१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
जिल्लाको उत्तरी भेगमा रहेको सोरु गाउँपालिका– २ मा पर्ने जनज्योति माविमा प्रार्थना सभामा सहभागी विद्यार्थी । तस्बिर : नयाँ पत्रिका
२०७७ मङ्सिर १७ बुधबार ०७:५७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मुगुको सोरु गाउँपालिकामा खुले विद्यालय

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १७ बुधबार ०७:५७:००

सोरु गाउँपालिकाले आफ्नो सीमा क्षेत्रका सबै विद्यालयमा पठनपाठन सुरु गरेको छ । कोरोना महामारीका कारण गत चैतबाट भएको बन्दाबन्दीले करिब नौ महिना बन्द रहेका सामुदायिक तथा निजी विद्यालय १५ मंसिरबाट पठनपाठनका लागि खुलेका हुन् ।

१२ मंसिरमा बसेको गाउँ कार्यपालिकाको बैठकले विद्यालय खोल्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार विद्यालयमा पठनपाठन सुरु गरिएको सोरु गाउँपालिकाका शिक्षा प्रमुख निर्मल देवकोटाले जानकारी दिए । पालिकाअन्तर्गत ४७ विद्यालय छन् । तीमध्ये आठ माध्यमिक, ६ निमावि र ३३ प्रावि छन् । ती सबै विद्यालयमा स्वास्थ्य सुरक्षाका मापडण्ड अपनाउँदै सोमबारदेखि पठपाठन सुरु गरिएको उनले बताए । प्रत्येक विद्यालयमा हेल्थडेस्कस्वास्थ्य सतर्कताका लागि प्रत्येक विद्यालयमा हेल्थडेस्क स्थापना गरिएको छ ।

विद्यालयमा माक्स, स्यानिटाइजर अनिवार्य गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मुगुका प्रमुख सूर्य खत्रीले कुनै विद्यार्थी वा शिक्षकमा कोभिड– १९ संक्रमणका लक्षण देखिए तत्काल पठनपाठन रोक्ने निर्णय भएको बताए । सोमबारदेखि सञ्चालनमा आएका सोरु गाउँपालिकाका सबै विद्यालयमा विद्यार्थीको उपस्थिति भने न्यून देखिएको छ । 

चार सय ५९ विद्यार्थी रहेको जनज्योति माध्यमिक विद्यालय नार्थपुमा पहिलो दिन ८५ जना र दोस्रो दिन एक सय ३५ जनाको उपस्थिति रहेको विद्यालयका लेखापाल नरजंग शाहीले जानकारी दिए । सञ्चारको अभाव, भौगोलिक विकटता र लामो समयसम्म बन्दाबन्दीका कारण सुरुका दिनमा विद्यार्थीको उपस्थिति न्यून भएको अनुमान गरिएको छ । सम्पूर्ण विद्यार्थीलाई विद्यालय सञ्चालन हुनेबारे समयमै खबर तथा सूचना गरिसकिएको उनले जनाए ।

जिल्लाका चारवटा स्थानीय तहमध्ये सोरु गाउँपालिकाले १५ मंसिरदेखि नै सबै विद्यालयमा पठनपाठन सुरु गरिसकेको छ । छायानाथ–रारा नगरपालिकाले १८ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । कार्मारोङ गाउँपालिकाको १७ मंसिरमा कार्यपालिकाको बैठक बस्दै छ । खत्याड गाउँपालिकाले पनि केही विद्यालयमा पठनपाठन सुरु गरिसकेको छ भने शुक्रबारसम्म सबै विद्यालयमा पठनपाठन सुरु गर्ने भएको छ ।