१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
लकडाउनमा सुनसान ठमेल । फाइल तस्बिर
केदार दाहाल काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार ०९:४४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोरोना महामारी असर : सन् २०२० मा पर्यटक अगमन ८० प्रतिशतले घट्यो

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार ०९:४४:००

कोभिड १९ का कारण नेपालको पर्यटन आगमनदरमा समेत गम्भीर धक्का लागेको छ । सन् २०१९ को तुलनामा सन् २०२० को ११ महिनामा आगमनमा ८० प्रतिशतले गिरावट आएको छ ।

 कोरोना महामारीका कारण सन् २०१९ को तुलनामा सन् २०२० को ११ महिनामा ८० प्रतिशतले पर्यटक आगमनमा कमी आएको छ । सन् २०१९ को ११ महिनामा १० लाख ९६ हजार ३ सय २३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर, सन् २०२० को ११ महिनामा २ लाख २० हजार १ सय २० पर्यटकले मात्रै नेपाल भ्रमण गरेका छन् । 

सन् २०१९ को नोभेम्बरमा १ लाख ३० हजार ३ सय २ पर्यटक नेपाल भ्रमणमा आएकोमा सन् २०१० मा १ हजार ९ सय ४७ मात्रै आएका छन् । यो संख्या गत वर्षको तुलनामा ९८.५० प्रतिशतले कमी हो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गर्दै भव्य उद्घाटनसमेत गरेको थियो । तर, महामारी सुरु भएसँगै भ्रमण कार्यक्रम रद्द गरिएको थियो ।

सन् २०२० विश्वभर नै हरेक क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा पनि असर पारेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए । अव पहिलो चरणमा आन्तरिक पर्यटकबाटै पर्यटनको उत्थान गर्ने  सरकारले नीतिगत रूपमै व्यवस्थामा लागेको मन्त्री भट्टराईले जानकारी दिए । ‘भ्याक्सिन आएको खण्डमा सन् २०२१ को मध्यसम्ममा पहिलेकै अवस्थामा फर्कने अनुमान छ,’ मन्त्री भट्टराईले भने 

सरकारले १ मंसिरदेखि सबै गतिविधि खुलाएसँगै विदेशी पर्यटक आउने सम्भावना बढेको सिइओ रेग्मीले बताए । गत १ कात्तिकदेखि आंशिक रूपमा विदेशी पर्यटकलाई नेपाल आउन दिइएको थियो । ‘अहिले आइरहेको बुकिङ नै उत्साहप्रद रहेकाले सन् २०२१ मा पर्यटन क्षेत्रमा केही सहजता सुरु हुनेछ,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले भने । 

 बढ्दै छन विदेशी पर्यटक, नोभेम्बरमा दैनिक ६४ जना विदेशी पर्यटक
अहिलेको संकेतले सन् २०२१ को सुरुवातदेखि नै केही संख्यामा पर्यटक बढ्ने अनुमान रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी (सिइओ) धनञ्जय रेग्मी बताउँछन् । अक्टोबरमा दैनिक ६२ जना विदेशी पर्यटन नेपाल भ्रमणमा आएकोमा नोभेम्बरमा दैनिक ६४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोरोना महामारीकै बीचमा पर्यटकीय सहर ठमेलमा चहलपह बढ्न थालेको छ ।

गत चैत ११ देखि बन्द भएको ठमेलमा आन्तरिक पर्यटकले नै रौनक भर्न थालेका छन् । विदेशी पर्यटकले भरिने ठमेल कोभिड १९ पछि भने आन्तरिक पर्यटकले केही रौनक भर्न थालेको छ । ठमेलका सबैजसो रेस्टुरेन्ट र पसल खुल्न थालेका छन् । 

होटलहरू पनि केही क्षमतामा खुलाउन थालिएको छ । साना होटलहरू अधिकांशले पूरै क्षमतामा चलाउन थालेका छन् । यता रेस्टुरेन्ट, डान्स तथा बारहरू पनि खुल्न थालेका छन् । ठमेलकै सबैभन्दा ठूलो एलओडीसमेत बुधबारदेखि खुलेको छ ।

