१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार ०९:२४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साना उद्यमीलक्षित स्टिमुलस प्याकेज ल्याउन महासंघको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार ०९:२४:००

नेपाल उद्योग वाणिज्य महासंघले साना तथा कमजोर उद्यमी व्यवसायीलक्षित स्टिमुलस प्याकेज ल्याउन माग गरेको छ । कोभिडका कारण कमजोर बनेका खासगरी साना उद्यम व्यवसायको पुनरुत्थानका लागि विशेष प्याकेज ल्याउन महासंघले सरकारसमक्ष माग गरेको हो । 

अर्थमन्त्रालयले महासंघको नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्न बुधबार आयोजित कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले कोभिडबाट प्रभावित समग्र अर्थतन्त्रको पुनरुत्थानमा अझै धेरै काम गर्न बाँकी रहेको औँल्याए । ‘अबको समय मुलुुकको उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रको पुनरुत्थानका विषयमा धेरै काम गर्नुपर्ने भएकाले महासंघ सोहीअनुसार तयारी गरी अघि बढेको छ’ उनले भने, ‘अर्थतन्त्रको पुनरुत्थानका लागि महासंघले विज्ञसमेतको सहयोगमा अनुसन्धानमा आधारित रहेर सुझाब तयार गरेर सरकारसमक्ष पेस गर्ने छौँ ।’

कोभिड संकटमा महासंघले दिएका कतिपय सुझाव बजेट तथा मौद्रिक नीतिमार्फत सम्बोधन भएको अध्यक्ष गोल्छाले बताए । तर, साना उद्यमी व्यवसायीहरूलाई मौद्रिक नीतिमार्फत दिइएका सुविधा कार्यान्वयन गर्न स्थानीय तहमा बाणिज्य बैंकहरूले आनाकानी गरिरहेकोसमेत उनले गुनासो गरे । उनले मौद्रिक नीतिमार्फत दिइएका सुविधा अक्षरशः लागू गर्न आग्रहसमेत गरे । ‘समग्रमा साना उद्यमी व्यवसायीलक्षित विशेष स्टिमुलस प्याकेजकै खाँचो छ’ उनले भने ।

 महासंघले ‘भिजन डकुमेन्ट’ बनाउने
महासंघले अन्तर्राष्ट्रिय संस्थाको समेत सहयोगमा मुलुकको “भिजन डकुमेन्ट” तयार गर्ने कार्यलाई अगाडि बढाएको गोल्छाले जानकारी दिए । महासंघले तयार गर्ने उक्त डकुमेन्ट विभिन्न देशका सफल अनुभव र मोडलका आधारमा तयार गरिने उनले स्पष्ट पारे । डकुमेन्ट तयारीपछि सरकारबाट स्वीकृत गराई सहकार्यमा लगिने उनले बताए । ‘उक्त डकुमेन्टबाट मुलुकले हासिल गर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य किटान गरिने छ’ उनले भने । अध्यक्ष गोल्छाले राजस्व बोर्डलाई निजी क्षेत्रको समेत सल्लाह सुझावमा पूर्णता दिन आग्रह गरे ।

 ‘मौद्रिक नीतिका कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्छौँ’
उक्त अवसरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिने बताए । यस विषयमा गुनासाहरू आएकाले आफूले अवरोध पन्छाएर बजेट र मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमहरूको कार्यान्वयनमा तत्परता लिएको उनले स्पष्ट पारे ।

निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै अर्थमन्त्रीपौ डेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताए । ‘रोगजारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ भन्ने सरकारले महसुस गरेको छ, त्यसका लागि सहकार्य हुन्छ’ उनले भने, ‘निजी क्षेत्रलाई हतोत्साहित तुल्याएर र मनोबल गिराएर सार्थक उपलब्धि हासिल हुन सक्दैन ।’