मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
असंलग्न राष्ट्रहरूको सम्मेलनको उद्घाटन सत्रमा भर्चुअल माध्यमबाट भाग लिन २२ वैशाखमा सिंहदरबार गएका प्रधानमन्त्री ओली त्यसयता बालुवाटारबाटै देश चलाइरहेका छन् ।
नवराज मैनाली काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार ०२:५३:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुरक्षा जोखिम भन्दै आफ्नै पार्टी कार्यालय गएनन् ओली, आठ महिनायता सिंहदरबार पनि गएका छैनन् प्रधानमन्त्री

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार ०२:५३:००

कार्यसूचीअनुसार काम भइरहेको भए यतिवेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एकदमै व्यस्त हुनुपर्ने हो । आर्थिक वर्षको पहिलो चौमासिकपछि हरेक मन्त्रालयको समीक्षा गरेर चालू कार्यक्रमलाई गति दिने मंसिरमै हो । तर, यस्तो वेला प्रधानमन्त्री कार्यालय भने सुनसानजस्तै छ । प्रधानमन्त्री केपी ओली कार्यालय नै नआउँदा दीर्घकालीन महत्व राख्ने कामहरूसमेत प्रभावित भइरहेका छन् । 

प्रधानमन्त्री ओली सिंहदरबारस्थित कार्यालय जान छाडेर बालुवाटारबाटै सरकार चलाउन थालेको करिब आठ महिना भइसकेको छ । गत २२ वैशाखमा असंलग्न राष्ट्रहरूको सम्मेलनलाई उनले कार्यालयको एक्सन रुमबाटै सम्बोधन गरेका थिए । त्यसपछि उनी कार्यालय आएको थाहा नभएको कर्मचारीहरू बताउँछन् । 

प्रधानमन्त्रीले निवासबाटै सरकार चलाउँदा राज्य संयन्त्र नै सुस्त बनेको सिंहदरबारका उच्चपदस्थ कर्मचारीहरू बताउँछन् । सम्पूर्ण मन्त्रालयहरूलाई नियमित रूपमा निगरानी र निर्देशन दिने प्रधानमन्त्री कार्यालय नै सुस्त भएपछि अन्य मन्त्रालयमा समेत त्यसको असर परेको छ । ‘कार्यकारी प्रमुख नै कार्यालय नगएपछि त्यसबाट प्रधानमन्त्री कार्यालय त सुस्त हुने नै भयो, त्यसको असर अरू मन्त्रालय र तल्लो तहसम्म पुगेको छ,’ प्रधानमन्त्री कार्यालयका एक सहसचिवले भने ।

मन्त्रिपरिषद्का बैठकदेखि सामान्य प्रशासनिक निर्णयहरू पनि बालुवाटारबाटै हुने गरेका छन् । नियमित रूपमा ब्रिफिङ लिने र निर्देशन दिने प्रधानमन्त्रीको काम नै लामो समयदेखि अवरुद्धजस्तै छ । प्रधानमन्त्रीले समय नदिँदा यो वर्ष मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौतासमेत हुन सकेन । सातै प्रदेशका मुख्यमन्त्रीहरू रहेको अन्तरप्रदेश समन्वय परिषद्को बैठकसमेत बस्न सकेको छैन । राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न बनाइएको एक्सन रुममा प्रायः ताला झुन्ड्याइएको हुन्छ । 

दुई वर्षअघि प्रधानमन्त्री कार्यालयमा पुगेका प्रहरी ऐनलगायत महत्वपूर्ण ऐनका मस्यौदा अलपत्र परेका छन् । सुशासनसम्बन्धी कतिपय प्रतिवेदनहरू पनि अघि बढ्न नसकेको स्रोत बताउँछ । नियमित रूपमा बैठक बस्ने पद्धति नहुँदा प्रधानमन्त्री कार्यालयकै कतिपय सचिवहरूले महिनौँसम्म प्रधानमन्त्रीलाई भेट्नै नपाएको अवस्था रहेको स्रोत बताउँछ । 

पूर्वमुख्यसचिव डा. विमल कोइरालाले प्रधानमन्त्री कार्यालय नै नजाने प्रवृत्तिले शासन प्रक्रियामै प्रतिकूल असर पर्ने बताए । ‘प्रधानमन्त्री नियमित कार्यालय नजाँदा राज्य सञ्चालनमा ठूलो असर पर्छ । कार्यकारी प्रमुख नै कार्यालय नगएपछि अनुशासनहीनता बढ्छ । प्रधानमन्त्री नै नआएपछि मन्त्रीहरूमा पनि किन हामी जानुप¥यो भन्ने भावना आउँछ,’ उनले भने, ‘राज्य सञ्चालनमा जुन किसिमको संवाद र सञ्चार हुनुपर्ने हो, त्यो हुन सक्दैन । यसले निर्णय प्रक्रियामा सुस्तता आउँछ । समग्रमा यस्तो प्रवृत्तिले शासन प्रक्रियामै प्रतिकूल असर पार्दछ ।’

