपुर्जा प्याकेजिङमा आइपुग्छन् र यहाँ नटबोल्ट कसेर बिक्री गरिन्छ । विद्युतीय रिक्सा गुडाएर ल्याउन सम्भव नभएको हुँदा पनि यहीँ एसेम्बल्ड गरिन्छ ।’ विद्युतीय रिक्सा एसेम्बल्ड गर्न ठूलो लगानी गर्नुपर्दैन । तर, पेट्रोलबाट चल्ने रिक्सा एसेम्बल्ड गर्न प्लान्ट नै लगाउनुपर्ने उनको भनाइ छ । बजाज र टिभिएसले दुईपांग्रेको एसेम्बल्ड प्लान्टबाटै तीनपांग्रे उत्पादन थालेका हुन् । उनी भन्छन्, ‘हामीले स्वदेशमा टेम्पो एसेम्बल्ड गर्नेतर्फ सोचेका छैनौँ, किनभने ठूलो लगानी गरेर एसेम्बल्ड प्लान्ट खोल्न बजार नै छैन ।’  

टेम्पो रिक्साको घट्दो बजार

बजाज ब्रान्डको नेपाली विक्रेता गोल्छाका अनुसार पछिल्लो समय तीनपांग्रेको बिक्री घट्दो दरमा छ । ‘अहिले थ्री ह्विलर्सको बिजनेस अलि घटेको छ,’ उनी भन्छन्, ‘अहिले धेरै मान्छे विदेशबाट स्वदेश फर्किएका छन्, थ्री ह्विलर्सको मार्केट फेरि बढ्न सक्छ ।’ पियाजिओ विक्रेता दुगडका अनुसार पछिल्लो तीन वर्षदेखि पेट्रोलबाट चल्ने तीनपांग्रेको बिक्री घटेर २५ प्रतिशतमा खुम्चिएको छ । उनका अनुसार विद्युतीय अटो रिक्साको बिक्री घटे पनि त्यति तल झरिसकेको छैन । 

चिनियाँ इलेक्ट्रिक रिक्साहरू तीव्र गतिमा कुद्न सक्दैनन् । ठूला सहरमा यस्तो रिक्साले ट्राफिक जाम बढेपछि स्थानीय सरकारले सबै टेम्पो रिक्सालाई एउटै क्याटेगोरीमा राखेर चलाउन रोक लगायो । तर, पेट्रोलबाट चल्ने टेम्पोको गतिमा समस्या नभए पनि इलेक्ट्रिक रिक्साका कारण सबैलाई प्रतिबन्ध लगाइएको व्यवसायीको गुनासो छ ।  

पावरफुल टेम्पो पहाडी जिल्लामा

तराई भेगमा करिब ५ वर्षअघिसम्म तीनपांग्रे विद्युतीय रिक्सा मात्र थियो । तर, पेट्रोलबाट चल्ने रिक्सा पहाडी जिल्लाहरूमा पनि चल्न थालेको गोल्छाले बताए । ‘अझै पनि तीनपांग्रेको बिक्री तराई भेगमै बढी हुन्छ,’ उनले भने, ‘तर, पावरफुल तीनपांग्रेको प्रवेशसँगै पहाडी जिल्लाहरूमा पनि माग बढ्न थालेको छ ।’ टेम्पोले यात्रालाई सजिलो मात्र बनाएको छैन, देशभित्रै स्वरोजगार बन्न पनि महत्वपूर्ण भूमिका खेलिरहेको गोल्छा बताउँछन् । अटो विक्रेता कम्पनीहरूले कम डाउन पेमेन्टमा अटो रिक्सा उपलब्ध गराउँदै आइरहेका छन् । नेपालमा अटो रिक्साको भविष्य देखेरै टिभिएस तीनपांग्रे स्वदेशमा उत्पादन थालेको शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले बताए । 

पाइपलाइनमा रहेका कम्पनी  

उद्योग विभागका अनुसार तीनपांग्रे विद्युतीय अटो रिक्सा उत्पादन गर्न स्वदेशी तथा विदेशी लगानीका एक दर्जन कम्पनीले स्वीकृति लिइसकेका छन् । नेपालमा सञ्चालनमा रहेका धेरैजसो विद्युतीय रिक्साहरू पार्टपुर्जा नेपालमै ल्याएर फिट गरिएका हुन् । पूर्ण विदेशी लगानीमा बेन्लिङ मोटर टेक्नोलोजी प्रालिले काठमाडौंमा तीनपांग्रे उत्पादन गर्ने स्वीकृति पाइसकेको छ । विदेशी लगानीकै ग्रेटवाल इलेक्ट्रिक भेहिकलले चितवनमा फ्याक्ट्री राखेर तीनपांग्रे भ्यान एसेम्बल्ड गर्ने स्वीकृति लिएको छ । 

हिरोइन अटो इलेक्ट्रिकल इन्डस्ट्री प्रालिले कञ्चनपुरमा एसेम्बल्ड प्लान्ट खोलेर वार्षिक ४ सय तीनपांग्रे भ्यान उत्पादन गर्न स्वीकृति पाएको छ । मिथिला अटो क्राफ्टले जनकपुरबाट वार्षिक १५ सय, सिइसी भेहिकल्स कम्पनीले विद्युतीय तीनपांग्रे, नेपाल इभी कम्पनीले वार्षिक ४ सयवटा, नेझोङ इन्डस्ट्री प्रालिले मकवानपुरमा प्लान्ट राखेर तीनपांग्रे भ्यान, ही होङ्ग न्यू इनर्जीले वार्षिक २ सयवटा, नेपाल इलेक्ट्रिक भेहिकल म्यानुफ्याक्चरिङ प्रालिले वार्षिक १५ सयवटा, फेयर अटो इन्डस्ट्रीले ब्याट्रीबाट चल्ने इ–रिक्सा वार्षिक एक हजार उत्पादन गर्ने स्वीकृति पाएका छन् ।  

