Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
इरिको कोबायाशी
एजेन्सी
२०७७ मङ्सिर १६ मंगलबार १३:१९:००
Read Time : > 4 मिनेट
फिचर

जापानमा कोरोनाबाट एक वर्षमा मर्नेभन्दा आत्महत्याबाट एक महिनामा मर्ने बढी

Read Time : > 4 मिनेट
एजेन्सी
२०७७ मङ्सिर १६ मंगलबार १३:१९:००

इरिको कोबायाशीले चारपटक आफैँलाई मार्ने प्रयास गरेकी छिन् । पहिलोपटक उनले आफू मात्रै २२ वर्षको हुँदा आत्महत्याको प्रयास गरेकी थिइन् । त्यसवेला उनी एउटा प्रकाशन गृहमा कार्यरत थिइन् । एसियाकै महँगोमध्येको टोकियो सहरमा उनका लागि त्यो जागिरबाट आएको पैसाले घरभाडा तिर्न र तरकारी किन्नसम्म पुग्दैनथ्यो ।

आत्महत्या गर्ने प्रयास गर्दा अचेत भएर तीन दिन अस्पतालमा बिताएकी उनी भन्छिन्, ‘म साँच्चै निकै गरिब भएकी थिएँ ।’ अहिले ४३ वर्ष पुगेकी उनमा धेरै परिवर्तन आएको छ । उनले अहिले त मानिसले भोग्नुपरेको मानसिक स्वास्थ्यसम्बन्धी किताब पनि लेखेकी छिन् । एउटा एनजिओमा जागिर खाँदै छिन् ।

तर, चिन्ताको विषय कोरोना भाइरस (कोभिड– १९) महामारी सुरु भएपछि उनमा फेरि पहिलेको जस्तै समस्या देखिन थालेको छ । ‘मेरो तलब कटौती भएको छ । यो अवस्था तत्काल अन्त्य हुने लक्षण पनि देखेकी छैन,’ उनी भन्छिन्, ‘म अहिले एक किसिमको संकटको अनुभव गरिरहेकी छु । फेरि गरिब हुन्छु भन्ने त्रास थपिएको छ ।’

विज्ञहरूले कोरोना महामारीले मानिसमा अझ बढी मानसिक संकट निम्त्याउन सक्ने चेतावनी दिइरहेका छन् । ठूलो संख्यामा बेरोजगारी, सामाजिक दूरी, चिन्ताजस्ता कारणले गर्दा यो संख्या पछिल्लो छोटो समयमै निकै ठूलो अन्तरले अघि बढ्दै छ ।

जापान सरकारको तथ्यांकअनुसार कोरोना भाइरस महामारीले यो वर्षभरिमा मृत्यु भएकोभन्दा पनि बढी जापानीले गत अक्टोबर महिनामा मात्रै आत्महत्याबाट ज्यान गुमाएका छन् । जापानको नेसनल पोलिस एजेन्सीका अनुसार अक्टोबर महिनामा आत्महत्या गर्नेको संख्या दुई हजार एक सय ५३ छ । जापानको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार शुक्रबारसम्ममा कोरोना भाइरसले मृत्यु हुनेको संख्या दुई हजार ८७ मात्रै थियो । जापान विश्वकै ठूला अर्थतन्त्रमध्येको एक हो, जसले यो संकटको समयमा आत्महत्या गर्नेहरूको संख्या चाँडै सार्वजनिक गरेको छ । 

जापानको यो कामले अरू देशलाई पनि जारी मानवीय संकटमा मानिसको मानसिक स्वास्थ्यका लागि अपनाइएका उपायहरू कति प्रभावकारी देखिए र यो संकटमा कुन समूह बढी जोखिममा रहेछ भनेर हेर्न सहज हुने अपेक्षा छ । ‘हामीसँग अहिले लकडाउन पनि छैन । अरू देशसँग तुलना गर्ने हो भने यो संकटको असर पनि निकै कम छ । तैपनि आत्महत्या गर्नेको संख्या निकै ठूलो छ,’ टोकियो विश्वविद्यालयका एसोसिएट प्राध्यापक मिचिको वेडा भन्छन्, ‘यसले भविष्यमा अरू देशमा पनि यस्तो प्रकृतिको वा योभन्दा पनि ठूलो समस्या देखिन सक्ने संकेत गरेको छ ।’

महिलामा बढ्दो समस्या 
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार आत्महत्या गर्नेको संख्या विश्वमै जापानमा उच्च छ । जापानले यसको न्यूनीकरणका लागि ठूलो संघर्ष गर्दै आइरहेको छ । सन् २०१६ मा जापानमा आत्महत्या मृत्युदर प्रति एक लाखमा १८.५ प्रतिशत थियो । 

