मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भानुभक्त भट्ट ‘अविरल यात्री’
भानुभक्त भट्ट ‘अविरल यात्री’ काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार १७:४१:००
Read Time : > 3 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘सिकाइ र सहयोग : एक समीक्षा’

Read Time : > 3 मिनेट
भानुभक्त भट्ट ‘अविरल यात्री’ काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार १७:४१:००

नेपाली साहित्य क्षेत्रमा एउटा बेग्लै पहिचान बनाउन सफल सर्जक खगराज बरालको नयाँ कृति ‘सिकाइ र सहयोग’ले साहित्य क्षेत्रमा एउटा नयाँ इँटा थपेको छ । सांग्रिला बुक्सले ०७६ चैतमा प्रकाशन गरेको उक्त कृतिमा २५ वटा पाठ र २४१ पृष्ठ छन् ।

पाठकहरूमाझ लोकप्रिय रहेका सर्जक बराल साहित्यिक क्षेत्रमा श्रमिक बरालको नामले चिनिन्छन् । हरेक रचनामा जस्तै यो पुस्तकमा पनि लेखकले आफ्नो बाल्यकाल र विद्यार्थी जीवनदेखि नेपाल सरकारको सचिव हुञ्जेलसम्मका जीवन्त अनुभवहरूलाई छर्लंग रूपमा पाठकले सहजै बुझ्ने गरी सरल ढंगले पस्किएका छन् । श्रमिक बरालको लेखनशैलीको प्रमुख विशेषता भनेकै सरलता हो, पात्र र घटनाहरू जीवन्त हुनु, यथार्थपरक हुनु र घटनालाई सूक्ष्म लेन्स लगाएर पाठकमाझ मिठो शैलीमा परावर्तन गर्नु हो । लेखक बरालका हरेक रचनाहरू ज्ञानबर्द्धक छन्, प्रेरणादायी छन्, समाजमा चेतना अभिवृद्धि गर्न खुराक बनेका छन् । ‘सिकाइ र सहयोग’ पुस्तक पनि यिनै विशेषताले भरिपूर्ण छ ।

आफ्नो व्यक्तिगत एवं व्यावसायिक जीवनमा घटेका घटनालाई सूक्ष्म तरिकाले सरल र जस्ताको त्यस्तै पस्केर पाठकलाई नेपाली समाज, नेपालीको काम गर्ने प्रवृत्ति झलझली याद आउँछ । वर्षौँ पुराना घटना र प्रसंग सम्झिन सक्ने लेखकको स्मृति क्षमता निकै लोभलाग्दो छ । यो पुस्तकले केही हाम्रो नेपाली समाज र हाम्रो प्रवृत्तिको उजागर गरेको छ र विदेश  (जस्तैः इजिप्ट, जापान, भुटान, स्वीट्जरल्यान्ड आदि)मा तालिम, भ्रमणमा तथा गोष्ठीहरूमा जाँदा सिकिएका पाठहरूलाई सप्रसंग जस्ताको त्यस्तै प्रस्तुत गरिदिनाले हामीहरूले भविष्यमा गर्नुपर्ने सुधारहरू बोध हुन जान्छ । व्यक्तिगत आहार, बिहार, आचरण, कार्यशैलीसम्बन्धी आफ्नो जीवनकालमा घटेका घटना रोचक ढंगले पस्किएका छन्, जसले पाठकलाई लोभ्याइरहन्छ । यो पुस्तकले शिक्षा, दर्शन, संस्कृति, समाज आदिका विविध आयामहरूको मिहिन र गहन विश्लेषण गरिएको छ ।

