इजरायलले सन् २०१० देखि २०१२ का बीचमा आधा दर्जन इरानी आणविक वैज्ञानिकको हत्या गर्दा केहीले ती हत्याले आणविक कार्यक्रमलाई सुस्त बनाउन सघाउने तर्क गरेका थिए । बहुपक्षीय कूटनीतिले उल्लेख्य प्रगति गर्न नसकेको अवस्थामा ती धारणा आएको हुन सक्छ ।
तर, शुक्रबार मारिएका इरानका वरिष्ठ आणविक वैज्ञानिक मोहसेन फख्रिजादेहको हत्यालाई अलग सन्दर्भमा हेरिनुपर्छ । इरानले अहिले पुनः युरेनियम प्रशोधन सुरु गरेको भए पनि हालकै परिमाणको युरेनियमले हतियार निर्माण गर्न सकिँदैन ।
ट्रम्प प्रशासनले एकल रूपमा इरानसँग गरेको आणविक सम्झौताबाट हात झिकेपछि इरानले पछिल्लो कदम उठाएको हो । इरानसँग भएको आणविक सम्झौताले सन् २०३१ जनवरीसम्म इरानलाई आणविक हतियार बनाउन रोक्थ्यो, तर ट्रम्प अचानक एकतर्फी रूपमा सो सम्झौताबाट बाहिरिए ।
बाइडेन विगतको सहमतिमा फर्के आफूहरू सम्झौताका बुँदा मान्न प्रतिबद्ध रहेको इरानले बताएको छ । तर, त्यसका लागि राष्ट्रपति ट्रम्पले थोपरेका प्रतिबन्ध हटाउनुपर्ने उसको सर्त छ । यस्तोमा प्रश्न उठ्छ, अहिले नै फख्रिजादेहलाई किन मारियो ? इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थन लिएर आगामी अमेरिकी प्रशासनको कूटनीतिक प्रयासमा अवरोध पुर्याउन सुरु गरेकोजस्तो देखिन्छ ।
इजरायललाई बाइडेनको कार्यकाल सुरु भएपछि अमेरिका पुरानो आणविक सम्झौतामा फर्केला भन्ने डर छ । आणविक सम्झौता सुचारु भएमा इरानमाथि लगाइएका कठोर प्रतिबन्ध हट्नेछ । त्यसो भएमा इरानको संघर्षरत अर्थतन्त्रले पुनर्जीवन पाउने र मध्यपूर्वमा उसको प्रभाव कम हुने इजरायललाई डर छ । फख्रिजादेहको हत्याले यो प्रयासलाई कठिन बनाउनेछ ।
इजरायली सरकारले हालसम्म हत्याको जिम्मेवारी लिएको छैन, तर विभिन्न रिपोर्ट तथा हत्याको प्रकृति हेर्दा दोष इजरायलको जासुसी संस्था मोसादका एजेन्टतर्फ तेर्सिन्छ । जहाँसम्म ट्रम्प प्रशासनको कुरा छ, उसलाई हत्याको योजनाबारे पहिले थाहा दिइएको हुन पनि सक्छ, नहुन पनि सक्छ । तर, विदेशमन्त्री माइक पोम्पेओ हालसालै इजरायलमा थिए र ट्रम्प प्रशासनका कुनै सदस्यले पनि हत्याको विरोध गरेका छैनन् ।
फख्रिजादेहको हत्याले इरानको आणविक क्षमतामा असर गर्नेछैन । किनकि, इरानले आणविक दक्षता हासिल गर्ने सन्दर्भमा उलेख्य प्रगति हासिल गरिसकेको छ । अमेरिकी गुप्तचरका अनुसार इरानले १७ वर्षअघि नै आणविक हतियार बनाउने कार्यक्रम सञ्चालन गरेको थियो ।
तर, सिआइएले पहिचान गरेपछि त्यसवेला यो कार्यक्रम रोकिएको थियो । पछिल्लो हत्यापछि नै इरानले हतियार बनाउन सुरु नगर्ला, तर यसले अमेरिका र इरानबीचको शत्रुता बढाउनेछ । जुन कूटनीतिक प्रयासका लागि प्रत्युत्पादक हुनेछ र इरानभित्रका कट्टरपन्थीहरू थप सबल हुनेछन् । आगामी जुनमा इरानमा राष्ट्रपतीय चुनाव हुँदै छ, त्यसमा पनि कट्टरपन्थीहरूको प्रभाव बढ्नेछ ।
