मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर १७ बुधबार ०७:२७:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कहिले खुल्छन् फिटनेस सेन्टर ?

सरकार कोरोना भाइरसबाट जोगिन नियमित शारीरिक व्यायाम गर्नु भन्छ, तर नौ महिनादेखि फिटनेस सेन्टर बन्द छ

Read Time : > 2 मिनेट
२०७७ मङ्सिर १७ बुधबार ०७:२७:००

सरकारले गत चैतमा कोरोना भाइरस (कोभिड १९) महामारी नफैलियोस् भन्ने उद्देश्यले बन्द गरेका धेरै क्षेत्र खुले । तर, फिटनेस सेन्टरहरू खुलाउने सम्बन्धमा सरकारले अहिलेसम्म कुनै आधिकारिक निर्णय गरेको छैन । स्वस्थ खानेकुरा खाने र नियमित शारीरिक व्यायाम गर्ने हो भने भाइरस संक्रमणबाट जोगिने सरकारले नै भन्दै आइरहेको छ ।

यद्यपि, चैतमा सरकारको आदेशसँगै बन्द भएका नियमित शारीरिक व्यायाम गर्ने उपयुक्त ठाउँ फिटनेस सेन्टरहरू खोल्नेबारे भने सरकारले अझै निर्णय गरेको छैन । यसबाट फिटनेस सेन्टर धाउनेहरू स्वास्थ्यलाभ गर्नबाट वञ्चित त भएकै छन्, व्यवसायीहरूले ठूलो नोक्सान व्यहोर्नुपरेको छ । 

देशभर आठ नौ–सयको संख्यामा फिटनेस सेन्टर सञ्चालनमा रहेको व्यवसायीहरू बताउँछन् । काठमाडौं उपत्यकामा मात्रै ६ सयदेखि सात सयको संख्यामा रहेको अनुमान छ । पछिल्लो झन्डै नौ महिनादेखि बन्द हुँदा उनीहरूले व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको गुनासो गरेका छन् । तर, बन्द गर्न पनि सहज छैन । किनभने धेरै तौलका उपकरण हुन्छन् । उनीहरूले तत्काल फिटनेस सेन्टर खोल्न दिन र यो संकटमा व्यहोर्नुपरेको नोक्सानीबाट उठ्न राहतको व्यवस्था गरिदिन सरकारसँग अनुरोध गरेका छन् ।

आममानिसमा फिटनेस सेन्टरलाई जिम र आवारा केटाहरूले पाखुरा बनाउने ठाउँ भनेर बुझ्ने गरेको ओसियन फिटनेस प्लसका सञ्चालक गौरीमान राई बताउँछन् । उनका अनुसार फिटनेस सेन्टर जिम मात्रै हैन । त्यहाँ अरू धेरै कुरा हुन्छन् । ‘मानिसहरूलाई मनोरञ्जनका साथ शारीरिक व्यायाम गर्न प्रेरित गर्ने माध्यम हुन्छन् । डान्स हुन्छ ।

साउना, जुम्बा, एरोबिक, ज्याकुजी, स्विमिङ पुल हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले एउटा फिटनेस सेन्टर सञ्चालकको हैसियतले म सरकारसँग अनुरोध गर्दछु कि यो क्षेत्रका लागि अब राहतको घोषणा गर्नुपर्छ । फिटनेस क्षेत्रलाई बचाउने मात्रै हैन, व्यवसायीहरूको लगानीको सुरक्षा गर्न पनि अब सरकारले कुनै कार्यक्रम ल्याउन आवश्यक छ । सरकारले अस्पताल, खेलकुद र स्वास्थ्य जनचेतनाका लागि जति खर्च गर्छ, त्यसको थोरै प्रतिशत मात्रै पनि यो क्षेत्रलाई सहयोग गरे पुग्ने छ । बरु, यसको मापदण्ड सरकारले नै तोक्नुपर्छ ।’

सरकारले सहुलियतका कार्यक्रम ल्याउनुपर्छ

गौरीमान राई सञ्चालक, ओसियन फिटनेस प्लस

 सम्भवतः कोरोना महामारीले सबैभन्दा ठूलो क्षति फिटनेस क्षेत्रलाई पुर्‍याएको छ । सरकारले गत चैतमा पहिलोपटक लकडाउनको घोषणा गर्दा बन्द गरिएका धेरै क्षेत्र खुलिसकेका छन् । तर, फिटनेस क्षेत्र खुलाउनेबारे अझै निर्णय गरेको छैन ।