पहिलो पाठमा बाल अधिकार र हाम्रा व्यवहारअन्तर्गत बालबालिकाले भोग्नुपरेका तीता अनुभवहरू समेटिएका छन् र हाम्रा संरचना, पूर्वाधार र हाम्रो व्यवहार आदि बालमैत्री बनाउन र सुधारको लागि सुझाब पनि दिएका छन् । त्यसैगरी, संस्कृत, संस्कार र संस्कृतिअन्तर्गत लेखकले हाम्रो मौलिकता, पूर्वीय दर्शन, संस्कार र संस्कृत भाषाको महत्व उजागर गरेका छन् र जर्मनीलगायत अन्य मुलुकमा पनि संस्कृत पढाइ हुने प्रसंग उल्लेख छ र आफू दक्षिण कोरिया जाँदाको अनुभव उल्लेख गरेका छन्, जुन रोचक छ । सिकाउने आफ्नै काइदाअन्तर्गत जाइकाको प्रशिक्षकको पढाउने र बुझाउने शैलीको चर्चा गरिएको छ । बुझाइमा अर्थ र अनर्थ पाठअन्तर्गत भाषिक महत्वको चर्चा गरिएको छ, भाषाको प्रयोग शुद्धसँग भएन भने अनर्थ हुन जाने रोचक प्रसंगहरू उल्लेख छन् । ‘पुर्खाको विश्वास’ पाठअन्तर्गत यात्राको प्रसंग उल्लेख छ र सार्वजनिक यातायातमा एउटै परिवारको सबैजनासँगै यात्रा गर्न नहुने विश्वासबाट ओतप्रोत भएको युवासँग लेखकले यात्रा गरेको प्रसंग चाखलाग्दो छ ।

लैंगिक सवाल र जापानी परिवेश पाठअन्तर्गत महिलाको सामाजिक भूमिका र अधिकारबारे लेखिएको छ र जापानको रोचक प्रसंग उल्लेख छ । त्यसैगरी, जेनेभा बसाइमा हाम्रो सिकाइ पाठमा घर छोडेर बाहिर जाँदा अतिआवश्यक आधारभूत सरसामान बोक्नुपर्ने प्रसंग सबैका लागि सिक्नयोग्य छ ।

लैंगिक पक्ष र परिवेश पाठअन्तर्गत जीवनपयोगी सीपहरू पुरुष–महिला दुवैले सिक्नुपर्ने र घरायसी काममा पुरुषहरू पनि संलग्न हुनुपर्ने प्रसंगहरू सोचनीय छन् । ‘नाता र सम्बोधन : अनुभव र अनुभूति’ पाठअन्तर्गत महिलाले श्रीमानलाई बाबा भनेर बोलाउँदा लेखक झुक्किनुभएको रोचक प्रसंग उल्लेख छ र उपयुक्त सम्बोधन मात्र गर्न हुन सुझाब दिइएको छ । त्यसैगरी ‘यात्राबाट सिकेका कुरा’ पाठअन्तर्गत भुटान भ्रमणको क्रममा सिकिएका प्रसंगहरू सिक्न लायक छन् । नकारात्मक सोच जीवनमा घातक हुने र प्रगतिका लागि ठूलो बाधा–अडचन हुन जाने प्रसंगहरू ‘प्रगतिको बाधक : नकारात्मक सोच’ पाठअन्तर्गत उल्लेखित छ । लैंगिकता र व्यवहार उपयोगी सीप पाठअन्तर्गत जापानको हिरोसिमामा नेपालबाट बोकेको सियो–धागो लेखकको मित्र काम्पोस (पूर्वी टिमोर)लाई काम लागेको प्रसंग रोचक छ ।

खानपान र हाम्रो चलन पाठअन्तर्गत हाम्रो खाने शैलीको बारेमा चर्चा छ र इजिप्टको खाने शैली र खाना फाल्नै नहुने संस्कृतिको प्रसंग पनि रोचक छ । ‘बानी त कस्तो राम्रो’ पाठमा लेखकले धेरै भोजभतेरमा जाँदा आफूले रक्सी, मासु नलिएको, तर अन्य पाहुनाहरूले आफूले रक्सीको चुस्की लिँदै र चिकेन तन्दुरी लुछ्दै लेखकले रक्सी सेवन नगरेको र मासु नखाएको बानी राम्रो भन्दै प्रशंसा गरेको कुराले पाठकहरूलाई हसाउँछ र हाम्रो भनाइ तथा गराइबीचको तादाम्यतामा प्रश्नचिह्न लगाउँछ । लेखक बरालले परामर्शदाता र असंगत सोच पाठअन्तर्गत दाता अथवा परामर्शदातालाई खुसी पार्न वास्तविक कुरा ढाकछोप गरेर राम्रो अभ्यास मात्र देखाउन खोज्ने हाम्रो प्रवृत्तिको प्रसंग उजागर गरी वास्तविकतामा जान सुझाब दिएका छन् । क्षतिपूर्ति दाबीमा अनौठो प्रवृत्ति पाठअन्तर्गत दुर्घटना हुँदा अनावश्यक किचलो गरी कानुनबमोजिम नभई मनपरी क्षतिपूर्ति माग्ने विकृतिको उजागर गरिएको छ । त्यसैगरी, आचरण र व्यवहार पाठअन्तर्गत हाम्रो आनीबानी, आचरण, कार्यशैली आदिको बारेमा मननयोग्य र प्रेरणादायी प्रसंगहरू उल्लेख गरिएका छन् । कार्यक्रम औपचारिक : प्रसंग अनौपचारिक पाठअन्तर्गत विभिन्न खालका निमन्त्रणा, कार्यक्रम सञ्चालन गर्ने हाम्रो तौरतरिका, विसंगति आदिको बारेमा उजागर गरिएको छ । अनुभव र उपयोग शीर्षकअन्तर्गत काम गर्दा अनुभवको महत्वसम्बन्धी प्रसंगहरू उल्लेख गरिएको छ । लेखकले आफू विद्यालय निरीक्षक भएदेखि मन्त्रालयसचिव हुञ्जेल अनुभवले पारेको प्रभाव वा कुनै व्यक्ति अनुभव हुँदा र नहुँदा अरूले हेर्ने दृष्टिकोण फरक हुने प्रसंगहरू रोचक ढंगले पाठक माझ पस्किएका छन् ।

