मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
निर्माण अलपत्र पारिएको राँके-रवि-भेडेटार सडक खण्ड ।
२०७७ मङ्सिर १७ बुधबार १३:१३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

आयोजना अलपत्र पार्ने भारतीय निर्माण कम्पनीलाई कारबाही गरिने 

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १७ बुधबार १३:१३:००

दुई वर्षअघि प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको राँके-रवि-भेडेटारअन्तर्गतकाे सय किलोमिटर सडकखण्ड अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही गरिने भएकाे छ ।  

अन्तिमपटकको समय माग भएको (मंसिर १५ सम्म) मितिमा पनि अपेक्षित प्रगति हुन नसकेपछि निर्माण कम्पनीलाई कारबाहीको तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बताए । 

‘हामीले भारत सरकार, भारतको परराष्ट्र मन्त्रालयसँग पनि कुरा गरिराखेका छौँ,’ उनले भने, ‘उनीहरूले पनि निर्माण कम्पनीलाई तातो लगाइराखेको भन्ने बुझिन्छ । तैपनि अन्तिमपटक भनेर मागिएको समयमा तोकिएअनुसारको काम भएको छैन । उनीहरूले मागेको समय नोभेम्बरभर हो । काम अघि बढ्न सकेको छैन ।’ 

मन्त्री नेम्वाङका अनुसार निर्माण कम्पनीले नोभेम्बरभरिमा २० प्रतिशत सम्पन्न गर्ने भन्दै समय मागेका थिए । अहिले करिब सात प्रतिशत मात्रै काम भएको छ । 

मन्त्री नेम्वाङका अनुसार आफैँले मागेको समयमा पनि काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरेर नयाँ प्रक्रियाबाट काम अघि बढाउने सहमति भएकाे छ ।
 
तीन वर्षभित्रमा कालोपत्रे सक्ने गरी भारतीय ठेकेदार कम्पनी एफको इन्फ्राको प्रालीसँग २०७५ मा सम्झौता भएको थियो । आयोजनाका लागि तीन करोड २६ लाख १८ हजार पाँच सय ४१ अमेरिकी डलरमा सम्झौता भएको हो । 

नेपाल सरकारको १३ प्रतिशत र भारत सरकारको ८७ प्रतिशत लगानीमा ५० प्रतिशत सामग्री भारतको प्रयोग गर्ने गरी न्यूनतम ब्याजदरमा भारतीय एक्जिम बैंकको ऋण सहयोग सम्झौता भएको थियो । 

सडक निर्माण भएको दुई दशकपछि एक सय दशमलव तीन किलोमिटर सडक कालोपत्रे हुन लागेको थियो । सडकले धनकुटाका भेडेटार, नाप्जे, ओख्रे, डाँडाबजार, राजारानी, चौकीभञ्ज्याङ, देउराली, समिया, मढेवास, सौरेबजार, ६ नम्बर बुधबारे क्षेत्रलाई समेट्छ । यस्तै, पाँचथरका कम्फुटार, लेकगाउँ, कन्याटार, दारेगौडा, चिसापानी पञ्चमी, रवि, सप्तमी, उत्तरे, घुबिर्से पञ्चमी, पुरानो पञ्चमी, देउरालीलगायत ग्रामीण बजारमा पुग्छ ।

इलामको फुयतप्पा, चमैता, एकतप्पालगायत क्षेत्र हुँदै सडक राँके बजार जोडिन्छ । राँके-भेडेटार बाटोलाई आधार बनाएर मोरङका विभिन्न गाउँ जाने सडक छन् ।

दक्षिणी पाँचथर सदरमुकामसहित तराईका बजारमा जोड्ने महत्वको बाटो भएका कारण पनि स्थानीयले सडक निर्माणबारे चासो राख्ने गरेका छन् । सडक निर्माण सुस्त भएपछि सम्बन्धित निकायमा पटकपटक जानकारी गराइएको रविका व्यवसायी निरानन्द घिमिरेले बताए । 

‘यो अवस्थाबारे सबैलाई जानकारी छ । निर्माण व्यवसायीको लापरबाही प्रस्टै देखिन्छ,’ उनले भने, ‘अब पनि अघि नबढे राज्यले विकल्प खोज्नुपर्छ ।’ 

तीनै तहका सरकारले चासो दिएको छ : प्रदेश अर्थमन्त्री

१ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो मौसमले सडक निर्माणमा सरकारको चासो रहेको बताएका छन् । 

मिक्लाजुङ गाउँपालिकाको रविबजारनजिक १५ शय्याको अस्पताल भवनको शिलान्यास कार्यक्रममा मन्त्री आङ्बोले बाटो बनाउने विषयमा सबै तहका सरकार गम्भीर भएर लागेको बताएका छन् ।

‘हामीले यो सडकलाई चासोका साथ हेरेका छौँ,’ उनले भने, ‘सबै तहका सरकारबीच सडक निर्माणका विषयमा गम्भीर कुराकानी जारी छ । कुनै बहानामा पनि सडक निर्माण अवरुद्ध हुन दिने अवस्था छैन ।’