मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ मङ्सिर १९ शुक्रबार ०९:०७:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

कर्णाली नदीमा फेरी पुनर्निर्माण नहुँदा सास्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ मङ्सिर १९ शुक्रबार ०९:०७:००

कर्णाली करिडोरअन्तर्गतको कालिकोटको नरहरिनाथ–१ लालीघाटमा रहेको कर्णाली नदीमा रहेको फेरी नबन्दा यातायातका साधन वारपार गराउन सास्ती भएको छ । बाढीले असारमा बगाएको फेरी अझै बन्न सकेको छैन । कर्णाली नदीमा रहेको फेरी बगाउँदा दुई किनारामा यातायातका साधन थन्किएका छन् । 

लामो समयदेखि कर्णाली करिडोर सडकखण्डको लालीघाट–जितेबजार जोड्ने पुल निर्माण हुन नसक्दा फेरीको भरमा यातायातका साधन वारपार गरिँदै आएको यातायात व्यवसायी प्रेमबहादुर बुढाले बताए । ‘गत असारमा आएको बाढीले फेरी बगायो । त्यसको ठाउँमा अर्को फेरी हाल्ने कहिले हो, थाहा छैन,’ बुढाले भने, ‘कर्णाली नदीको खुलालुमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । त्यो पनि कहिले बन्ने हो, पत्तो छैन । दुःख पाइरहेका छौँ ।’ 

फेरी नहुँदा कालिकोट, बाजुरा, मुगु र हुम्ला जाने यात्रु तथा ढुवानी साधनलाई समस्या भएको छ । कर्णाली नदीमा यातायातका साधन बदल्नुपरेकाले ढुवानीमा चर्को भाडा तिर्नुपरिरहेको कालिकोटको रास्कोट नगरपालिका–८ का अनन्त बरालले बताए । कर्णालीमा हिउँदमा मात्रै फेरी सञ्चालन हुने गरेको छ । यसपटक भने पुनर्निर्माण नहुँदा यात्रु तथा व्यापारीले सास्ती व्यहोर्दै आएको स्थानीय व्यापारी तिलबहादुर शाहीले बताए । 

‘फेरी नबन्दासम्म व्यापारीको लाखौँको घाटा हुने र उपभोक्ता मारमा पर्ने देखिन्छ,’ शाहीले भने । फेरी पुनर्निर्माणका लागि पहल भइरहेको कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका निमित्त सचिव धर्मेन्द्र झाले बताए । स्थानीय तहलाई सञ्चालनका लागि जिम्मा दिने गरेर डिपिआर बनाउन प्रयास भइरहेको उनको भनाइ छ । 

‘मन्त्रालयबाट फेरी सञ्चालनका लागि सम्बन्धित स्थानीय तहलाई डिपिआर गरेर रकमको माग गर्न भनिएको थियो, तर स्थानीय तह तथा अन्य कसैले माग गरेको छैन । कसरी बनाउने भन्ने अन्योलमा नै रहेको छ,’ उनले भने ।