मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
डा. कबीर सरदाना
२०७७ मङ्सिर १८ बिहीबार ०८:१८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कोभिडको समाधान भ्याक्सिन मात्रै होइन

Read Time : > 2 मिनेट
डा. कबीर सरदाना
२०७७ मङ्सिर १८ बिहीबार ०८:१८:००

भाइरसको सम्पर्कमा आएका प्रत्येक व्यक्तिमा पोजेटिभ एन्टीबडी हुँदैन, तर तिनमा प्रतिरोधात्मक क्षमता हुन सक्छ

भारतमा यति वेला यही प्रश्न गरिँदै छ कि कोभिड–१९ को भ्याक्सिन सबैभन्दा पहिले कसले पाउनेछन् । कोरोना भाइरससम्बन्धी सूचनाको अभावमा यसो भनिँदै छ । के तपाईंले कहिल्यै सफा कोठामा घामको प्रकाश आउँदै गरेको देख्नुभएको छ ? यदि छ भने त्यहाँ तपाईंले अनेकौँ धुलोका कणहरू देख्नु हुनेछ, जुन पहिले तपाईंले देख्न सकिरहनुभएको थिएन । कोभिडसम्बन्धी हाम्रो धेरैजसो अनुभव यस्तै हो । हामीले जे देख्नुपर्ने थियो, त्यो देखिरहेका छैनौँ बरु हामीले त्यसविपरीत सेरोलजिकल परीक्षणको तथ्यांक मात्रै देखिरहेका छौँ । 

पश्चिमा विशेषज्ञको प्रारम्भिक अनुमान के थियो भने भारतमा यो भाइरसले हजारौँ मानिस मारिनेछन् र अस्पतालले बिरामीको चाप थेग्न सक्नेछैनन् । साथै दर्जनौँको संख्यामा डाक्टर पनि मारिनेछन् । वास्तवमा के आशंका जाहेर गरिएको थियो भने वायु प्रदूषण र कोभिड–१९ का कारण अगस्ट आउँदा नआउँदै प्रत्येक दिन संक्रमणका झन्डै दुई लाख नयाँ बिरामी देखा पर्नेछन् । तर, अहिले त्यस्तो केही पनि भएन । हो, केही अस्पतालमा कोभिडका बिरामी देख्न सकिन्छ र त्यहाँका डाक्टरले कोभिड नलागेका बिरामीको उपचार गर्न सकिरहेका छैनन् । 

यस्ता अस्पतालमा डाक्टरहरूको १४ दिने सिफ्ट चल्ने गर्छ कि एक महिने बिदा दिने गरिएको छ । त्यसैले उनीहरूमा भाइरसको संक्रमण हुनु दुर्लभ मानिन्छ । तर, नयाँदिल्लीको राममनोहर लोहिया जस्ता अस्पताल र खास गरेर सरकारी अस्पताल, जहाँ हामीले दैनन्दिन गैरकोभिडका बिरामी हेरिरहेका छौँ, त्यहाँ दर्जनौँको संख्यामा डाक्टरहरूको मृत्यु भएको छैन । यदि हामीमा रोग प्रतिरोधक क्षमता हुँदैनथ्यो भने के यो सम्भव थियो त ?

सजिलो शब्दमा भन्ने हो भने कोभिडको संक्रमण देखिनुभन्दा पहिले नै रुघाखोकी र श्वासतन्त्रमा अन्य समस्या पैदा गर्ने भाइरसले क्रस–इम्युनिटी अथवा अन्य भाइरसका खिलाफ प्रभावशाली प्रतिरक्षा प्रणाली विकसित गर्न सक्छन् ।
 

हाम्रा अस्पतालमा एउटा असामान्य घटना भएका छन्, जहाँ रेजिडेन्ट डाक्टर, जसले एउटै टेबलमा बसेर चार–पाँच अन्य डाक्टरका साथ खाना खाएका थिए, उनलाई कोभिड पोजेटिभ देखियो, तर अन्यलाई देखिएन । पोजेटिभ देखिएका व्यक्ति र अन्यका बीचमा ६ मिटरको दूरी कायम नगर्दा, मास्कको प्रयोग नगर्दा र १५ मिनेटभन्दा धेरै समय त्यस्ता व्यक्तिसँग बिताउँदा अरूलाई पनि संक्रमणको जोखिम हुने गर्छ । यसैगरी घरका केही सदस्यलाई छोडी परिवारका अधिकांश सदस्यलाई कोभिड पोजेटिभ देखिएको छ । यसैगरी एउटै परिवारमा कोभिडका कारण मृत्यु वरण गरेका परिवारका सदस्यमा पनि कोभिड नेगेटिभ देखिएको छ । यो व्याख्याको निकै ठूलो महत्व छ । किनभने देशका सबै त कोरोनाका कारण नराम्रो गरी संक्रमित भइसकेका छैनन् । अब प्रश्न उठ्छ, यस्तो कसरी भयो ?

