मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मालपोत कार्यालय दमकका कर्मचारी र लेखापढी व्यवसायीको कुटाइबाट घाइते भएका सेवाग्राही सुरेश साह
२०७७ मङ्सिर १८ बिहीबार ०९:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मालपोतका कर्मचारीले कुटे सेवाग्राही र पत्रकार

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १८ बिहीबार ०९:०९:००

शिवसताक्षी– ५ का सुरेश साह जग्गासम्बन्धी काम लिएर मालपोत कार्यालय दमक पुगे । एक सहकारीबाट ऋण लिन लागेका उनी आफूसँग भएको जग्गा रोक्का गर्न मालपोत पुगेका थिए । सहकारीले उनको ६ कट्ठा १५ धुर जग्गा धितोमा राखेर २० लाख रुपैयाँ दिने गरी ऋण स्वीकृत गरेको थियो । तर, मालपोतका खरिदार इन्द्र राजवंशीले कागजात नपुगेको भन्दै कर्मचारीले उनलाई दुई दिनसम्म दुःख दिए ।

थोरै थैली राखिएको जग्गामा धेरै ऋण लिन नमिल्ने भन्दै खरिदार राजवंशीले फाइल रोकिराखे । साहले केही महिनाअघि मात्र कट्ठाको पाँच लाख थैली राखेर सो जग्गाको राजीनामा पास गरेका थिए । फाइल स्वीकृत गराउने हो भने ऋण लिन लागेको एक प्रतिशत अर्थात् २० हजार रुपैयाँ आफूलाई दिनुपर्ने खरिदार राजवंशीको भनाइ थियो ।

‘काम गर्नुपर्छ भने ऋण लिन लागेको पैसाको एक प्रतिशत अर्थात् २० हजार दिनुपर्छ भनेर बारम्बार दुःख दिने काम भयो । तर, मैले प्रक्रिया पुर्‍याएर मालपोत कार्यालय आएकाले घुस नदिने अडान लिएँ,’ साहले नयाँ पत्रिकासँग भने, ‘सहकारीले ऋण स्वीकृत गरेको छ । ऋण तिर्न नसके सहकारीले मेरो जग्गा लिलाम गर्छ । मालपोतलाई किन सरोकार भन्दा पनि रोकिराख्नुभयो ।’

साहका अनुसार खरिदार राजवंशीले २० हजारबाट दश, पाँच हुँदै पैसा नदिए काम नगर्ने अडान लिइराखे । त्यसपछि उनले एकजना पत्रकारलाई सबै कुरा बताएर घुसबापतको रकम मंगलबार दिउँसो ४ बजेतिर राजवंशीलाई दिए । उनले गोजीमा राखे भने पूर्वयोजनाअनुसार त्यहाँ पुगेका मिडियाकर्मीले घुस लिएको भन्दै फोटो खिच्न थाले । 

‘पत्रकारले फोटो खिच्न थालेपछि आत्तिएका राजवंशीले मालपोतकै अन्य कर्मचारी र लेखापढी व्यवसायीलाई बोलाएर मलाई नै कुट्न थाले,’ साहले भने, ‘इन्द्र राजवंशीसहितका कर्मचारी र लेखापढी व्यवसायी गरी सयजनाभन्दा बढी थिए ।

मालपोत कार्यालयभित्रबाट कुट्दै–कुट्दै खेदाए । म कार्यालयबाट बाहिर निस्किएर दुई सय मिटरजति भाग्दा पनि कुट्न छाडेनन् । ज्यान जोगाएर भागेँ । साहसँगै घुसको समाचार संकलनका लागि मालपोत कार्यालय दमक पुगेका पत्रकार खगेन्द्र घिमिरेमाथि पनि कुटपिट भयो ।

मालपोतका कर्मचारी र लेखापढी व्यवसायीको कुटाइबाट साह घाइते भएका छन् । पत्रकार घिमिरेलाई पनि सामान्य चोट लागेको छ । तर, घुस लिने कर्मचारीमाथि कुनै कारबाही भएको छैन । घुस लिएको विषयमा प्रमाणसहित आए छानबिन गरेर कारबाही गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले जनाएको छ ।

घुस लिइसकेको अवस्थामा पनि प्रमाणसहित पीडितले जाहेरी दिए छानबिन गर्ने अख्तियारले जनाएको छ । मालपोत कार्यालय दमकका प्रमुख तारानाथ दंगालले मंगलबार कार्यालयमा अप्रत्याशित घटना भएको बताए । उनले कार्यालयमा आएका सेवाग्राहीमाथि भएको हातपातले लज्जित र दुःखी बनाएको बताए । तर, सेवाग्राही कुटिनुमा कार्यालयका कर्मचारीको संलग्नता नरहेको दाबी गरे ।