मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार २१:५५:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बुधबार : १० बजेसम्मका १० खबर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार २१:५५:००

५० ग्रामसम्म सुन ल्याउन पाउने सुविधा दुरुपयोग गर्दै नेपाली कामदारमार्फत तस्करी गराउने समूह सक्रिय

गहनाका रूपमा हुने सुन तस्करीमा काठमाडौंका दर्जनौँ सुन पसलेको संलग्नता रहेको प्रहरी स्रोत बताउँछ । बैंकसँग खरिद गर्दाभन्दा तस्करी भएर आउने सुन सस्तो पर्ने भएकाले यसमा ठूलो गिरोह संलग्न हुन सक्ने प्रहरी आकलन छ । महानगरीय अपराध शाखाका एसपी ईश्वर कार्की भन्छन्, ‘यसरी थोरै परिमाणमा सुन तस्करी गराउने धेरै गिरोह सक्रिय छन् भन्ने सूचना छ, तिनीहरूमाथि निगरानी भइरहेको छ ।’

दुई वर्षको नाबालक अवस्थामै आमाबाबुको निधन, हेरचाह गर्न कोही छैन

जिल्लाको छायानाथ रारा नगरपालिका– २ तलितुम गाउँका रामकृष्ण तिरुवा भर्खर दुई वर्ष पूरा भए । उनी दुई वर्षको नाबालक अवस्थामै आमबाबुविहीन बनेका छन् । 

०७५ असोज अन्तिममा जन्मेका रामकृष्ण आमाको गर्भभित्र पाँच महिनाको हुँदा उनका बुबाको काठमाडौंमा ज्याला–मजदुरी गर्न गएको वेला लडेर मृत्यु भएको थियो। उनी दुई वर्ष पुग्दानपुग्दै यही गएको असोजमा उनकी आमाले पनि सधैँका लागि छोडेर गइन् । घाँटीको समस्याबाट पीडित उनीकी आमाको उपचारकै क्रममा जिल्ला अस्पताल मुगुमा निधन भएको थियो । 

प्रहरीद्वारा कांग्रेस नेता रामचन्द्र पौडेल नियन्त्रणमा स् युवा संघ र कांग्रेस कार्यकर्ताबीच तनावपछि स्थिति असामान्य

प्रहरीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ । गृहजिल्ला तनहुँमा बनेको नवनिर्मित पुलको उद्घाटन गर्न गएका वेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

कांग्रेसका तनहुँ जिल्ला सभापति वैकुण्ठ न्यौपानेका अनुसार व्यास नगरपालिका १ र ११ जोड्ने पक्की पुल उद्घाटनका लागि नेता पौडेल गृहजिल्ला पुगेका  थिए । पुल दुई वर्षअघि सम्पन्न भएको र अहिले नेता पौडेलले उद्घाटन गर्न नहुने भन्दै पुल क्षेत्र वरपर सत्तारुढ दल नेकपाको भ्रातृ संगठन युवा संघले विरोध प्रदर्शन गरेको थियो ।

त्यसपछि अवस्था असामान्य हुने र झडप हुने आकलन गरी स्थानीय प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा जारी गरी नेता पौडेलसहित एक दर्जन कांग्रेस–कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । 

अध्यक्ष ओलीविना औपचारिक बैठक बसेर मात्र सचिवालय बैठक सकियो, आउँदो शनिबार पुनः बस्ने

सत्तारुढ दल नेकपाको आजको बैठक औपचारिक रूपमा मात्र बसेर सकिएको छ । आज केहीबेर औपचारिक रूपमा मात्र बसेर पुनः २० गते शनिबार बस्ने गरी बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

आजको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् । अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा औपचारिकताका लागि मात्र बैठक बसेको थियो ।

