मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर १७ बुधबार ०६:२९:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जुम्लामा नाम मात्रका अस्थायी कोभिड अस्पताल

न विशेषज्ञ चिकित्सक छन्, न टेक्निसियन, न ल्याब

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १७ बुधबार ०६:२९:००

संघीय सरकारले देशभरका स्थानीय तहलाई अस्थायी कोभिड अस्पताल निर्माण गर्न बजेट उपलब्ध गराएपछि त्यस्ता अस्पताल बनेका छन् । तर, जुम्लामा स्थापना भएका कोभिड अस्पताल उपकरण र डाक्टरविनै सञ्चालनमा आएका छन् । 

हरेक स्थानीय तहले कोभिड अस्पताल निर्माण गरी एक एमबिबिएस डाक्टर, एक ल्याब टेक्निसियन, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी करारमा नियुक्त गरी सेवा सुरु गर्न सक्छन् । तर, जुम्लामा यी कुनै सुविधा छैनन् । जुम्लाका सात स्थानीय तहले अस्थायी कोभिड अस्पताल निर्माण गरिसकेका छन् । 

चिकित्सकका लागि दुई–दुईपटकसम्म सूचना आह्वान गरे पनि चिकित्सक पाउन सकेका छैनन् । विशेषज्ञ डाक्टर नआउँदा कोभिड अस्पतालका लागि चाहिने आवश्यक उपकरण पनि व्यवस्थापन नभएको स्थानीय तहले जनाएका छन् । 
तिलामा छैनन् विशेषज्ञ चिकित्सक
तिला गाउँपालिका स्वास्थ्य संयोजक गणेशबहादुर शाहीले कोभिड अस्पताल बनेपछि सञ्चालनको तयारी भए पनि विशेषज्ञ डाक्टर नपाएपछि समस्या देखिएको सुनाए । एमबिबिएस चिकित्सक नपाउँदा आवश्यक उपकरण पनि ल्याउन नसकिएको उनले जानकारी दिए । ‘अक्सिजन, न्युलाइट, अक्सिजन मिटर, अक्सिजन सिलिन्डर, आइसियू तथा भेन्टिलेटरजस्ता उपकरण विशेषज्ञ डाक्टरविना अरूले चलाउन नसक्ने हुँदा हालसम्म खरिद गरेका छैनौँ,’ स्वास्थ्य संयोजक शाहीले भने ।

सरकारी मापदण्डअनुसार तलब–भत्ता दिइने भने पनि दुर्गमका कोभिड अस्पतालमा चिकित्सक नआउँदा जटिल खालका बिरामीलाई समस्या देखिए उपचार मुस्किल हुने गरेको उनले बताए । विकल्पका रूपमा कर्णाली स्वास्थ्य विज्ञानका चिकित्सक बोलाउने तयारी भइरहेको उनले जानकारी दिए । 

दुईपटक सूचना गर्दा पनि आएनन् विशेषज्ञ
तातोपानी गाउँपालिकाले गत ३ कात्तिकदेखि अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले दुई–दुईपटकसम्म सूचना निकाल्दा पनि एमबिबिएस डाक्टर पाउन सकेको छैन । तातोपानीका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईं विशेषज्ञ डाक्टर नभए पनि दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी राखेर कोभिड अस्पताल सञ्चालन गरिएको बताउँछन् ।

उनले भने, ‘भेन्टिलेटर ल्याउनेबारे प्रदेशसँग समन्वय भइरहेको छ । तर, विज्ञ डाक्टर नआएसम्म उपकरण ल्याउनुको अर्थ छैन । जुम्लाका सबै कोभिड अस्पतालमा डाक्टर नआउँदा समस्या भएको छ ।’ अस्पतालमा सामान्य उपकरण भए पनि अत्यावश्यक पर्ने ठूला उपकरण दक्ष जनशक्तिविनै ल्याएर सञ्चालन गर्न नसक्ने अवस्था रहेको चौलागाईं बताउँछन् ।

सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले कोभिड अस्पताल स्थापना गरे पनि डाक्टर नपाउँदा सञ्चालनमा समस्या रहेको बताए । ‘दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टर आउनै मान्दैनन् । कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले कोभिड अस्पतालमा सरकारले नै डाक्टर पठाइदिने व्यवस्था गर्नुपर्छ,’ रावलले भने ।

गुठीचौर गाउँपालिकाको उस्तै समस्या
गुठीचौर गाउँपालिकाले पनि दुईपटक विज्ञापन आह्वान गर्दासमेत डाक्टर नपाएपछि कोभिड अस्पताल सञ्चालनमा अन्योल भएको छ । गाउँपालिका अध्यक्ष हरिबहादुर कँुवरका अनुसार स्टाफ नर्स, कार्यालय सहयोगीको पदपूर्ति भए पनि विशेषज्ञ डाक्टर नपाउँदा समस्या छ । ‘कोभिड अस्पतालका लागि घर भाडामा लिइसकेका छौँ । डाक्टर नपाइएपछि जटिल समस्या आइपरे प्रतिष्ठानलाई गुहार्नुको विकल्प छैन,’ भण्डारीले भने ।

संघीय सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अनिवार्य अस्थायी कोभिड अस्पताल निर्माण गर्न सबै स्थानीय तहमा १० लाखका दरले बजेट पठाएको थियो । जुम्लाको चन्दननाथ नगरपालिकाबाहेक सात स्थानीय तहलाई १० लाखका दरले ७० लाख बजेट दिइएको हो । कर्णाली प्रतिष्ठान नगरपालिकाभित्र परेकाले यहाँ कोभिड अस्पताल  बनाइएको छैन ।