१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
इरिको कोबायासी
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर १७ बुधबार ०७:०२:००
Read Time : > 4 मिनेट
विश्व प्रिन्ट संस्करण

जापानमा कोरोनाभन्दा आत्महत्या भयावह

कोरोनाबाट एक वर्षमा दुई हजार ८७ को मृत्यु, अक्टोबरमै दुई हजार १५३ ले गरे आत्महत्या

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर १७ बुधबार ०७:०२:००

इरिको कोबायासीले चारपटक आफैँलाई मार्ने प्रयास गरेकी छिन् । पहिलोपटक उनले आफू २२ वर्षको हुँदा आत्महत्याको प्रयास गरेकी थिइन् । त्यसवेला उनी एउटा प्रकाशन गृहमा कार्यरत थिइन् । एसियाकै महँगोमध्येको टोकियो सहरमा उनका लागि त्यो जागिरबाट आएको पैसाले घरभाडा तिर्न र तरकारी किन्नसम्म पुग्दैनथ्यो । आत्महत्या गर्ने प्रयास गर्दा अचेत भएर तीन दिन अस्पतालमा बिताएकी उनी भन्छिन्, ‘म साँच्चै निकै गरिब भएकी थिएँ ।’ 

अहिले ४३ वर्ष पुगेकी उनमा धेरै परिवर्तन आएको छ । उनले अहिले त मानिसले भोग्नुपरेको मानसिक स्वास्थ्यसम्बन्धी किताब पनि लेखेकी छिन् । एउटा एनजिओमा जागिर खाँदै छिन् ।तर, चिन्ताको विषय कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएपछि उनमा फेरि पहिलेको जस्तै समस्या देखिन थालेको छ । ‘मेरो तलब कटौती भएको छ । यो अवस्था तत्काल अन्त्य हुने लक्षण पनि देखेकी छैन,’ उनी भन्छिन्, ‘म अहिले एक किसिमको संकटको अनुभव गरिरहेकी छु । फेरि गरिब हुन्छु भन्ने त्रास थपिएको छ ।’

विज्ञहरूले कोरोना महामारीले मानिसमा अझ बढी मानसिक संकट निम्त्याउन सक्ने चेतावनी दिइरहेका छन् । ठूलो संख्यामा बेरोजगारी, सामाजिक दूरी, चिन्ताजस्ता कारणले गर्दा यो संख्या पछिल्लो छोटो समयमै निकै ठूलो अन्तरले अघि बढ्दै छ । जापान सरकारको तथ्यांकअनुसार कोरोनाभाइरस महामारीले यो वर्षभरिमा मृत्यु भएको भन्दा पनि बढी जापानीले गत अक्टोबर महिनामा मात्रै आत्महत्याबाट ज्यान गुमाएका छन् ।

जापानको नेसनल पोलिस एजेन्सीकाअनुसार अक्टोबरमा आत्महत्या गर्नेको संख्या दुई हजार एक सय ५३ छ । जापानको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार शुक्रबारसम्ममा कोरोनाले मृत्यु हुनेको संख्या दुई हजार ८७ मात्रै थियो । जापान विश्वकै ठूला अर्थतन्त्रमध्येको एक हो, जसले यो संकटको समयमा आत्महत्या गर्नेहरूको संख्या चाँडै सार्वजनिक गरेको छ । 

जापानको यो कामले अरू देशलाई पनि जारी मानवीय संकटमा मानिसको मानसिक स्वास्थ्यका लागि अपनाइएका उपाय कति प्रभावकारी देखिए र यो संकटमा कुन समूह बढी जोखिममा रहेछ भनेर हेर्न सहज हुने अपेक्षा छ । ‘हामीसँग अहिले लकडाउन पनि छैन । अरू देशसँग तुलना गर्ने हो भने यो संकटको असर पनि निकै कम छ । तैपनि आत्महत्या गर्नेको संख्या निकै ठूलो छ,’ टोकियो विश्वविद्यालयका एसोसिएट प्राध्यापक मिचिको वेडा भन्छन्, ‘यसले भविष्यमा अरू देशमा पनि यस्तो प्रकृतिको वा योभन्दा पनि ठूलो समस्या देखिन सक्ने संकेत गरेको छ ।’

महिलामा बढ्दो समस्या
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार आत्महत्या गर्नेको संख्याविश्वमै जापानमा उच्च छ । जापानले यसको न्यूनीकरणका लागि ठूलो संघर्ष गर्दै आइरहेको छ । सन् २०१६ मा जापानमा आत्महत्या मृत्युदर प्रति एक लाखमा १८.५ प्रतिशत थियो । जापानको यो समस्या समाधान निकै मुस्किल छ ।

