१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर १७ बुधबार ०७:११:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

केदार वाशिष्ठको ‘नेपाल विद्या : सिद्धान्त र प्रयोग’ सार्वजनिक

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १७ बुधबार ०७:११:००

लुम्बिनी कपिलवस्तु दिवसको अवसर पारेर केदार वाशिष्ठको अनुसन्धानमूलक कृति ‘नेपाल विद्या ः सिद्धान्त र प्रयोग’ सार्वजनिक भएको छ । लेखक वाशिष्ठकी आमा केदारकुमारी भट्टराई र संस्कृतिविद् सत्यमोहन जोशीले कृतिको लोकार्पण गरेका हुन् ।

सन् १८९६ डिसेम्बर १ मा तत्कालीन ब्रिटिस इन्डिया सरकारका कर्मचारी जर्मन नागरिक डा. एलोइस एन्टोन फुहरर र नेपालका बडाहाकिम खड्गशमशेरले लुम्बिनीको अशोक स्तम्भ पुनः पत्ता लगाएको दिनलाई स्मरण गर्दै सन् २००९ देखि १ डिसेम्बरलाई लुम्बिनी कपिलवस्तु दिवसका रूपमा मनाइँदै आएको छ ।

अनुसन्धानकर्ता केदार वाशिष्ठले नेपाल विद्यामा लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन र शिला खोजेको भाषासमेत उल्लेख गरेका छन् । ४४४ पृष्ठको कृतिलाई विद्यार्थी पुस्तक भण्डारले प्रकाशन गरेको छ । नेपाल विद्या विधा अध्ययन, अध्यापन र अनुसन्धानको नयाँ विधा रहेका कारण त्यसलाई पठनपाठन तथा अनुसन्धानको विषय बनाउन सहयोग होस् भनेर नेपालका सबै विश्वविद्यालयमा अनुसन्धानकर्ता र प्रकाशकको हस्ताक्षरसहितका प्रति प्रदान गरिने लेखक वाशिष्ठले जानकारी दिए ।

नेपाल विद्याको सैद्धान्तिक खण्डमा भारत विद्या, चीन विद्या, तिब्बत विद्या, इजिप्ट विद्या, आर्मेनियाली विद्या र विकासका लागि जापान विद्यालगायतका देशीय विद्याको सन्दर्भ खोज्दै नेपाल विद्याको जग हालिएको छ । त्यसका साथै अन्य विषयगत अध्ययनको क्षेत्रका सम्भावनामा बुद्ध विद्या र किराँत विद्याको चर्चा गरिएको छ ।

देशीय विद्याका सैद्धान्तिक आधारसहित नेपाल विद्याको खोजी, प्रयोजन र सम्भावना यसमा पाइन्छ । देशीय विद्या अध्ययनको सन्दर्भमा नेपाल विद्याको पहिलो प्रयोग लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन रहेको छ । बुद्ध र बुद्धको जीवनसँग सम्बन्धित सम्पदाबारे भारतले बारम्बार दाबी गर्ने गरेका कारणको खोजी यसमा गरिएको छ । 

नेपाल विद्याको अर्को प्रयोग शिला खोजेको भाषा नेपालको भूक्षेत्र र नेपालका भाषाको खोजीसँग सम्बन्धित छ । खासगरी, बेलायती अध्ययन परम्परामा नेपालको इतिहास लेखन र खोजी हुँदा नेपाली भाषामाथि भएको अन्यायलाई बेलायती अध्ययन परम्पराभन्दा अघिका ल्याटिन, आर्मेनियाली, अरबी र ग्रिसेली अध्ययन परम्पराले न्याय दिने गरी यसमा खोजी भएको छ ।

त्यसक्रममा सन् १७१७ मै नेपाली नामबाटै नेपाली भाषाको अध्ययन भएको सन् १७५९ मा देवनागरी लिपिमै नेपाली भाषा युरोपमा छपाइको युगमा पुगेको र १७७१ मा व्याकरण परम्परामा प्रवेश गरेको पाइएको छ ।