मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर १६ मंगलबार १२:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आफ्नो मुख्य चाडमा रम्दै आठपहरियाहरू

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १६ मंगलबार १२:४६:००

धनकुटा नगरपालिका आसपास क्षेत्रमा मात्र मुख्य बसोवास रहेको आठपहरिया जातिको महान् चाड वाडाङमेट सुरु भएको छ ।

धनकुटा नगरपालिका क्षेत्रमा मुख्य बसोवास रहेका आठपहरिया जातिले मुख्य पर्वको रूपमा वाडाङमेट मनाउने गर्छन् । 

मंसिरे चाडको रूपमा पनि लिइने यो पर्व कात्तिक शुक्ल पूर्णिमादेखि १५ दिनसम्म धुमधामका साथ मनाउने गरिन्छ । 

पुत्रलाभ भएको परिवारमा बराहमाङ र मार्गाहामाङलाई साक्षी राखेर दीर्घायुको कामना गर्दै जन्मोत्सवलाई हर्षबढाइँ गरी मनाउने चलन छ । 

विगत एक वर्षको अवधिमा मृत्यु भएका व्यक्तिको पितृकार्य यो चाडसँगै सक्ने परम्परा छ । जुठो बारेर बसेकाहरूले पितृकार्य सकी दुःख भुलेर हर्सोल्लाषपूर्वक वाडाङमेट मनाउने चलन रहेको छ । 

वाडाङमेट सकिएपछि मृत्यु भएकाको काजकिरिया सक्न अर्को सालको वाडाङमेट पर्खिनुपर्ने चलन छ ।

धनकुटाका आठपहरियाहरूले सुनसरीको बराहक्षेत्रधाम पुगेर पितृकार्य गरी फर्कने गर्छन् ।

पितृकार्यका लागि हिँडेरै जाने र हिँडेरै आउने चलन रहेको किराँत आठपहरिया समाजका जिल्लासचिव सन्देश आठपहरियाले बताए । 

‘मान्छे मरेको घरका परिवार र आफन्त हिँडेर नै बराहक्षेत्र पुग्ने र हिँडेरै फर्किएर आउने चलन छ,’ उनले भने, ‘बराहक्षेत्र जाने क्रममा आहालेमा वास बसेर मुन्धुम गाउने अनि भोलिपल्ट भुल्के हुँदै बराहक्षेत्र पुगी कपाल काटेर चोखिन्छन् ।’

यसपटक पनि गत शुक्रबार बराहक्षेत्रका लागि धनकुटाबाट हिँडेकाहरु चार दिनपछि सोमबार धनकुटा फर्किएका छन् । 
धनकुटामा विगत एक वर्षको अवधिमा ५४ जना आठपहरियाहरूको मृत्यु भएको छ ।

उनीहरूको परिवारका सदस्य तथा आफन्तहरू बराहक्षेत्र पुगी पितृकार्य गरेर फर्किएका छन् । अब हरेक घर–घरमा फूलमाला पहिरिएर केसिङ (ढोल)सहित समूह–समूहमा गोलबद्ध भई १५ दिनसम्म निरन्तर नाचगान गर्दै वाडाङमेट मनाउने गरिन्छ । 

एक वर्षभरि मृत्यु भएका आफन्तहरूको चिरशान्ति र भावी पुस्ताको उन्नतिको कामना गर्दै शुभकामना साटासाट गर्ने गरिन्छ । 

आ–आफ्ना घरमा अन्न र मासुबाट बनाइएका विभिन्न परिकार चिउरीको पातमा राखेर आफन्तलाई प्रसादस्वरूप बाँडेर खाई औँसीमा यो चाड समापन हुन्छ । मंसिरे चाड वाडाङमेटलाई सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा वाडाङमी भनेर मनाउने गरिन्छ । 

वाडाङमेटको अवसरमा धनकुटा नगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक बिदासमेत दिएको छ । धनकुटा नगरपालिका क्षेत्र आठहरियाको उदगम स्थल हो । 

देशभर करिब १० हजारको संख्यामा रहेका आठपहरियाहरूमध्ये धनकुटामा मात्रै झन्डै आठ हजारको बसोवास छ । 

मुख्यगरी धनकुटा नगरपालिकाको वडा नं. २, ७, ८ र ९ मा आठपहरियाहरू बसोवास गर्दै आएका छन् । 

आदिवासी जनजातिमा सूचीकृत हुनबाट वञ्चित अल्पसंख्यक आठपहरियाहरूले वर्षौँ अघिदेखि आदिवासी जनजातिमा सूचीकृतको मागसमेत गर्दै आएको भए पनि सुनुवाइ नभएको किराँत आठपहरिया समाज धनकुटाकी अध्यक्ष सारकुमारी आठपहरियाले गुनासो गरिन् ।