मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १९ शुक्रबार ०५:५५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गुमनाम निर्यातमूलक उद्योगहरू पुनरुत्थान गर्न शेखर गोल्छाको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १९ शुक्रबार ०५:५५:००

विविध कारणले गुमनाम बन्न पुगेका गार्मेन्ट, पस्मिना, गलैँचालगायतका निर्यातमूलक उद्योगहरूको पुनरुत्थान गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । बिहीबार महासंघका नवनिर्वाचित पदाधिकारीको स्वागतमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष गोल्छाले निर्यातमूलक उद्योगहरू पुनरुत्थान गरेर युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

उद्योग वाणिज्यमन्त्री लेखराज भट्टसहित सचिव वैकुण्ठ अर्याल, उद्योग विभागका महानिर्देशक जीवलाल भुसाललगायत उच्चपदस्थ कर्मचारीहरू उपस्थित कार्यक्रममा बोल्दै गोल्छाले मौद्रिक नीतिमार्फत साना उद्यमी–व्यवसायीका लागि दिइएका सुविधाहरू कार्यान्वयनमा मन्त्रालयबाट समन्वय गरिदिन आग्रह गरे । दोहोरो करका कारण स्थानीय तहमा उद्योग–व्यवसाय थप समस्यामा परेको ध्यानाकर्षण गराउँदै उनले लामो समयदेखि बन्द चलचित्र उद्योगहरू स्वास्थ्यका सबै प्रोटोकलहरू कायम गरी अविलम्ब सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महासंघका पदाधिकारीहरूले अहिलेको संकटमा लगानी ल्याउन र लगानी गर्न चाहनेलाई सहज र सरल तरिकाले लगानी भित्र्रयाउने वातावरण बनाउनुपर्ने, निर्यात प्रवद्र्धनका लागि विशेष प्याकेज आउनुपर्ने, साना तथा मझौला व्यवसायको दर्ता प्रक्रियालाई सहजीकरण गर्नुपर्ने, ऐन–कानुनसँगै नियमावली पनि ल्याइनुपर्ने, चेम्बर ल ल्याउनुपर्ने, उद्योग–व्यवसायमा हडताल नहुने सुनिश्चितता गराउनुपर्ने, सिएसआरबाट उठेको रकममा केही हिस्सा उद्योग वााणिज्य संघहरूको संस्थागत विकासमा खर्च गर्न दिने व्यवस्था गरिनुपर्नेलगायतका सुझाबहरू राखेका थिए । 

मन्त्री भट्टले महासंघबाट आएका सुझाबहरू निकै महत्वपूर्ण रहेको कार्यान्वयनमा तदारुकता देखाउने प्रतिबद्धता जनाए । उनले मन्त्रालयले छिट्टै एक विशेष कार्यक्रम आयोजना गरी उद्योग–व्यवसायको विकासमा ठोस निष्कर्षमा पुग्ने योजना बनाएको बताए । वाणिज्य सचिव अर्यालले मन्त्रालयले सधैँ महासंघसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 

स्वागत कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष शुकुन्तलाल हिराचनलगायत उद्योगी–व्यवसायी र कर्मचारीहरूको उपस्थिति थियो । अध्यक्ष गोल्छाले कोभिडपश्चात् उद्योग–व्यवसायसहित समग्र अर्थतन्त्रको पुनरुत्थानका लागि सुझाबहरू तयार गर्ने कार्यको सुरुवात गरेको पनि जानकारी गराएका थिए ।