१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर १९ शुक्रबार ०७:३५:००
Read Time : > 2 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

चर्चामा बुल्दी खोला पुल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर १९ शुक्रबार ०७:३५:००

दुई वर्षपहिले नै निर्माण सम्पन्न भएको दमौलीस्थित बुल्दी खोला पुल यतिवेला राष्ट्रिय चर्चामा छ । सामान्यतया व्यास नगरका दुईवटा वडा जोड्ने यो सानो पुलको महत्व राष्ट्रियस्तरमा त के नगरमै पनि थिएन । तर, यतिवेला त्यही एउटा पुल चर्चा परिचर्चाको विषय बनेको छ । त्यसको उद्घाटनका लागि सत्ताधारी दलका प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ र प्रतिपक्षी दलका वरिष्ठ नेता तथा त्यस क्षेत्रमा लामो समय सांसद रहेका रामचन्द्र पौडेलबीच भएको खोसाखोस यो पुल चर्चामा आउनुको मूल कारण हो । त्यो क्षेत्रमा नेपाली कांग्रेसको लामो समय वर्चस्व हुनु र नगरप्रमुख नेपाली कांग्रेसकै स्थानीय नेता भएकाले पनि यस्ता विकासे कामलाई आफ्नो राजनीतिक लाभका लागि प्रयोग गर्न राजनीतिक दलहरू खोसाखोसमा उत्रिनु स्वाभाविक हो । यो परिघटना शक्ति र वर्चस्व देखाउने मनोविज्ञानबाट उब्जिएको हो भन्न सकिन्छ । 

यसै पनि रामचन्द्र पौडेल समकालीन नेतामा सबैभन्दा पाका र पुराना हुन् । यता सत्ताधारी दलका नेता–कार्यकर्ता उक्त क्षेत्रमा आफ्नो वर्चस्व विस्तारमा सक्रिय छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेकपाका सांसद किसान श्रेष्ठ गत वैशाखमा धनुषाका एकजना सांसदको अपहरण काण्डमा मुछिएका सांसद महेश बस्नेतसँगै संलग्न थिए । महेश बस्नेत बाहुबल प्रयोगका लागि राष्ट्रिय छवि बनाएका युवा नेता हुन् । त्यसमाथि उनीहरू दुवैलाई बालुवाटारबाट सीधै प्रधानमन्त्रीको संरक्षण रहेको जगजाहेरै छ । तिनै किसान श्रेष्ठले आफ्ना नन्दीभृङ्गीहरू तैनाथ गरेर रामचन्द्र पौडेलबाट उक्त पुल उद्घाटन हुन नदिन दबाब दिए । सत्ताधारी दलका युवा कार्यकर्ताको छवि नेपालमा पञ्चायतकालदेखि नै बदनाम छ । 

पञ्चायतका समयमा राजनीतिका अनेक चुनौती व्यहोरेका प्रधानमन्त्रीले बुझ्नुपर्ने हो, मण्डले चलाएर या प्रशासन लगाएर गरिने दमनले सत्ताको निरन्तरताको सुनिश्चितता गर्दैन

पञ्चायत कालमा यस्ता युवा, विद्यार्थीका दस्तालाई मण्डले भनिन्थ्यो । तिनले विनाबर्दीका प्रहरीका रूपमा पञ्चायतविरोधीलाई तह लगाउन गर्ने गुन्डागर्दीका कारण जनता आजित थिए । बिस्तारै तिनै युवा राजनीतिक कुसंस्कारको कारण बन्न पुगे । संसदीय व्यवस्थासँगै यस्ता मण्डले दस्ता दलका कार्यकर्तामा रूपान्तरण भए । मण्डलेको सिको गरेर विरोधीमाथि जाइलाग्ने, कुटपिट गर्ने, ज्यान लिने, बुथ कब्जा गर्ने, बालुवा–गिटीदेखि निर्माणका कामसम्म ठेक्का हात पार्ने र निर्वाचनका वेला नेताका पक्षमा आतंक सिर्जना गर्ने दलका युवा कार्यकर्ताको परिचय बन्न पुग्यो । सत्ताधारी दलका दमौलीका कार्यकर्ताले पनि त्यही सिके होलान् र तिनले आफ्नो दल तथा प्रधानमन्त्रीको समेत नाक काट्न बन्चरो उज्याए । अचानक पौडेलको कार्यक्रम रोक्न जिल्ला प्रशासन नै सक्रिय भयो । पौडेलले पनि आफ्नो तागत देखाउने आकांक्षा रोक्न सकेनन् । अन्ततः उनी गिरफ्तार भएर गणतान्त्रिक सरकारको पाहुना बने तीन घन्टाका लागि । 

रामचन्द्रका लागि त कमसेकम कांग्रेस वृत्तमा चर्चामा रहने एउटा अवसर बन्यो । तर, यो घटनाको सन्देश भने रामचन्द्रलाई मिलेको अवसरभन्दा खतरनाक छ । यो सरकार र सत्ताधारी दल कसरी दमनकारी बन्दै छन् भन्ने संकेत हो । रामचन्द्र पौडेलजत्तिको सम्मानित नेताले कुनै पुलको उद्घाटन गर्न जाने इच्छा राखेपछि अरूले त्यसलाई सहज रूपमा लिनुपर्ने थियो । किसान श्रेष्ठ आफैँ पौडेलसँग गएर कार्यक्रममा सहभागी बन्दा उनको इज्जत घट्ने थिएन । तर, सत्तामा हुनुको दम्भले फतक्कै भएका ओली र उनको समूहलाई सामाजिक लोकलाज र मर्यादाको विषय गौण बन्दै गएको देखिन्छ । 

सत्तामा हुनेले कार्यक्रम तय हुनुअघि नै यसलाई रोक्न सक्थे वा अरू विकल्प अपनाउन सक्थे, जसले गर्दा दुई पक्षबीच संघर्षको स्थिति नआओस् । यसै पनि आफ्नै दलभित्र अल्पमतमा परेका र दम्भका कारण भविष्य अनिश्चित हुँदै गएका प्रधानमन्त्रीका लागि यो घटना अर्को झटारो बन्ने निश्चित छ । पञ्चायतका समयमा राजनीतिका अनेक चुनौती व्यहोरेका प्रधानमन्त्रीले बुझ्नुपर्ने हो, मण्डले चलाएर या प्रशासन लगाएर गरिने दमनले सत्ताको निरन्तरताको सुनिश्चितता गर्दैन ।