पर्यटक आकर्षणमा इजिप्सेली अनुभव शीर्षकअन्तर्गत इजिप्टले पर्यटन प्रवर्द्धनका लागि गरेको प्रयासहरूलाई लेखक आफैँ इजिप्ट भ्रमणमा जाँदा गरिएको अवलोकनका आधारमा उजागर गरेको छ ।

त्यसैगरी आनुवंशिकताको प्रभाव शीर्षकमा आनुवंशले हाम्रो आकार, प्रकार आदिमा पर्ने प्रभाव र एउटै गोत्रभित्र बिहे गर्न नहुने पुर्खाहरूको चलनमा वैज्ञानिक तर्क रहेको कुरा उल्लेख गरिएको छ । गृहस्थीमा फर्किएका गुरु पाठअन्तर्गत एकजना उदाहरणीय शिक्षकको जीवनी उल्लेख गरिएको छ जसमा भारतमा बाल ब्रह्मचारी भएर पढ्दै गरेका नेपाली युवा घरायसी कारण गृहस्थीमा फर्केर अब्बल शिक्षक बनेर समाजसेवामा तल्लीन रहेको प्रसंग उल्लेख छ । सांकेतिक भाषाको मर्मअन्तर्गत न्यून श्रवण शक्ति भएकाहरूले भोग्नुपरेको पीडासम्बन्धी प्रसंगहरू उजागर गरिएको छ ।

अन्तिम पाठको रूपमा, संस्कृतको वास्तविक महत्व रहेको छ जसमा विभिन्न संस्कृत श्लोकहरू र तिनीहरूको अर्थ उल्लेख छ । जुन निकै ज्ञानबर्द्धक, प्रेरणादायी र जीवन दर्शनलाई मार्गदर्शन गर्ने रहेको छ ।

निचोडमा भन्नुपर्दा, ‘सिकाइ र सहयोग’मा जीवन दर्शन, भोगाइ, अनुभूति, पेसागत तीतामीठा अनुभव, विभिन्न विकसित मुलुकमा भएका राम्रो अभ्यासहरू, हाम्रो आहार, बिहार, आनीबानी, कार्यशैली, सोच आदि जस्ता गहन विषयलाई सूक्ष्म लेन्स लगाएर मिहिन किसिमले पाठकमाझ छर्लंग गरिएका छन् र जुन निकै मार्मिक र प्रेरणादायी छन् । समग्रमा, लेखकको लेखनी जीवन्त छ, सरल छ र पाठकको मन छुन्छ र यो पुस्तकमा प्रस्तुत गरिएका प्रसंगहरू एवं प्रतिनिधि पात्रहरूले पाठकलाई आफ्नै बाल्यकाल र पेसागत अनुभूतिहरू पुनः स्मरण हुन आउँछन् । किनभने यो पुस्तकमा उल्लेख गरिएका घटनाहरू र पात्रहरू आमनेपाली समाजको प्रतिनिधि हुन् । यो पुस्तक पढेपछि एउटा नयाँ सोच, नयाँ उमंग सिर्जना हुन्छ र जीवन जिउने कला सिकिन्छ एवं पेसागत कार्यशैली सिकाउन र मार्गदर्शन गर्नमा यो पुस्तक सफल रहेको छ ।