लामो समय काम गर्नुपर्ने बाध्यता, विद्यालयको तनाव, सामाजिक दूरी र सांस्कृतिक बाध्यताले निम्त्याउने मानसिक समस्यालाई आत्महत्यासम्म पुर्‍याउने मुख्यकारण बताइएको छ । सन् २०१९ देखिअघिका १० वर्षमा भने जापानमा यो संख्यामा केही कमी आएको देखिएको थियो । यस अवधिमा जापानको स्वास्थ्य मन्त्रालयका अनुसार यो संख्या २० हजार थियो । सन् १९७८ मा जापानले पहिलोपटक आत्महत्या गर्नेहरूको अध्ययन र तथ्यांक राख्न थालेदेखि यताकै कम संख्या थियो ।

यद्यपि, कोरोना भाइरस महामारीले त्यो क्रमलाई फेरि उल्टाइदिने संकेत गरेको छ । कोरोना भाइरस महामारी सुरु भएपछि फेरि आत्महत्या गर्नेहरूको संख्या बढ्न थालेको छ र यसको ठूलो प्रभाव महिलामा देखिएको छ । चिन्ताको विषय महिलाले आत्महत्या गर्ने क्रम बढ्दो अवस्थामा देखिएको छ । गत अक्टोबर महिनामा मात्रै जापानमा आत्महत्या गर्ने महिलाको संख्या गत वर्षको यही अवधिको तुलनामा झन्डै ८३ प्रतिशतले वृद्धि भएको छ । त्यसको तुलनामा आत्महत्या गर्ने पुरुषको संख्या २२ प्रतिशतले मात्रै बढेको छ ।

यसका धेरै सम्भावित कारण छन् । जापानमा धेरै महिलाले होटेल, फास्टफुड र अरू क्षेत्रमा ‘पार्टटाइम’ काम गर्छन् । कोरोना महामारी सुरु भएपछि यस्ता धेरैको जागिर गएको छ । जागिरबाट निकालिनेमा यस्तै ‘पार्टटाइमर’हरू पहिलो प्राथमितामा परे । ‘जापानले महिलालाई बेवास्ता गरिरहेको छ,’ उनी भन्छिन्, ‘यो त्यस्तो समाज हो, जहाँकुनै खराब चिज भयो भने कमजोरलाई पहिले फालिन्छ ।’

सहायतासम्बन्धी गैरनाफामुखी अन्तर्राष्ट्रिय संस्था केयरले १० हजार मानिसमाथि अध्ययन गरेको छ । अध्ययनमा सहभागी महिलामध्ये २७ प्रतिशतले कोरोना संकटमा मानसिक स्वास्थ्यमाथि बढ्दो चुनौतीको महसुस गरेको बताएका थिए । यो समस्या महसुस गर्नुको पछाडि महिलाको आयस्रोतसँग जोडिएको छ । आयस्रोत घटेको अवस्थामा पनि उनीहरूले अरू त्यस्ता धेरै जिम्मेवारी निर्वाह गर्नुपरेको छ । 

जागिर खाइरहेका महिलाका लागि पनि अवस्था सहज छैन । महामारी सुरु भएपछि विद्यालयले छोराछोरीलाई घर फर्काइदिएका छन् । हेरचाह केन्द्रबाट पनि घर फर्किएका छन् । जागिर खाइरहेका महिलालाई कार्यालयको काम पूरा गरेर नानीबाबुहरूको हेरचाह र घरको काम भ्याउनुपर्ने हुन्छ । आफ्नो नानीबाबुहरूको स्वास्थ्य र सुविधाको चिन्ताले पनि कोरोना संकटको अवधिमा आमाहरूमाथि थप समस्या थपिदिएको अध्ययनले जनाएको छ । 

नाम सार्वजनिक गर्न नचाहेकी ३५ वर्षीया एक महिलाले यस्तै समस्याबाट पार पाउन विज्ञको सहायता लिएको बताएकी छिन् । ‘मेरो छोरालाई ६ साता अस्पतालमा राख्नुपरेको थियो । म साँच्चै निकै चिन्तित भएकी थिएँ,’ उनी भन्छिन्, ‘पहिले ममा मानसिक समस्या भएको कुनै इतिहास नै थिएन । तर, अहिले म आफैँलाई जतिखेर पनि धेरै चिन्तित भइरहेको पाउँछु ।’ कोरोनाको समस्या बढ्दै जाँदा उनको यो चिन्ता पनि बढ्दै गयो । उनलाई छोरामा कोरोना संक्रमण भइहाल्ला कि भन्ने चिन्ता पनि थियो । ‘मलाई लाग्यो कि अब आशा छैन । म सधैँ नकारात्मक र गम्भीर खालको कुरा मात्रै हुन्छ भन्ने सोच्थेँ’, उनी भन्छिन् ।