पछिल्लो झन्डै नौ महिनादेखि फिटनेस सेन्टर बन्द गर्नुपर्दा आम्दानी ठप्प छ । त्यसमाथि भाडा त तिर्नुपरेकै छ । यो अवस्थाले गर्दा सञ्चालकहरू ठूलो आर्थिक नोक्सानीमा परेका छन् । यो क्षेत्रलाई सरकारले बेवास्ता गरेको महसुस गरेको छु । यसमा ठूलो लगानी छ । एउटै फिटनेस सेन्टर खोल्न तीन–चार करोड रुपैयाँसम्मको लगानी परेको छ । यत्रो लगानी गरेर नौ महिनासम्म भाडा मात्रै तिरेर बस्नुपर्दाको अवस्था पीडादायी छ ।

धेरै व्यवसायीहरू फिटनेस सेन्टर बन्द गर्ने अवस्थामा पुगेका छन् । यो सेवा बन्द गर्नकै लागि पनि सहज छैन । यसका सामान कसैले किन्दैनन् । किन्ने कोही भेटिहाले पनि निकै सस्तो मूल्यमा बिक्री हुन्छ । हजारौँ किलो तौलको सामान हुने भएका कारण यसलाई बन्द गरेर घर लगेर राख्न पनि मुस्किल छ ।

सरकारले खोल्न दिने निर्णय नगर्दा व्यवसायीहरू ठूलै संकटमा परेका छन् । अब सरकारले जारी कोरोना संकटलाई मध्यनजर गरेर फिटनेस सेन्टरलाई यो समस्याबाट बचाउने गरी नयाँ कार्यक्रम ल्याउनुपर्छ । फिटनेस सेन्टरले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको मूल्यांकन गरी सरकारले अब सहुलियतको कार्यक्रम ल्याउनुपर्छ । सरकारले कम्तीमा दर्ता नवीकरण गर्दा करमा छुट दिनुपर्छ । समयअनुसार नयाँ सामान ल्याउनुपर्ने भएका कारण नयाँ सामान ल्याउँदा करमा सहुलियत दिनुपर्छ । 

फिटनेस सेन्टरहरू आममानिसको स्वास्थ्यमा योगदान पुर्‍याउने क्षेत्र हो । नियमित व्यायाम गर्ने हो भने अस्पताल जानुपर्दैन । नियमित शारीरिक व्यायामले मानिसलाई स्वस्थ बनाइराख्छ । मानसिक र शारीरिक रूपमा तन्दुरुस्त बनाइराख्छ ।

युवाहरूलाई कुलतमा लाग्नबाट बचाउँछ । अनुशासित बनाउँछ । व्यायाम गर्न आउने मान्छेहरू खानेकुरामा पनि सचेत हुन्छन् । फिटनेस सेन्टरले आममानिसलाई स्वस्थ रहनकै लागि मद्दत गर्छ । तैपनि यो क्षेत्रबारे सरकारी निकाय र कतिपय मानिसको बुझाइ फरक पाएको छु । केही वर्षअगाडि मात्रै म कर तिर्न जाँदा यो क्षेत्रलाई कर कति लगाउने भन्नेसम्म रहेनछ । सरकारले यो क्षेत्रको नियमन नै गर्नसकेको छैन । 

फिटनेस सेन्टरको स्तर र सेवा हेरेर उसले लिने शुल्कको निर्धारण गरिदियोस् । क्षमता र सेवाअनुसार तिनको वर्गीकरण गरिदियोस् । यसले गर्दा सेवाग्राहीलाई पनि सहज हुनेछ । यसले कोरोना भाइरसविरुद्धको सरकारको अभियानमा पनि मद्दत पुग्नेछ ।

शारीरिक रूपमा स्वस्थ रहे कोरोनाबाट पनि बच्न सकिन्छ भनेर त सरकारले नै भनिरहेको छ । फिटनेस सेन्टरले मानिसलाई स्वास्थ्य नै बनाउने हो । प्रायः फिटनेस सेन्टरहरू जग्गा भाडामा लिएर खोलिएका छन् । फिटनेस सेन्टर सञ्चालक र घरबेटीबीच ठूलै समस्या हुने गरेको छ । विशेष गरी यस्ता संकटको समयमा भाडाको विषयलाई लिएर समस्या सिर्जना हुने गरेको छ । त्यसैले, सरकारले घरबेटीसँग व्यवसायीहरूको सम्झौतामा पनि मापदण्ड तय गरेर सहयोग गर्नुपर्छ ।