मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : गोलनेपाल डट कम
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार १८:५४:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

विराज, विमल र सन्तोष राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार १८:५४:००

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा डिफेन्डर विराज महर्जन प्रशिक्षणमा फर्किएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाउँदा विराज पनि समावेश भएका छन् । एन्फाले विश्वकप र एसियन कप छनोटका बाँकी खेलका लागि ५८ जना खेलाडी डाक्दै बन्द प्रशिक्षणको तयारी गरेको हो । यसपटक नियमित सदस्य विक्रम लामा भने बन्द प्रशिक्षणमा परेका छैनन् । उनी चोटग्रस्त छन् ।

एन्फाले बन्द प्रशिक्षणका लागि सात गोलरक्षक, १८ डिफेन्डर, २० मिडफिल्डर र १३ स्ट्राइकरलाई बोलाएको छ । यसपटक ५८ खेलाडीमा थुप्रै नयाँ अनुहार रहेका छन् । यसै महिना बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा ३५ मध्ये २५ खेलाडीलाई अन्तिम टोलीका रूपमा समावेश गरिएको थियो । आठ नयाँमध्ये ६ खेलाडीले बंग्लादेशविरुद्ध डेब्यु गर्ने अवसर पाएका थिए । 

यसै महिनाको पहिलो सातामा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले राम्रो नतिजा निकाल्न सकेन । नेपाल पाँच वर्षपछि बंगलादेशसँग पराजित भयो । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले युवा खेलाडीलाई मैत्रीपूर्ण खेलमा मौका दिएका थिए । तर, प्रतिस्पर्धामा अनुभव नै कमजोरी नै रह्यो । यसैकारण एन्फाले बाहिर रहेका अनुभवी खेलाडीलाई पुनः एकपटक मौका दिने भएको हो । 

प्रशिक्षक महर्जनले विश्वकप र एसियन छनोटमा राम्रो नतिजा निकाल्ने जनाउँदै यसअघि बाहिर रहेका सिनियर र अनुभवी खेलाडीलाई बन्द प्रशिक्षण बोलाएका हुन् । एन्फाले विराज, स्ट्राइकर विमल घर्तीमगर, मिडफिल्डर सन्तोष तामाङ, डिफेन्डर  दिनेश राजवंशी र आदित्य चौधरीलाई पहिलो चरणको क्लोज क्याम्पमा डाकेको हो । सन् २०१९ को जुनमा विराजले अन्तिमपटक मलेसियासँग मैत्रीपूर्ण खेल खेलेका थिए । त्यसयता उनी टोलीबाट बाहिर नै थिए । 

राष्ट्रिय टोलीमा नपर्दा उनले पटकपटक सन्न्यास लिने मनसायसमेत बनाएका थिए । टोलीबाट बाहिर रहनुको एउटै कारण थियो, विराजको फिटनेस लेभल । मुख्य प्रशिक्षक योहान कालिनले विराजलाई फिटनेसकै कारण बाहिर राखेका थिए । यस वर्षपछि विमल, सन्तोष र दिनेशले बन्द प्रशिक्षणमा स्थान बनाएका छन् । गत वर्ष २ मंसिर ०७६ मा कुवेतविरुद्ध खेल्नुअघि विमल, सन्तोष र दिनेश डिस्को कान्डमा परेका थिए । 

भुटान प्रस्थान गर्नुअघि यी तीनजना खेलाडी मध्यरातमा डिस्कोबाट एन्फा कम्प्लेक्समा फर्किएका थिए । एन्फाको अनुशासन समितिले यी तीनजना खेलाडीलाई कारबाही गरेको थियो । यद्यपि एन्फाको कारबाही सकिए पनि तीनजना खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका थिएनन् । चोटमुक्तपछि आदित्य तीन वर्षपछि बन्द प्रशिक्षणमा फर्केका छन् । 

एन्फाले २७ मंसिरमा खेलाडीलाई एन्फाको होस्टलमा सामेल हुने भनिएको छ । त्यसपछि मात्र प्रशिक्षण सुरु हुने जनाएको छ । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले तीनवटा घरेलु खेल खेल्न बाँकी रहेको छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग खेल्न बाँकी रहेको छ । 

गोलरक्षक
किरणकुमार लिम्बू, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की, देव लिम्बू

डिफेन्डरः
देवेन्द्र तामाङ, विराज महर्जन, रजिन धिमाल,  विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दीप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान, रोहित चन्द

मिडफिल्डरः
सुजल श्रेष्ठ, विशाल राई, मिक्छेन तामाङ, सन्तोष तामाङ, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुवास गुरुङ, दीपेश आलेमगर, तेज तामाङ, रवि पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा, सुनिल बल

स्ट्राइकः
विमल घर्तीमगर, अभिषेक रिजाल, रेजिन सुब्बा, जर्जप्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विश्व, राजीव लोप्चन, आशिष लामा, प्रिजेन तामाङ