मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १९ शुक्रबार ०६:२०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा करेक्सन : कारोबार रकम भने ८ अर्ब रुपैयाँ नाघ्यो

सेयर बजार परिसूचक नेप्से १५ दशमलव ५७ अंक ओर्लिएर २ हजार ५५ बिन्दुमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १९ शुक्रबार ०६:२०:००

लामो समयदेखि करेक्सनको सम्भावना देखिएको नेप्सेमा बिहीबार करेक्सन भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से १५ दशमलव ५७ अंक ओर्लिएर २ हजार ५५ बिन्दुमा आइपुगेको हो । 

बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएर ८ अर्ब रुपैयाँ पुगेको छ । यसले बजारमा लगानीकर्ताको आकर्षण कायमै रहेको संकेत गरिरहेको छ । अन्य अवस्था यथावत् रहेमा नेप्सेमा सानोतिनो करेक्सन मात्रै हुने देखिन्छ । 

वित्तीय संस्थामा रहेको उच्च तरलताको लाभ र निक्षेपको घट्दो ब्याजको लाभ बजारले पाइरहेको छ । पछिल्लो समय लघुवित्त कम्पनीहरूमा लगानीकर्ता आकर्षित भएका छन् । यही कारण बिहीबार सबैजसो परिसूचक घटे पनि लघुवित्त र जलविद्युत् समूहको परिसूचक मात्र बढेको छ । 

कम पुँजीका लघुवित्त कम्पनीमा लगानी बढाएर नाफा लिन सहज भएकाले लगानीकर्ता यसमा लागेका छन् । यसबाहेक लघुवित्त कम्पनीहरूको मूल्य निकै लामो समयदेखि स्थिरजस्तै देखिएकाले पनि यी कम्पनीहरूको मूल्य बढ्न थालेको छ । कम्पनीको चुक्ता पुँजी वृद्धिको हल्लाले समेत यसमा योगदान दिएको देखिएको छ । राष्ट्र बैंक स्रोतहरूले भने मर्जरमा नै राष्ट्र बैैंकको जोड हुने बताएका छन् । 

केही लघुवित्तले तुलनात्मक रूपमा आकर्षक लाभांश घोषणा गरेकाले समेत यी कम्पनीको कारोबार बढेको हो । बिहीबार छिमेक लघुवित्त कम्पनीले २२ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । अघिल्ला वर्षहरूमा ४० प्रतिशतमाथि लाभांश प्रस्ताव गर्दै आएको कम्पनीले राष्ट्र बैंकले गरेको कडाइपछि पनि २९ प्रतिशत लाभांश प्रस्ताव गर्न सकेको छ । 

नेसनल लाइफ इन्स्योरेन्सले भने लाभांश प्रस्ताव घटाएको छ । यसअघि १५ प्रतिशत नगद र २ दशमलव ५ प्रतिशत बोनस प्रस्ताव गरेको कम्पनीले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद प्रस्ताव गरेको छ । बिमा समितिमा पेस भएको वित्तीय विवरण स्वीकृत नभएको कारण अर्को वित्तीय विवरण पेस गर्नुपर्ने भएकाले लाभांश दरसमेत घटाइएको जानकारी कम्पनीले दिएको छ ।

सेयर मूल्य करिब ३ प्रतिशतले घटे पनि कारोबार रकम २६ करोड रुपैयाँ पुगेका आधारमा यो कम्पनी चौथो स्थानमा छ ।  यस दिन २ सय किसिमका धितोपत्र र ऋणपत्रलगायतको कारोबार भएकोमा १ सय ४७ को मूल्य घटेको र ३८ वटाको मूल्य बढेको छ ।