जुन डान्स बारमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित परिवारले डान्स गरेपछि चर्चामा आएको थियो । ‘ठमेलमा आन्तरिक पर्यटकले नै चहलपहल बढाएका छन्, बिस्तारै लयमा फर्कँदैै छ,’ ठमेल पर्यटन विकास परिषद्का महासचिव ध्रुव अधिकारीले भने । ठमेलमा ७ हजार पसल रहेका छन् । त्यस्तै, ६ सय रेस्टुरेन्ट र डान्स तथा बार रहेका छन् । त्यस्तै, सयौँको संख्यामा होटल रहेका छन् । सबैले खुलाएको र व्यापार विस्तारमा लागेको महासचिव अधिकारीले बताए । 

 मुलुककै ठूलो क्लब बुधबारदेखि सञ्चालनमा
गत चैतदेखि बन्द भएको ठमेलमा रहेको देशकै सबैभन्दा ठूलो नाइट क्लब ‘लर्ड अफ ड्रिङ्स’ (एलओडी) बुधबारदेखि सञ्चालनमा आएको छ । सञ्चालनमा आएको एक वर्षमा नै लकडाउनपछि बन्द गरिएको थियो । एलओडी साँझ ६ बजेदेखि ९ बजेसम्म लाइभ म्युजिकसहितको लन्ज सेवाबाट सञ्चालनमा आएको हो । ठमेलमा अब स्वास्थ्य मापदण्ड अपनाएर २४सै घन्टा खोल्न दिनुपर्ने महासचिव अधिकारी बताउँछन् । अहिले ९ बजेनै प्रशासनले बन्द गर्दै हिँडेकाले समस्या आएको बताउँदै ठमेल बचाउनका लागि भने पनि अब पूरै समय खोल्नुको विकल्प नरहेको अधिकारीले बताए । 

 अधिकांश घरबेटीले दिए ७० प्रतिशतसम्म भाडा छुट
ठमेलमा रहेको व्यवसाय बचाउँन भन्दै १ हजार ७ सय घरबेटीले ३० देखि ७० प्रतिशतसम्म एक वर्षका लागि भाडा छुट गरेका छन् । ठमेल क्षेत्र बचाउनुपर्छ भनेर घरबेटी र व्यवसाय सञ्चालन गर्नेबीचको मध्यस्थता गरिरहेको ठमेल पर्यटन विकास परिषद्का महासचिव अधिकारीका अनुसार ९० प्रतिशत व्यवसायीलाई १ वर्षसम्म विभिन्न छुट दिएको जानकारी दिए । ‘मेरो आफ्नै पनि ६ वटा व्यवसाय भाडामै हो, ३० प्रतिशतदेखि ७० प्रतिशतसम्म भाडामा छुट दिएका छन्,’ अधिकारीले भने ।  

कोभिड–१९ महामारीका कारण व्यापार–व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरू विस्थापित हुने अवस्थामा पुगेकाले ठमेलको विकल्प अन्यत्र हुन नसक्ने भएकाले सबै  बाँचाैँ र बचाऔँ अभियानमा लागेको अधिकारी बताउँछन् । नेपालमा आएका ८० प्रतिशत पर्यटक ठमेल पुग्ने गरेका थिए । ठमेलमा घुम्ने, सपिङ गर्ने, खाने, बस्ने गर्छन् । ठमेलको व्यापार पूर्ण रूपमा पर्यटनमा आधारित छ । सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गरेपछि ठमेलमा व्यवसाय गर्दै आएका व्यवसायीहरूले लगानी पनि बढाएका थिए । 

 पोखरा र सौराहा आन्तरिक पर्यटकले भरिए 
काठमाडौंबाहिरका मुख्य पर्यटकीय सहर सौराहा र पोखरा आन्तरिक पर्यटकले भरिएको छ । काठमाडौंमा भन्दा काठमाडौंबाहिर आन्तरिक पर्यटकको गतिविधि अत्यधिक बढेको छ । पोखरा र सौराहासहित लुम्बिनीमा समेत आन्तरिक पर्यटक बढ्दो क्रममा रहेको बोर्डका सिइओ रेग्मीले बताए । सरकारले आन्तरिक पर्यटक बढाउनका लागि नयाँ अभियान सुरु गर्ने गरी काम भइरहेको समेत रेग्मीले बताए ।