जापानको यो समस्या समाधान निकै मुस्किल छ । लामो समय काम गर्नुपर्ने बाध्यता, विद्यालयको तनाव, सामाजिक दूरी र सांस्कृतिक बाध्यताहरूले निम्त्याउने मानसिक समस्यालाई आत्महत्यासम्म पु¥याउने मुख्य कारण बताइएको छ । सन् २०१९ देखि अघिका १० वर्षमा भने जापानमा यो संख्यामा केही कमी आएको देखिएको थियो । यस अवधिमा जापानको स्वास्थ्य मन्त्रालयका अनुसार यो संख्या २० हजार थियो । सन् १९७८ मा जापानले पहिलोपटक आत्महत्या गर्नेहरूको अध्ययन र तथ्यांक राख्न थालेदेखि यताकै कम संख्या थियो ।

यद्यपि, कोरोना भाइरस महामारीले त्यो क्रमलाई फेरि उल्टाइदिने संकेत गरेको छ । कोरोना भाइरस महामारी सुरु भएपछि फेरि आत्महत्या गर्नेहरूको संख्या बढ्न थालेको छ र यसको ठूलो प्रभाव महिलामा देखिएको छ ।

चिन्ताको विषय महिलाले आत्महत्या गर्ने क्रम बढ्दो अवस्थामा देखिएको छ । गत अक्टोबर महिनामा मात्रै जापानमा आत्महत्या गर्ने महिलाको संख्या गत वर्षको यही अवधिको तुलनामा झन्डै ८३ प्रतिशतले वृद्धि भएको छ । त्यसको तुलनामा आत्महत्या गर्ने पुरुषको संख्या २२ प्रतिशतले मात्रै बढेको छ ।

यसका धेरै सम्भावित कारण छन् । जापानमा धेरै महिलाले होटेल, फास्टफुट र अरू क्षेत्रमा ‘पार्टटाइम’ काम गर्छन् । कोरोना महामारी सुरु भएपछि यस्ता धेरैको जागिर गएको छ । जागिरबाट निकालिनेमा यस्तै ‘पार्टटाइमर’हरू पहिलो प्राथमितामा परे । ‘जापानले महिलालाई बेवास्ता गरिरहेको छ,’ उनी भन्छिन्, ‘यो त्यस्तो समाज हो जहाँ कुनै खराब चिज भयो भने कमजोरलाई पहिले फालिन्छ ।’

सहायतासम्बन्धी गैरनाफामुखी अन्तर्राष्ट्रिय संस्था केयरले १० हजार मानिसमाथि अध्ययन गरेको छ । अध्ययनमा सहभागी महिलामध्ये २७ प्रतिशतले कोरोना संकटमा मानसिक स्वास्थ्यमाथि बढ्दो चुनौतीको महसुस गरेको बताएका थिए । यो समस्या महसुस गर्नुको पछाडि महिलाको आयस्रोतसँग जोडिएको छ । आयस्रोत घटेको अवस्थामा पनि उनीहरूले अरू त्यस्ता धेरै जिम्मेवारी निर्वाह गर्नुपरेको छ । 

जागिर खाइरहेका महिलाका लागि पनि अवस्था सहज छैन । महामारी सुरु भएपछि विद्यालयले छोरोछोरीलाई घर फर्काइदिएका छन् । हेरचाह केन्द्रबाट पनि घर फर्किएका छन् । जागिर खाइरहेका महिलालाई कार्यालयको काम पूरा गरेर नानीबाबुहरूको हेरचाह र घरको काम भ्याउनुपर्ने हुन्छ ।

आफ्नो नानीबाबुहरूको स्वास्थ्य र सुविधाको चिन्ताले पनि कोरोना संकटको अवधिमा आमाहरूमाथि थप समस्या थपिदिएको अध्ययनले जनाएको छ । 
नाम सार्वजनिक गर्न नचाहेकी ३५ वर्षीया एक महिलाले यस्तै समस्याबाट पार पाउन विज्ञको सहायता लिएको बताएकी छिन् । ‘मेरो छोरालाई ६ साता अस्पतालमा राख्नुपरेको थियो । म साँच्चै निकै चिन्तित भएकी थिएँ,’ उनी भन्छिन्, ‘पहिले ममा मानसिक समस्या भएको कुनै इतिहास नै थिएन । तर, अहिले म आफैँलाई जतिखेर पनि धेरै चिन्तित भइरहेको पाउँछु ।’

