१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
दीपक अधिकारी काठमाडाैं
२०७७ मङ्सिर १६ मंगलबार १६:०२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

के हो कोभिड सम्निया ?

Read Time : > 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
२०७७ मङ्सिर १६ मंगलबार १६:०२:००

कोभिड संक्रमणबाट जुनसुकै व्यक्ति पनि प्रभावित हुन सक्छन् । तर, व्यक्तिको स्वास्थ्य अवस्थाका आधारमा भाइरस संक्रमणको जोखिम फरक हुने गर्छ । सामान्यतया अन्य शारीरिक तथा मानसिक समस्या भएका व्यक्तिमा कोभिडको प्रभाव सामान्यभन्दा फरक रहेको छ । संक्रमण मात्र नभई महामारीले जीवनशैलीमा नै परिवर्तन ल्याइदिएको छ । विज्ञहरूका अनुसार जीवनशैलीमा एक्कासि आएको परिवर्तनले मनोवैज्ञानिक, भावनात्मक र शारीरिक रूपमा प्रभाव पारिरहेको छ । जसमध्ये अधिकांशमा निद्रा हराउने मुख्य हो । हुन त कोभिड महामारीयता हरेक व्यक्तिले कुनै न कुनै निद्रासम्बन्धी समस्या भोगिरहेका छन् । 

अनिद्रा 
स्वस्थ जीवनशैलीका लागि पर्याप्त निद्रा पौष्टिक आहारजत्तिकै आवश्यक हुन्छ । अस्वस्थ व्यवहार, पोषणको कमी र व्यायामको कमी हँुदा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । शारीरिक र मानसिक रूपमा स्वस्थ रहन कम्तीमा ६ घन्टा सुत्न आवश्यक हुन्छ । निद्रा अभावले मोटोपन, कमजोर प्रतिरक्षा, थकान, न्युरोलोजिकल डिसअर्डर, छालामा समस्या, मुटुरोग, स्मरण शक्तिमा असर आदि जोखिम बढ्छ । लकडाउनको समयमा भन्दा बिस्तारै तनाव हँुदै गए पनि अनिद्राको समस्या भने मुख्य समस्या बनेको विभिन्न अध्ययनले देखाउँछन् । कतिपय कार्यालयको काम घरबाटै गर्ने हुँदा कार्यालय जानुपर्ने समय, ट्राफिक ढिलाइ, बिहान चाँडै उठ्नुपर्ने वा कामबाट फर्किन ढिलो हुनेजस्ता समस्या झेल्नु परिरहेको छैन । जसले गर्दा समय बढी हुने हँुदा स्वस्थ निद्रामा ध्यान दिन विज्ञहरूले सुझाब दिएका छन् । 

कोभिड सम्निया 
महामारीले निम्त्याएको तनावका कारण निद्रामा आएको समस्याले कोभिड सम्निया निम्त्याएको छ । विभिन्न अध्ययनहरूले संक्रमणको डर, तनाव, काममा फर्किन नसक्नु, सामाजिक सम्पर्कबाट टाढा हुनुलाई कोभिड सम्नियाको कारण मानेका छन् । कोभिड सम्निया महामारीले निम्त्याएको तनाव र एन्जाइटीसँग सम्बन्धित छ, जुन विभिन्न मानसिक समस्याको कारण बन्न सक्छ । तनावका कारण निद्रामा गडबडी र मानसिक स्वास्थ्यमा पनि असर गरिरहेको हुन्छ ।

सामान्यतया दिउँसोको काममा अल्झिने हँुदा तनाव महसुस कम हुन्छ, तर रातको समयमा दिमागमा आउने विचार नियन्त्रणमा ल्याउन सकिँदैन, जसका कारण निद्रामा समस्या देखिन्छ । निद्राको गडबडीले मुड र ध्यानमा प्रत्यक्ष प्रभाव पार्ने हँुदा प्रतिरक्षा प्रणाली कमजोर हँुदै जान्छ । जसले बिस्तारै संक्रमणको जोखिम बढाउँछ । नियमित रूपमा देखिने असामान्य खालका सपनाले व्यक्तिको निद्राको गडबडी प्रस्ट पार्छ, जसले मनोविज्ञान र मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । 

कसरी व्यवस्थापन गर्ने कोभिड सम्निया ?
व्यक्तिको व्यवहारमा निद्रा निर्भर गर्छ । निद्राको गडबडीले दैनिकीमा प्रभाव पार्ने हुँदा यसको व्यवस्थापन समयमै गर्नुपर्छ । कोभिड सम्निया भएका व्यक्तिहरूले निद्रा व्यवस्थापनमा अझ विशेष ध्यान दिन आवश्यक हुन्छ । सुत्ने समयमा मोबाइल, ल्यापटप वा टिभीजस्ता सामान प्रयोग गर्नुहँुदैन । सुत्ने समय–तालिका बनाउनुपर्छ, सम्भव भएमा तातो पानीले नुहाउने, पुस्तक पढ्नेजस्ता व्यवहारको विकास गर्न सकिन्छ । स्वस्थ निद्राका लागि कम्तीमा एक सातासम्म सुत्ने समय एकनाश गर्नै पर्छ । 

कोठाको प्रकाश र तापक्रम व्यवस्थित गर्नुपर्छ । प्रत्येक दिन सुत्ने र उठ्ने समय एउटै हुन आवश्यक छ । सुत्नुभन्दा अगाडि क्याफिन र अल्कोहलयुक्त खानेकुरा प्रयोग गर्नुहुँदैन । साथै नियमित शारीरिक व्यायाम गर्नुपर्छ । निद्राको समस्यालाई बेवास्ता गर्दा शारीरिक तथा मानसिक समस्याको जोखिम बढ्ने हँुदा अनिद्राको समस्या समयमै समाधान गर्नुपर्छ । 
–एजेन्सीको सहयोगमा