वास्तवमा हामी शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कम महत्व दिन्छौँ र तथाकथित सेरोलोजिकल टेस्टका माध्यमबाट यसको एउटा सानो हिस्सामा भएको एन्टीबडीको आकलन गर्छौँ, जुन आफैँमा कमजोर धरातलमा हुन्छ । अब हामीलाई के थाहा भइसकेको छ भने यसको परिणाम र प्रतिक्रियामा एकरूपता हुँदैन । जुन बहुप्रचारित प्लाज्मा परीक्षणको असफलताले स्पष्ट गरेको छ । वास्तवमा कोरोना भाइरसको सम्पर्कमा आएका प्रत्येक व्यक्तिमा पोजेटिभ एन्टीबडी हुँदैन । त्यति हुँदाहुँदै पनि तिनमा यसका खिलाफ प्रतिरोधात्मक क्षमता हुन सक्छ । के कुरा स्पष्ट छ भने दिल्ली जस्तो कोभिड प्रसारको अनुकूल भूगोलमा पनि सबैलाई संक्रमण भइरहेको छैन । नोवेल कोरोना भाइरस वा सार्स–कोव–२, भाइरस त्यसै वर्गका हुन्, जसले सामान्य रुघाखोकी निम्त्याउँछन् । हामीहरू बर्षौँदेखि रुघाकोखी व्यहोर्दै आइरहेका छौँ । वास्तवमा भारतमा डाक्टरको निर्देशनविनै सर्वाधिक बिक्ने औषधि यसैको हुने गर्छ । 

रुघाखोकीको प्रत्येक संक्रमणले शरीरमा आफ्नो एउटा छाप छोडिरहेको हुन्छ । जसरी हामीलाई छिमेकीसँगको प्रत्येक झगडा सम्झना भइरहेको हुन्छ । त्यसैले भाइरसले मेमोरी टी–सेल इम्युनिटी पैदा गर्छ भन्नु तर्कसंगत देखिन्छ । के मानिन्छ भने कोभिडको सम्पर्कमा नआएका २० देखि ५० प्रतिशत व्यक्तिमा पहिलेदेखि नै यस प्रकारको क्रस–रिएक्टिभ मेमोरी हुन्छ । साइन्स पत्रिकाको अक्टुबरको अंकमा जोस मैट्सको महत्वपूर्ण शोधमा भनिएको छ– राम्रो स्वास्थ्य भएका बिरामीमा यस्तो प्रतिरक्षा कोषिकाहरू पाइन्छन्, जुन सार्स–कोव–२ र सामान्य रुघाखोकीको भाइरसका खिलाफ प्रभावकारी छन् । यसैगरी नेचर पत्रिकाको अगस्टको अंकमा प्रकाशित नीना लाबर्टको एउटा शोधअनुसार पनि सार्स र कोभिडको सम्पर्कमा नआएका मानिसमा पनि सार्स–कोव–२का खिलाफ प्रतिरोधी टी–सेल पाइएका छन् । सजिलो शब्दमा भन्ने हो भने कोभिडको संक्रमण देखिनुभन्दा पहिले नै रुघाखोकी र श्वास तन्त्रमा अन्य समस्या पैदा गर्ने भाइरसले क्रस–इम्युनिटी अथवा अन्य भाइरसका खिलाफ प्रभावशाली प्रतिरक्षा प्रणाली विकसित गर्न सक्छन् । 

अन्ततः शरीरको प्रतिरक्षा क्षमताले हामीलाई जोगाउन मुख्य भूमिका खेल्ने गर्छ । र, के कुराको पूरै सम्भावना छ भने अदृश्य प्रतिरक्षा क्षमताले भन्दा सम्भवतः नैसर्गिक प्रतिरक्षा क्षमताले नै प्रभावकारी काम गर्छ । भारतमा यस्तै देखिँदै छ । 

(लेखक नयाँदिल्लीस्थित राममनोहर लोहिया अस्पतालमा त्वाचा विज्ञानका प्रोफेसर हुन्)
द प्रिन्टबाट