मोहसेन फख्रिजादेहको हत्यासँग आणविक बम निर्माण रोक्ने उद्देश्यको कुनै लिनुदिनु छैन, खासमा यसको एउटै लक्ष्य भावी कूटनीतिमा अवरोध पुर्याउने रहेको देखिन्छ
फख्रिजादेह हत्याको इरानी नेताहरूले कडा शब्दमा आलोचना गरेका छन् । राष्ट्रपति हसन रुहानीले उचित समयमा इरानले जवाफ दिने बताए । हत्याका लागि इजरायललाई दोष लगाउँदै रुहानीले भने, ‘यो जघन्य हत्यालाई हेर्दा पछिल्ला साता हाम्रा शत्रुहरू अत्यन्त भयभीत भएको देखिएको छ ।
सम्भवतः एउटा युगको अन्त्य हुँदै छ र विश्वव्यापी व्यवस्थामा परिवर्तन आउँदै छ भन्ने कुराले तिनको मनमा दबाब बढाएको हुनुपर्छ ।’ इजरायलसँग बदला लिने रुहानीको भनाइलाई हेर्दा आगामी दिनमा हमास अथवा प्यालेस्टाइनी इस्लामिक जिहादप्रतिको इरानको समर्थन बढ्ने देखिन्छ । परिणामस्वरूप इजरायली पर्यटक र विद्यार्थीमाथिको आक्रमणको जोखिम बढ्नेछ । इजरायलसँगको घनिष्टताका कारण अमेरिकीहरू पनि निसानामा पर्न सक्छन् ।
तनाव बढिरहँदा अमेरिकी राष्ट्रपति निर्वाचन जितेर सत्ता सम्हाल्ने पर्खाइमा बसेका बाइडेनले इरानसँगको सम्बन्धमा गम्भीर चुनौती सामना गर्नुपर्ने हुन्छ । बाइडेनले इरानसँगको वार्ता सूचारु गर्ने वाचा गर्दै आएका छन् । तर, बाइडेन र उनको टिमसँग अहिले मिडियामार्फत इरानलाई शान्त रहन आग्रह गर्न सक्नेबाहेक विकल्प छैन । उता, इरानसँगको आणविक सम्झौतामा कायम रहेको र इरानसँग कूटनीतिक सम्बन्ध नटुटाएका युरोपेली मुलुकहरूले बाइडेनको उद्घाटनसम्म क्षति न्यूनीकरणको प्रयास गर्न सक्छन् ।
ब्रिटेन, फ्रान्स र जर्मनीले इरानसँगको आणविक सम्झौता कार्यान्वयन भए÷नभएको निगरानी गर्ने आयोग गठन गर्ने प्रयास गर्नुपर्नेछ । तिनले अन्तर्राष्ट्रिय कानुनमा गैरकानुनी मानिएको र आणविक अप्रसार नीतिमा क्षति गर्न सक्ने हत्याको आलोचना गर्नुपर्छ । युरोपेली संघको वैदेशिक तथा सुरक्षा नीति हेर्ने उच्चायुक्तका एक प्रवक्ताले हत्यालाई ‘आपराधिक कार्य’को रूपमा व्याख्या गरिसकेका छन् ।
विभिन्न कारणले इरानको आणविक कार्यक्रम सुस्त गतिमा अघि बढिरहेको छ । इरान र अमेरिका सम्बन्ध अत्यन्त सुमधुर भएको वेला सन् १९५० को दशकबाट अमेरिकी सहयोगमा इरानको आणविक कार्यक्रम सुरु भएको थियो । त्यसको एक दशकपछि जोनसन प्रशासनले इरानलाई पहिलो आणविक अनुसन्धान रियाक्टर उपहार दियो ।
इरानको आणविक कार्यक्रम सुरु भएको ६० वर्षमा इजरायल, भारत, पाकिस्तान र उत्तर कोरियाले आणविक बम बनाइसक्दा इरानले अझै बनाएको छैन । देशमा अझै पनि एउटा मात्र आणविक ऊर्जा संयन्त्र छ । इजरायलको उग्रताले इरानलाई हतियार निर्माणका लागि उकास्यो भने दुःखद अवस्था आउनेछ । यसले मध्यपूर्व क्षेत्रभर आणविक हतियारको दौड सुरु गराउनेछ, जुन अस्थिर मध्यपूर्वलाई घातक ठहरिनेछ । विगतको अनुभव हेर्ने हो भने मध्यपूर्व अशान्तिले विश्वलाई नै प्रभावित बनाउनेछ ।
बारबरा स्लाभिन ‘फ्युचर अफ इरान इनिसिएटिभ एट द एट्लान्टिक काउन्सिल’की निर्देशक हुन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य