१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर १८ बिहीबार ०७:४८:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर १८ बिहीबार ०७:४८:००

चीनको वुहानमा गत डिसेम्बरमा पत्ता लागेको र पहिले वुहानपछि चीनका अरू क्षेत्र हुँदै संसार ढाकेको कोभिड–१९ विरुद्ध एक वर्ष नहुँदै खोपको विकास गरिएको छ । रोग पत्ता लागेसँगै सुरु भएको खोप यति छिटै आउनु स्वास्थ्य विज्ञानका क्षेत्रमा मानव जातिले गरेको अभूतपूर्व सफलताको द्योतक पनि हो । यतिवेलासम्म विश्वभर झन्डै साढे ६ करोडलाई संक्रमित बनाएको र झन्डै १५ लाख जतिको ज्यान लिएको कोरोना भाइरसको फैलावका कारण विश्वको अर्थतन्त्र, समाज र मानिसका आम क्रियाकलापमा ठूलो प्रभाव परेको थियो । केही समयअघि बेलायती अर्थमन्त्रीले बेलायत तीन सय वर्षयताकै ठूलो आर्थिक मन्दीको चपेटामा परेको भनेर चिन्ता व्यक्त गरेका थिए । 

फाइजर खोप प्रयोगको थालनीले एउटा आशावादितालाई जन्म दिन्छ र मानिसमा भविष्यप्रति विश्वास जाग्छ । आशा गरौँ, हामी नेपालीले पनि छिटै खोप लगाएर ढुक्कसँग समाजमा अन्तरक्रिया गर्न पाउने दिन आउनेछन् ।

यसबाहेक मृत्यु व्यहोरेका परिवारहरू, बिरामी भएर आइसियू र भेन्टिलेटरसम्म पुगेर फर्केकाहरू, लकडाउनका कारण काम र माम नपाएर मृत्यु वरण गरेकाहरू सबैले व्यहोरेको सामूहिक दुःखको चित्र भयानक हुन आउँछ । तर, अब यसविरुद्धको खोप तयार भएको छ । फाइजर बायोएनटेक कम्पनीको खोप प्रयोग गर्न बुधबार बेलायतले औपचारिक रूपमा स्वीकृति दिएपछि यसको व्यावसायिक प्रयोग अर्को साताबाट आरम्भ हुने भएको हो । यसबाहेक पनि चीन, रसिया, अमेरिकालगायत देशमा यस्ता दर्जनौँ खोपको परीक्षण र विकास भइरहेको छ । परीक्षण कालमा फाइजरको खोपले ९५ प्रतिशतसम्म सफलता दिएको बताइएको छ । खोपको विकास र आरम्भ भएको प्रयोगसँग कोभिड–१९ को आतंक मत्थर हुनेछ । यद्यपि यसको प्रयोग नेपालजस्तो देशका लागि त्यति सहज नहुने बताइन्छ । 

विकास हुँदै गरेका अरू खोपहरू पनि केही दिन वा महिनामा प्रयोगमा आउनेछन् । यस्ता खोपमध्ये ठूलो मात्रामा उत्पादन गर्न सकिने र प्रयोगमा फाइजरभन्दा कम समस्या पर्ने खोप नै नेपालका लागि आमजनस्तरमा लान सहज हुनेछ । सम्भवतः नेपालका लागि यस्ता खोपहरूको उपलब्धता चीन या भारतमा हुने ठूलो पैमानाको उत्पादनपछि सहज हुनेछ । तथापि नेपालले अहिले नै कमसेकम अग्रमोर्चामा बसेर काम गरिरहेकालाई उपलब्ध हुन सक्ने गरी खोप सबैभन्दा छिटो जताबाट उपलब्ध हुन सक्छ, त्यो ल्याउने बन्दोबस्त मिलाउँदा संक्रमण विस्तारको भय कम हुन्छ । यस्तो भय कम गर्नुको पनि अर्थतन्त्र र समाजमा आफ्नै महत्व हुनेछ । अहिले पनि विद्यालय बन्द छन् । खेल जगत् निष्क्रिय छ । खाजाघर या रेस्टुरेन्टसहित पर्यटन उद्योग धराशयी छ । मनोरञ्जनका अन्य क्षेत्रहरू सिनेमा, नाटक, रात्रि जीवन, संगीतजस्ता क्षेत्र पनि पक्षघातमा परेका छन् । 

यस्तो समयमा समाज र अर्थतन्त्र दुवैलाई गतिशील बनाउन भाइरसको संक्रमण नियन्त्रणभित्र छ भन्ने सन्देश जानु जरुरी छ । खोप नै त्यसको मुख्य आधार हो । सरकारले त्यसका लागि आवश्यक कानुन अध्यादेशमार्फत ल्याइसकेको र तयारीका लागि संयन्त्रसमेत बनाइसकेको छ । नेपालका लागि खोप अझै पनि केही समय परको विषय अवश्य हो । तर, फाइजर खोप प्रयोगको थालनीसँगै यता पनि कोभिडलाई मान्छेले परास्त गरेको सन्देश अवश्य प्रवाहित हुनेछ । त्यसले एउटा आशावादितालाई जन्म दिन्छ र मानिसमा भविष्यप्रति विश्वास जाग्छ । आशा गरौँ, हामी नेपालीले पनि छिटै खोप लगाएर ढुक्कसँग समाजमा अन्तत्र्रिmया गर्न र आफ्ना दैनिक कार्यव्यापारमा निर्धक्क लाग्न पाउने दिन आउनेछन् ।