कोरोनाको समस्या बढ्दै जाँदा उनको यो चिन्ता पनि बढ्दै गयो । उनलाई छोरामा कोरोना संक्रमण भइहाल्ला कि भन्ने चिन्ता पनि थियो । ‘मलाई लाग्यो कि अब आशा छैन । म सधैँ नकारात्मक र गम्भीर खालको कुराहरू मात्रै हुन्छ भन्ने सोच्थेँ’, उनी भन्छिन् ।

‘तपाईंका लागि ठाउँ’


गत मार्चमा २१ वर्षीया विद्यार्थी कोकी ओजोराले २४ घन्टा चल्ने मानसिक स्वास्थ्यबारे हटलाइन सुरु गरे । यसलाई उनले ‘अनटा नो इबासो’ भनेका छन्, जसको अर्थ हुन्छ तपाईंका लागि ठाउँ । उनका अनुसार हटलाइनमा दैनिक औसतमा दुई सय कल आउने गरेको छ र त्यसमा धेरै संख्या महिलाको छ । 
‘उनीहरूले आफ्नो जागिर गुमाए । उनीहरूसँग पैसा छैन । तैपनि उनीहरूलाई आफ्नो नानीबाबु हुर्काउनु छ,’ उनी भन्छन्, ‘त्यसैले उनीहरूले आत्महत्याको बाटो रोजे ।’ धेरैजसो फोन रातको १० देखि बिहानको चार बजेसम्म आउँथे । 

 

हटलाइनमा विश्वका विभिन्न ठाउँबाट ६ सय स्वयंसेवी सहभागी छन्, जसले विभिन्न समय अवधिमा सहयोगसहित फोन गर्नेहरूसँग परामर्श गरी सहयोग गर्छन् । तर, सञ्चालक ओजोराका अनुसार सहयोगको अपेक्षासहित फोन गर्ने सबैलाई जवाफ दिने पर्याप्त स्वयंसेवी अभाव देखिएको छ । 

उनीहरूले ‘म्यासेज’ हेरेर आपतकालीन खालका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर सहायता दिने गरेका छन् । उनीहरूले त्यस्तोमा आत्महत्या वा त्यस्तै अरू शब्दसहित आउने म्यासेजलाई तत्काल सहायता दिने गरेका छन् । उनका अनुसार त्यस्तामध्ये ६० प्रतिशत म्यासेजलाई पाँच मिनेटभित्रै सहायता दिइने गरिएको छ । यस क्रममा एक स्वयंसेवीले एकजनालाई ४० मिनेटसम्म सहायता दिने गरेको छ । अनलाइनमार्फत आउने म्यासेजमा मानिसले आफ्ना पूरा पीडा पोखेका हुन्छन् । सेवाका लागि अनलाइन म्यासेजको माध्यम रोज्नेहरूमा युवा बढी छन् ।

उनका अनुसार गत अप्रिलमा धेरै आमाले कोरोना महामारीका कारण आफ्नो जागिर गएको र नानीबाबुहरू हुर्काउन मुस्किल भएको एउटै समस्या राखेका थिए । त्यसमध्ये धेरैले आफ्नै नानीहरू मार्नेसम्मको योजना बनाएकोबारे पनि बताएको ओजोराले उल्लेख गरेका छन् ।

बालबालिकामाथि दबाब
जापान जी– सेभेनअन्तर्गतको यस्तो एउटा मात्रै देश हो जहाँ १५ देखि ३९ वर्षका युवाको आत्महत्या दर नकारात्मक बिन्दुतर्फ उकालो लाग्दै छ । जापानकै स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरस महामारीभन्दा पहिले २० वर्षभन्दा मुनिका युवाको आत्महत्या दर पनि बढ्दो अवस्थामा देखिएको छ ।

कोरोना महामारी सुरु भएपछि जारी विभिन्नखाले नियमका कारण बालबालिका विद्यालय र हेरचाह केन्द्रबाट घर फर्किएको अवस्थामा थप समस्या हुने सम्भावना देखिएको छ । ओजोराका अनुसार बालबालिका गाली, तनावपूर्ण घर बसाइ, गृहकार्य पूरा नगर्नुको दबाबलगायत समस्या झेलिरहेका छन् । उनका अनुसार पाँच वर्षसम्मका विद्यार्थीले पनि हटलाइनमा सहायताका लागि फोन गरेका छन् ।

महामारीका कारण लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थीलाई धेरै गृहकार्य थपिएको छ । यो समयमा उनीहरूले आफ्ना साथीहरूसँग भेट्न पनि पाइरहेका छैनन् । उनीहरूसँग अरू बेलाको भन्दा निकै कम स्वतन्त्रता छ । यसले पनि समस्या बढाइरहेको छ ।