मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार ०९:०१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अधिक तरलता भएपछि बजारबाट ५० अर्ब उठाउँदै राष्ट्र बैंक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार ०९:०१:००

बैंक तथा वित्तीय संस्थाहरूमा लामो अवधिदेखि रहेको अधिक तरलताको समस्या समाधान गर्न राष्ट्र बैंकले प्रणालीबाट पुँजी तान्न लागेको छ । बुधबार बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले एकैपटक ५० अर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकले २८ दिने निक्षेप संकलन उपकरणका माध्यममार्फत बजारबाट पुँजी खिच्न लागेको हो । 

राष्ट्र बैंकले १७ मंसिरमा जारी हुने ५० अर्बको निक्षेप संकलन उपकरण १५ पुसमा साँवा र ब्याजसहित फिर्ता गर्ने भएको हो । बैंक तथा वित्तीय संस्थाले कम्तीमा ५ करोडदेखि अधिकतम ५ करोडले भाग जानेबराबरको रकम राष्ट्र बैंकमा पार्क गर्न सक्नेछन् ।

बैंकहरूले निक्षेपको ब्याजदर थप नघटाउन र कर्जा विस्तार जथाभावी नगरून् भन्नका लागि पनि बजारबाट अधिक तरलता खिच्नुपर्ने अवस्था आएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले बताए । बैंकहरूमा उच्च तरलता भएपछि सेयर बजारमा समेत लगानी बढेको छ । बजारमा अहिले दैनिक ४ देखि ९ अर्ब रुपैयाँसम्म सेयर कारोबार हुन थालेको छ । 

गत असारदेखि असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा ४ दशमलव ५ प्रतिशतले बढेर ३४ खर्ब ३४ अर्ब पुगेकोमा सेयर धितोमा कर्जा भने १८ प्रतिशतले बढेर ५९ अर्ब रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाले आठ महिनामा निक्षेपको ब्याजदरसमेत करिब डेढ प्रतिशतले घटाएका छन् । कोरोनाको प्रभाव र बन्दाबन्दी सुरु हुनुअघि (फागुन)सम्म निक्षेपमा औसत ६ दशमलव ७७ प्रतिशत दिइरहेका बैंक तथा वित्तीय संस्थाले असोज अन्त्यसम्ममा १ दशमलव ३२ प्रतिशतले घटाएका हुन् । 

निक्षेपमध्ये साधारण बचतमा १ दशमलव ४६ प्रतिशतसम्म र मुद्दती बचतमा १ दशमलव २८ प्रतिशतसम्म घटेको हो । साधारण बचतमा बैंकहरूले ४ दशमलव ७८ प्रतिशतसम्म दिइरहेकामा ३ दशमलव ३२ प्रतिशतमा सीमित गरेका हुन् । मुद्दती खातामा भने ९ दशमलव ७४ प्रतिशतसम्म प्रस्ताव गरिरहेकामा ८ दशमलव ४६ प्रतिशतसम्म दिन थालेका हुन् । 
राष्ट्र बैंकले ४ मंसिरमा २१ अर्ब ८० करोड खिचेसँगै बजारमा १ खर्ब ६४ अर्ब तरलता बाँकी छ ।

अब ५० अर्ब उठाएपछि बैंकहरूमा करिब १ खर्ब अधिक तरलता रहनेछ ।  यसअघि ४ मंसिरमा ३० अर्ब उठाउने प्रयास गर्दा बैंकहरूले २३ अर्ब ५० करोड रुपैयाँका लागि आवेदन दिएका थिए । यसमध्ये २१ अर्ब ८० करोड रुपैयाँबराबरको आवेदन स्वीकृत भएको थियो । बैंक तथा वित्तीय संस्थाहरूले अधिक तरलता भए पनि अधिकतम शून्य दशमलव ९९ प्रतिशतसम्म ब्याजमा समेत २१ अर्ब ८० करोड रुपैयाँ राखेका हुन् । 

अल्पकालीन यो उपकरणमा भने बैंकहरूले कम ब्याजदरमै भए पनि पैसा राख्न चाहेको देखिन्छ । सोअघि ८ असोजमा ३० अर्ब उठाउन खोज्दा भने बैंकहरूले ८२ अर्ब ७० करोड रुपैयाँसम्म राख्न खोजेका थिए । सो समय अधिकतम शून्य दशमलव ७० प्रतिशतसम्म ब्याजदरमा ३० अर्ब रुपैयाँसम्म राखेका थिए । 

यसअघि पनि राष्ट्र बैंकले चालू आवमा तीनपटकसम्म एक साता अवधिको रिभर्स रिपो जारी गरेर ६० अर्ब रुपैयाँसम्म बजारबाट खिचेको थियो । बैंकहरू गत साउनदेखि उच्च अधिक तरलतामा रहेका छन् । कोभिड–१९ को प्रभावस्वरूप कर्जा लगानी कम भएपछि बैंकहरूको पुँजी लगानीविहीन रहने अवस्था आएको हो ।