हुन पनि सुशासन कायम गर्न प्रधानमन्त्रीको सबैभन्दा बलियो संयन्त्र राष्ट्रिय सतर्कता केन्द्र नै अहिले सबैभन्दा कमजोर बनेको छ । केन्द्र दुई महिनादेखि सचिवविहीन छ । विगतमा नियमित अनुगमन गर्ने यो कार्यालयको अहिले कुनै गतिविधि नै छैन । प्रधानमन्त्री ओलीले नै चासो नदिँदा केन्द्र कमजोर बन्दै गएको कर्मचारीहरूको गुनासो छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मिर्गाैला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली सिंहदरबारस्थित कार्यालय कम जान थालेको बताए । सिंहदरबारमा सामाजिक दूरी कायम गर्न कठिनाइ हुने भएकाले बालुवाटारबाटै काम गर्दै आएको उनको भनाइ छ । ‘जरुरी पर्दा अहिले पनि सिंहदरबार जाने गर्नुभएको छ,’ थापाले भने, ‘सामान्यतया बालुवाटारकै ठूलो हलबाट प्रधानमन्त्रीले काम गर्दै आउनुभएको छ ।’ प्रधानमन्त्री पछिल्लोपटक सिंहदरबार गएको मिति भने बुझेर मात्र आफूले भन्न सक्ने उनको भनाइ छ । 

पछिल्लो समय उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिइएको छ । तर, प्रस्ट रूपमा अधिकार प्रत्यायोजन नभएकाले धेरैजसो काम प्रधानमन्त्रीमै गएर ठोकिन्छन् । 

प्रधानमन्त्री कार्यालयका प्रवक्ता शंकर नेपालले भने कार्यालयका काम नियमित रूपमै भइरहेको दाबी गरे । नयाँ योजना बनाउनेदेखि समीक्षाका काम सुरु हुन लागेको उनको भनाइ छ । 

२१ फागुनमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि २ चैतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड– १९ नियन्त्रणका लागि सार्क राष्ट्रका प्रमुखहरूसँग गरेको भर्चुअल छलफलमा भाग लिन प्रधानमन्त्री ओली सिंहदरबार पुगेका थिए । त्यस्तै, २९ चैतमा उनले मुख्यमन्त्रीहरूसँग कोरोना रोकथामका विषयमा पनि कार्यालयको एक्सन रुमबाटै छलफल गरेका थिए । 

प्रधानमन्त्री भेट्न मुख्यसचिवले नै घन्टौँ कुर्नुपर्छ 

विभिन्न कामका सिलसिलामा मुख्यसचिवले दिनमै पटक–पटक भेट्नुपर्ने हुन्छ । तर, प्रधानमन्त्री ओली कार्यालय आउन छाडेपछि उनलाई दिनमा एकपटक भेट्न पनि मुख्यसचिव शंकरदास बैरागीले घन्टौँ कुर्नुपर्छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली बालुवाटारमा राजनीतिक भेटघाटमा बढी व्यस्त हुने भएकाले मुख्यसचिव बैरागी दैनिकजसो बालुवाटार गएर घन्टौँ कुर्ने गर्छन् । ‘फाइल बोकेर बालुवाटार धाउँदैमा मुख्यसचिवज्यूको दिन बित्ने गरेको छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘यसबाट पनि प्रधानमन्त्री कार्यालय कसरी चलेको छ भन्ने थाहा हुन्छ ।’ 

बालुवाटार ओहोरदोहोरमै मुख्यसचिव बैरागीको धेरै समय बित्ने गर्छ । जसका कारण मुख्यसचिवका अन्य कामसमेत प्रभावित हुने गरेका छन् । मुख्यसचिव भएको दुई महिना बित्दा पनि उनले सचिवहरूको बैठकसमेत राख्न सकेका छैनन् । 

सतर्कता केन्द्र सचिवविहीन

सुशासन कायम गर्न प्रधानमन्त्रीको सबैभन्दा बलियो संयन्त्र राष्ट्रिय सतर्कता केन्द्र हो, जुन यतिवेला सबैभन्दा कमजोर बनेको छ । केन्द्र दुई महिनादेखि सचिवविहीन छ । विगतमा नियमित अनुगमन गर्ने यो कार्यालयको अहिले कुनै गतिविधि नै छैन । प्रधानमन्त्री ओलीले नै चासो नदिँदा केन्द्र कमजोर बन्दै गएको कर्मचारीहरूको गुनासो छ । 