स्वदेशी उत्पादनको मूल्य नघट्ने 

नेपालमै एसेम्बल्ड गरे पनि टेम्पोको मूल्यमा तत्काल ठूलो अन्तर नपर्ने शंकर समूहका प्रबन्ध निर्देशक अग्रवाल बताउँछन् । सरकारले एसेम्बल्ड प्लान्टलाई सहुलियत नदिएका कारण स्वदेशमै उत्पादन गर्दा पनि मूल्य कम पर्न नजाने व्यवसायी बताउँछन् । 

अहिले बजारमा २ सय सिसीदेखि २५० सिसीसम्मका पेट्रोलियम टेम्पो छन् । यसको मूल्य ५ लाख ३५ हजारदेखि ५ लाख ५० हजारसम्म रहेको छ । पियाजिओ अलि ठूलो टेम्पो हुनाले अलि महँगो छ । बजाजको प्यासेन्टर टेम्पो २ सय सिसी र कार्गो टेम्पो २२६ सिसी इन्जिन क्षमताका छन् । इलेक्ट्रिक टेम्पो रिक्साको मूल्य डेढ लाख रुपैयाँदेखि ३ लाख ५० हजारसम्म रहेको व्यवसायी बताउँछन् ।

तीनपांग्रे उत्पादनका लागि स्वीकृति लिइसकेका कम्पनीहरू

बेन्लिङ मोटर टेक्नोलोजी कम्पनी प्रालि, काठमाडौं
लगानी : ४ करोड (पूर्ण विदेशी)
क्षमता : ६ सय विद्युतीय मोटरसाइकल, १२० तीनपांग्रे भ्यान र १२० चारपांग्रे भ्यान  
रोजगारी : ४० जना

ग्रेटवाल इलेक्ट्रिक भेहिकल प्रालि, चितवन
लगानी : ३ करोड ५० लाख (पूर्ण विदेशी)
क्षमता : ४ सय मोटरसाइकल, १२० तीनपांग्रे भ्यान, १२० चारपांग्रे भ्यान
रोजगारी : ४४ जना

मिथिला अटोक्राफ्ट, धनुषा जनकपुर
लगानी : २४ करोड ८१ लाख (पूर्ण स्वदेशी)
क्षमता : १५ सय तीनपांग्रे टेम्पो, ५ सय तीनपांग्रे विद्युतीय टेम्पो, १ सय तीनपांग्रे लोड क्यारियर
रोजगारी : ८८ जना

बेला इलेक्ट्रोनिक्स अटो प्रालि, ललितपुर
लगानी : १ करोड ५० लाख (७५ प्रतिशत विदेशी)
क्षमता : ५ सय विद्युतीय सवारी
रोजगारी : २५ जना

हिरोइन अटो इलेक्ट्रिकल इन्डस्ट्रिज प्रालि, कञ्चनपुर
लगानी : १० करोड (९० प्रतिशत विदेशी)
क्षमता : ४ सय तीनपांग्रे भ्यान, ४ सय तीनपांग्रे भ्यान तथा कार र १ सय मिनी ट्रक
रोजगारी : ५० जना

सिइसी भेहिकल्स कम्पनी प्रालि, ललितपुर
लगानी : ४ करोड रुपैयाँ (पूर्ण विदेशी)
क्षमता : विद्युतीय दुईपांग्रे ४ सय, तीनपांग्रे र चारपांग्रे भ्यान ४ सय र ६ पांग्रे गाडी १ सयवटा
रोजगारी : ३१ जना

नेपाल इभी कम्पनी प्रालि, ललितपुर
लगानी : ४ करोड रुपैयाँ (पूर्ण विदेशी)
क्षमता : दुईपांग्रे ५ सय, तीनपांग्रे भ्यान ४ सय र चारपांग्रे भ्यान ४ सय र ६ पांग्रे गाडी १ सयवटा
रोजगारी : ३१ जना

नेझोङ इन्डस्ट्री प्रालि, मकवानपुर
लगानी : ४ करोड रुपैयाँ (८५ प्रतिशत विदेशी)
क्षमता : दुईपांग्रे ४ सय, तीनपांग्रे र चारपांग्रे भ्यान ४ सय र ६ पांग्रे गाडी १ सयवटा
रोजगारी : ३१ जना

ही होङ्ग न्यू इनर्जी, ललितपुर
लगानी : १ करोड
क्षमता : दुईपांग्रे ५ सय र तीनपांग्रे २ सयवटा
रोजगारी : ३१ जना

नेपाल इलेक्ट्रिक भेहिकल म्यानुफ्याक्चरिङ कम्पनी प्रालि, ललितपुर
लगानी : ४ करोड ५६ लाख (पूर्ण स्वदेशी)
क्षमता : विद्युतीय रिक्सा १५ सय र विद्युतीय स्कुटर १५ सय थान
रोजगारी : ४१ जना

फेयर अटो इन्डस्ट्रिज प्रालि, बारा

लगानी : ४ करोड ७२ लाख (पूर्ण स्वदेशी)
क्षमता : विद्युतीय तीनपांग्रे रिक्सा १ हजार थान
रोजगारी : २४ जना