बेलायत सरकारद्वारा फाइजर खोप प्रयोगको अनुमति 

बेलायतले फाइजर बायोएनटेक कोभिडविरुद्धको भ्याक्सिन प्रयोगका लागि अनुमोदन गरेको छ । अर्को साताको सुरुदेखि फाइजर प्रयोगमा ल्याउने गरी बेलायतले खोपलाई अनुमोदन गरेको हो । फाइजरलाई प्रयोग गर्न अनुमति दिने बेलायत विश्वकै पहिलो देश बनेको छ ।

कोरोना मिटर : थप १४९० मा कोरोना पुष्टि, १५६७ संक्रमणमुक्त

नेपालमा पछिल्ले २४ घन्टामा थप १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै यो अवधिमा १५ सय ६७ जना कोरोना संक्रमित निको भएका छन् । आज कोरोना संक्रमणबाट थप नौजनाको निधन  भएको छ। 

अमेरिकामा एक हप्तामा कोरोनाबाट १० हजारको निधन 

कोरोना महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक सातामा कोरोना संक्रमणबाट झन्डै १० हजार व्यक्तिको निधन भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ७७ हजार नाघेको छ ।

जापानमा बस्ने सबैलाई कोरोनाको खोप निःशुल्क 

जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रूपमा कोरोना भाइरसबाट संक्रमित भेटिइरहेका वेला जापानको संसद्ले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।

नयाँ कानुनअनुसार १२ करोड ६० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेटसमेत पारित गरिएको छ । सरकारले ६ करोड मानिसका लागि औषधि उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने बाँकी दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ ।  

हङकङवासी किन यति धेरै अन्धविश्वासी ?

वित्तीय संस्थामा काम गर्ने वाई ली हङकङको ‘भाग्य बताउने’ मन्दिर वाङ ताई सिनको दर्शन गर्न नियमितजस्तो जान्छिन् । यो हङकङको अति व्यस्त मन्दिरमा पर्छ । यो मन्दिरमा एउटा प्रचलन छ– दर्शन गर्न आउने जोकोही पनि बाँसको ‘भाग्यस्टिक’ले भरिएको ट्युबलाई हल्लाउँछन् । त्यो पनि एकपटक होइन, हजारपटकसम्म हल्लाउनुपर्ने ठान्छन् । ट्युबबाट एउटा लट्ठी ९स्टिक० जमिनमा नखस्दासम्म भक्तजनहरू हल्लाइरहन्छन् । भनिन्छ, ट्युबमा रहेको प्रत्येक स्टिकसँग कुन न कुनै कथा छ । सोही स्टिकसँग जोडेर मन्दिरका पुजारी भविष्य बताउने गर्छन् ।

बेवास्तामा कोभिडपछिको सवारी निर्देशिका स् पालना गर्दैनन् व्यवसायी, अनुगमन गर्दैन विभाग

लामो समय चल्न नसकेका सवारीसाधन असोज १ गतेबाट खुला गरेसँगै भौतिक पूर्वधार तथा  यातायात मन्त्रालयले यातायात व्यवस्था विभागमार्फत सवारीसाधन निर्देशिका जारी गरेको थियो । तर, असोज १ गतेबाट लामो तथा छोटो दूरीको सवारी साधन सञ्चालनमा आएको भए पनि सवारीसाधन  निर्देशिका भने  कुनै पनि  व्यवसायीले पालना गर्न छाडेका छन् । 

सवारीसाधनमा आवश्यकताभन्दा बढी भिड हुँदा पनि यातायात व्यवस्था विभागले पछिल्लो समय कुनै अनुगमन गरेको छैन । ट्राफिक प्रहरीले  निर्देशिका जारी भएको केही दिन कडाइ  गर्ने र पालना नगर्नेलाई कारबाही पनि गर्दै आइरहेको  थियो, तर जब दसैँ–तिहारपछि भने ट्राफिक प्रहरी, विभागले निर्देशिकालाई बेवास्ता गरेका छन्  भने पालना नगर्ने सवारीसाधनलाई कारबाहीसमेत गरेको  अहिले रेकर्ड छैन ।