केन्द्र दुई महिनादेखि सचिवविहीन छ । सचिव नहुँदा सहसचिवले उजुरी छानबिन गर्ने र निर्देशन दिने आँट गर्दैनन् । अर्काेतर्फ अनुगमन तथा छानबिनका लागि बजेटसमेत कटौती भएका स्रोत बताउँछ । ‘बजेट नै नभएपछि कार्यालयका गतिविधि त्यसै सुस्ताएका छन्,’ केन्द्रका एक कर्मचारीले भने । 

......

यो प्रवृत्तिले शासन प्रक्रियामै ठूलो असर पर्छ : डा. विमल कोइराला, पूर्वमुख्यसचिव 

प्रधानमन्त्री नियमित कार्यालय नजाँदा राज्य सञ्चालनमा ठूलो असर पर्छ । कार्यकारी प्रमुख नै कार्यालय नगएपछि अनुशासनहीनता बढ्छ । प्रधानमन्त्री नै नआएपछि मन्त्रीहरूमा पनि किन हामी जानुप¥यो भन्ने भावना आउँछ । राज्य सञ्चालनमा जुन किसिमको संवाद र सञ्चार हुनुपर्ने हो, त्यो हुन सक्दैन । यसले निर्णय प्रक्रियामा सुस्तता आउँछ । समग्रमा यस्तो प्रवृत्तिले शासन प्रक्रियामै प्रतिकूल असर पार्दछ । 

समन्वय, नीति निर्माणजस्ता विषय प्रधानमन्त्रीको जिम्मामा हुन्छन् । प्रधानमन्त्री नै कार्यालय नगएपछि यस्ता काममा अरूलाई चासो हुँदैन । मन्त्रीहरूको पनि सक्रियता घट्छ । प्रधानमन्त्रीलाई नै भेट्न गाह्रो भएपछि स्वाभाविक रूपमा सुस्तता आउने नै भयो, कर्मचारीको अनुशासनमा पनि कमी आउन सक्छ । त्यसको असर तल्लो तहसम्म पर्छ ।

......

काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंह भन्छन्, ‘धुम्बाराही मात्रै होइन, सिंगो काठमाडौं सुरक्षित छ’ 

सत्तारुढ नेकपाले मंगलबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाएको बैठक अन्तिम समयमा ‘सुरक्षा थ्रेट’ भन्दै प्रधानमन्त्रीनिवास बालुवाटार सारियो । तर, काठमाडौं प्रहरीले भने धुम्बाराही मात्रै होइन, सिंगो काठमाडौं पूर्ण सुरक्षित रहेको जनाएको छ । ‘सुरक्षाको कारण देखाएर नेकपाको सचिवालय बैठक धुम्बाराहीमा नबसेको भन्ने कुरा के हो ठ्याक्कै मलाई थाहा भएन । तर, नेकपाको पार्टी कार्यालयमा कुनै सुरक्षा जोखिम छैन,’ काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले भने, ‘सुरक्षा दिन हामी सक्षम छौँ । धुम्बाराही मात्र होइन, सिंगो काठमाडौं सुरक्षित छ ।’

मंगलबार बिहानै महासचिव विष्णु पौडेलले धुम्बाराहीमा तय भएको बैठक बालुवाटारमा बस्ने सूचना सचिवालयका नेताहरूलाई दिएका थिए । तर, अध्यक्ष प्रचण्डले पूर्वनिर्धारित कार्यक्रमअनुसार बैठक पार्टी कार्यालयमै बस्ने अडान लिए । त्यसको केहीबेरमा पौडेलले ‘सुरक्षा थ्रेट’का कारण बैठक बालुवाटारमै बस्ने जानकारी गराएका थिए । गृह मन्त्रालयको सिफारिस त्यस्तै रहेको उनको भनाइ थियो । शनिबार बसेको सचिवालयले मंगलबारको बैठक धुम्बाराहीमा गर्ने निर्णय गरेको थियो ।

सुरक्षा निकायले भने पार्टी कार्यालयमा बैठक नबस्नुका पछाडि दुई कारण हुन सक्ने अनुमान गरेको छ । पहिलो, स्वास्थ्य मापदण्ड पालनामा कठिनाइ हुने भएकाले । दोस्रो, खुला ठाउँ भएका कारण कार्यकर्ताबाट नाराबाजी हुन सक्ने भएकाले पनि प्रधानमन्त्री बालुवाटारबाट बाहिर निस्कन नचाहेका हुन् ।