१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ मङ्सिर १८ बिहीबार ०८:५७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चौँरीपालक किसानलाई ५३ लाख अनुदान

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ मङ्सिर १८ बिहीबार ०८:५७:००

भोटेकोसी गाउँपालिकाको लिस्ती, फुल्पिङकट्टी र मार्मिङको लेकाली भेगमा अहिले चार सयजति चौँरीका बथान छन् । पहिला झन्डै हजारको संख्यामा थिए । चौँरीपालक किसानलाई राज्यले कहिल्यै वास्ता पनि गरेन । 

त्यसैले केही वर्षयता लेकाली भेगमा चौँरीको संख्या ह्वात्तै घटेको छ । चौँरीबाट उत्पादित सामग्रीको बजारीकरण, स्याहारसुसार र औषधोपचार नभएकोले चौँरीको संख्या घटेको हो । लेकाली जंगलमा पशुपालनमा जीवन गुजारेका किसानको मर्कालाई ध्यान दिएर भोटेकोसी गाउँपालिकाले दाताको खोजी गर्‍यो । 

भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलको पहलमा अहिले लिस्तीमाथि छगामबगामको चौँरी खर्कमा ६० चौँरी थपिने भएका छन् । इटालियन संस्था एसियन नेपाल र बुद्धिष्ट संस्था सेन्डाकले संयुक्त रूपमा चौँरीपालक किसानलाई ५३ लाख अनुदान दिएका छन् ।

६० चौँरीका लागि ३३ लाख र खानेपानीसहित अन्य व्यवस्थापनका लागि २० लाख अनुदान पाएका किसान खुसी भएका छन् । लेकाली भेगमा रहेका राम्रा प्रजातिका चौँरी खोज्न छगामबगामका किसान अहिले हेलम्बु र दोलखाको बिगु लेकमा पुगेका छन् । चौँरीको मूल्य ५० हजारदेखि एक लाखसम्म पर्छ । 

यो वर्ष छगामबगामका १५ किसानलाई यो अनुदान प्रदान गरिएको हो । खर्कमा रहेका १५ गोठमा अहिले तीन सय चौँरी छन् । यसको संख्या बढाउन अन्यत्रबाट चौँरी आयात गर्न लागिएको पौडेलले बताए । ‘फुल्पिङकट्टी र मार्मिङमा रहेको ३० गोठका लागि आउँदो वर्ष अनुदान दिने योजना छ,’ उनले भने ।

चौँरीबाट उत्पादित दूधजन्य सामग्रीको बजारीकरणका लागि लेकाली खर्कमै संकलन केन्द्र पनि स्थापना गरिएको छ । चौँरीपालक किसानको उत्साहलाई माथि उठाउन गाउँपालिकाले प्रत्येक किसानको गोठमा रहेका चौँरीको बिमा र औषधोपचारको जिम्मा लिएको छ ।

चौँरी खर्कको व्यवस्थापन र उत्पादित सामग्रीको बजारीकरणका लागि स्थापना गरिएको चौँरी संरक्षण समितिले कुल आम्दानीको ६० प्रतिशत किसानलाई र ४० प्रतिशत कोषमा राखेर पुनः किसानकै लागि सेयरमा परिणत गर्ने योजना बनाएको छ ।