‘तपाईंका लागि ठाउँ’
गत मार्चमा २१ वर्षीया विद्यार्थी कोकी ओजोराले २४ घन्टा चल्ने मानसिक स्वास्थ्यबारे हटलाइन सुरु गरे । यसलाई उनले ‘अनटा नो इबासो’ भनेका छन्, जसको अर्थ हुन्छ तपाईंका लागि ठाउँ । उनका अनुसार हटलाइनमा दैनिक औसतमा दुई सय कल आउने गरेको छ र त्यसमा धेरै संख्या महिलाको छ । ‘उनीहरूले आफ्नो जागिर गुमाए । उनीहरूसँग पैसा छैन । तैपनि उनीहरूलाई आफ्नो नानीबाबु हुर्काउनु छ,’ उनी भन्छन्, ‘त्यसैले उनीहरूले आत्महत्याको बाटो रोजे ।’ धेरैजसो फोन रातको १० देखि बिहानको चार बजेसम्म आउँथे ।

हटलाइनमा विश्वका विभिन्न ठाउँबाट ६ सय स्वयंसेवी सहभागी छन्, जसले विभिन्न समय अवधिमा सहयोगसहित फोन गर्नेहरूसँग परामर्श गरी सहयोग गर्छन् । तर, सञ्चालक ओजोराका अनुसार सहयोगको अपेक्षासहित फोन गर्ने सबैलाई जवाफ दिने पर्याप्त स्वयंसेवी अभाव देखिएको छ । 

उनीहरूले ‘म्यासेज’ हेरेर आपत्कालीन अवस्थाका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर सहायता दिने गरेका छन् । उनीहरूले त्यस्तोमा आत्महत्या वा त्यस्तै अरू शब्दसहित आउने म्यासेजलाई तत्काल सहायता दिने गरेका छन् । उनका अनुसार त्यस्तामध्ये ६० प्रतिशत म्यासेजलाई पाँच मिनेटभित्रै सहायता दिइने गरिएको छ ।

यस क्रममा एक स्वयंसेवीले एकजनालाई ४० मिनेटसम्म सहायता दिने गरेको छ । अनलाइनमार्फत आउने म्यासेजमा मानिसले आफ्ना पूरा पीडा पोखेका हुन्छन् । सेवाका लागि अनलाइन म्यासेजको माध्यम रोज्नेहरूमा युवा बढी छन् । उनका अनुसार गत अप्रिलमा धेरै आमाले कोरोना महामारीका कारण आफ्नो जागिर गएको र नानीबाबुहरू हुर्काउन मुस्किल भएको एउटै समस्या राखेका थिए । त्यसमध्ये धेरैले आफ्नै नानीहरू मार्नेसम्मको योजना बनाएकोबारे पनि बताएको ओजोराले उल्लेख गरेका छन् ।

बालबालिकामाथि दबाब
जापान जी–सेभेनअन्तर्गतको यस्तो एउटा मात्रै देश हो जहाँ १५ देखि ३९ वर्षका युवाको आत्महत्यादर नकारात्मक बिन्दुतर्फ उकालो लाग्दै छ । जापानकै स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरस महामारीभन्दा पहिले २० वर्षभन्दा मुनिका युवाको आत्महत्यादर पनि बढ्दो अवस्थामा देखिएको छ ।

कोरोना महामारी सुरु भएपछि जारी विभिन्नखाले नियमका कारण बालबालिका विद्यालय र हेरचाह केन्द्रबाट घर फर्किएको अवस्थामा थप समस्या हुने सम्भावना देखिएको छ । ओजोराका अनुसार बालबालिका तनावपूर्ण घर बसाइ, गृहकार्य पूरा नगर्नुको दबाबलगायत समस्या झेलिरहेका छन् । उनका अनुसार पाँच वर्षसम्मका विद्यार्थीले पनि हटलाइनमा सहायताका लागि फोन गरेका छन् ।

महामारीका कारण लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थीलाई धेरै गृहकार्य थपिएको छ । यो समयमा उनीहरूले आफ्ना साथीहरूसँग भेट्न पनि पाइरहेका छैनन् । उनीहरूसँग अरू वेलाको भन्दा निकै कम स्वतन्त्रता छ । यसले पनि समस्या बढाइरहेको छ ।
 एजेन्सीको सहयोगमा